बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा पनि आएन इन्टरनेट सेवा प्रदायकको बोनस प्याकेज

शनिबार, १५ चैत २०७६, १४ : ५८
शनिबार, १५ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै सरकारले घोषणा गरेको लकडाउनपछि यतिबेला इन्टरनेटको माग ह्वात्तै बढेको छ । एकीन तथ्यांक नभए पनि अहिले त्यस्तो माग औसत ५० देखि ६० प्रतिशतसम्म बढेको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् । 

अहिले घरयासी ग्राहकमा निर्भर रहेका सेवा प्रदायकलाई ग्राहकको माग धान्न गाह्रो भइरहेको छ । कर्पोरेट ग्राहक धेरै भएका सेवा प्रदायकहरुको पनि इन्टरनेटको माग बढेको छ तर उनीहरुलाई केही सहज भने छ । 

लकडाउनपछि वर्ल्डलिंक कम्युनिकेसनको मात्रै ३५ प्रतिशत माग बढेको बिक्री प्रबन्धक लक्ष्मण यादव बताउँछन् । घरायसी ग्राहक र कर्पोरेट ग्राहक दुवैको सन्तुलन भएका कारण अहिले वर्ल्डलिंकको इन्टरनेट माग वृद्धिदर अरुको भन्दा सामान्य देखिएको हो । यतिबेला कुनै कम्पनीहरुले सामान्य अवस्थामा भन्दा दोब्बर भन्दा पनि बढी इन्टरनेट माग धान्नुपर्ने अवस्था रहेको सम्बन्धित सेवा प्रदायकहरु बताउँछन् । 

इन्टरनेटको माग बढेसँगै गतिबेला इन्टरनेट सेवा प्रदायकहरुले पनि बोनस प्याकेजहरु ल्याउनुपर्ने माग उठेको छ । टेलिकम, भुक्तानी सेवा प्रदायक र विद्युत  प्राधिकरणले समेत ग्राहकलाई छुट दिइरहेको अवस्थामा इन्टरनेटमा समेत ग्राहकले छुट र बोनसको अफर गरिरहका छन् । 

जति धेरै माग उति धेरै घाटा
तर ग्राहकको अपेक्षाबमोजिम कुनै पनि सेवा प्रदायकले अहिलेसम्म त्यस्तो योजना ल्याएका छैनन् । के टेलिकम कम्पनीलेजस्तो बोनस प्याकेजहरु ल्याउन सम्भव छैन त ? वर्ल्डलिंक कम्युनिकेसनका बजार प्रबन्धक यादव त्यो तत्काल सम्भव नहुने बताउँछन् । उनका अनुसार इन्टरनेट सेवा प्रदायकहरुले निश्चित शुल्क लिएर अनलिमिटेड सेवा दिने व्यवस्था गरेका हुन्छन् । माग बढ्दै जाँदा पनि सेवा प्रदायकहरुको आम्दानी भने बढ्दैन । 

‘हाम्रो दैनिक ३÷४ सय ग्राहक थपिन्थे । अहिले त्यो ठप्प छ । भएका ग्राहकहरुबाट जति नै इन्टरनेट प्रयोग गरे पनि धेरै शुल्क लिन मिल्दैन । त्यसैले हाम्रो आम्दानी बढ्दैन । यसका बाबजुद पनि हामीले अवधि सकिएका ग्राहकका लागि १ हप्तासम्म सेवा नवीकरण गर्ने व्यवस्था गरेका छौं । नवीकरण गर्ने ग्राहकलाई अनलाइनबाट भुक्तानी गर्नसक्ने व्यवस्था पनि छ ।’

इन्टरनेट माग बढेकै कारण अहिले इन्टरनेट स्लो हुने समस्या आउने गरेको ग्राहकहरुको गुनासो छ । तर इन्टरनेट सेवा प्रदायकहरु भने बजारको माग हेरेर इन्टरनेटको क्षमता व्यवस्थापन गर्ने भएकोले एकैपटक ह्वात्तै माग बढेकोले व्यवस्थापन गर्न केही समस्या परेको बताउँछन् । 

अहिले सबै इन्टरनेट सेवा प्रदायकहरुसँग ७०० जीबीपीएस क्षमताको इन्टरनेट व्यान्डविथ छ । यसको अर्थ १ सेकेन्डमा ७०० जीबीसम्म डाटाहरु डाउनलोड गर्नसक्ने क्षमता हाम्रा सेवा प्रदायकहरुसँग छ । सामान्य अवस्थामा २० प्रतिशतसम्म अतिरिक्त क्षमता व्यवस्थापन गर्दै आएका सेवा प्रदायकहरु माग बढेपछि अहिले समस्यामा छन् । 

इन्टरनेट व्यवस्थापनमा समस्या हुने भएपछि इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेटलाई सूचना प्राप्त गर्ने माध्यमको रुपमा प्रयोग गर्न र अनावश्यक रुपमा गेम नखेल्न आग्रह समेत गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप