शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा

शनिबार, १५ चैत २०७६, १४ : ५०
शनिबार, १५ चैत २०७६

स्याङजा । लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ३६६ जना बसेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

स्याङ्जामा होम क्वारेन्टाईनमा ३४०, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २५ र सेल्फ क्वारेन्टाइनमा एक कूल ३६६ जना क्वारेन्टाइनमा बसेका प्रनाउ भण्डारीले बताए । जिल्लाका स्थानीय तह, प्रहरी प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेहरुको खोजी कार्यलाई तीव्र पारिएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनहुँ थपिँदै गएको प्रनाउ भण्डारीले बताए । ‘लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्न सचेतनास्वरुप माईकिङसमेत गरिएको छ’, प्रनाउ भण्डारीले भने, ‘लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौंँ ।’

यसैबीच स्याङ्जाबाट परीक्षणका लागि पठाइएको स्वाबको दुई नमूना कोरोना नभएको पुष्टि भएको छ । कतार एयरमा फर्किएकामध्ये स्याङ्जाको फेदीखोलाका एक युवकसहित उनकी पत्नीको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएकामा कोरोना नभएको पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

‘कतार एयरमा आएका युवाको श्रीमतीलाई समेत ज्वरो आएपछि दुवैको स्वाब परीक्षणका लागि पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ’, प्रजिअ कुरुम्बाङले भने । कतार एयरमा आएकी १९ वर्षीया युवतीमा कोरोना सङ्क्रमण प्रमाणित भएसँगै उक्त जहाजमा यात्रामा रहेका छ जना सम्पर्कमा आई क्वारेन्टाइनमा बसेका उनले बताए ।

रेडक्रसद्वारा एक हजार थान मास्क वितरण

वालिङ नगरपालिकाभित्र क्रियाशील रेडक्रस उपशाखाहरुले शुक्रबार एकहजार थान मास्क वितरण गरेका छन् । नगरपालिकाअन्तर्गतका क्रियाशील रेडक्रसका विभिन्न सात उपशाखाहरुको पहलमा ल्याइएको मास्क नगरस्थित दैनिक खटिने सङ्घसंस्थालाई वितरण गरिएको मास्क सङ्कलन तथा वितरण कार्यक्रमका संयोजक एवं पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँणले बताए ।

नगरपालिकाभित्रका रेडक्रस सोसाइटीका क्रियाशील सात संस्थाको भेलाले कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रारम्भिक कदमस्वरुप तत्काल १२ हजार मास्क तयार गर्ने र प्रत्येक उपशाखामा दुई हजारका दरले स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यकीय संस्थाहरुमा वितरण गर्ने निर्णय गरेबमोजिम पहिलो चरणमा शुक्रबार वालिङमा एक हजार थान मास्क वितरण गरिएको संयोजक खाँणले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप