यतिखेर अमेरिकाले हारेको छ
यतिखेर अमेरिकाले हारेको छ । एउटा सिपाही वा देश हार्दा त्यो सिपाही वा देशलाई कस्तो अनुभव हुन्छ, अहिले अमेरिकालाई त्यस्तै अनुभव गरेको महसुस गरेको छु ।
अमेरिका विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र हो, सामरिक युद्धका दृष्टिले । तर पनि ऊ हारेको छ, यतिबेला एउटा भाइरससँग । अमेरिकामा बस्ने करोडौँ मानिसहरु आफैसँग हारेका छन्, आतङ्कित बनेका छन् ।
अमेरिकाको ५० वटै राज्यमा यसको प्रभाव र असर परेको छ भने हालसम्म करिब १ लाख ४ हजार मानिसमा यसको सङ्क्रमण देखिएको छ भने शनिबारसम्म १ हजार ७ सय ४ जना मानिसको मृत्यु भइसकेको छ ।
अमेरिका र खासगरी न्युयोर्क अझ आतङ्कति बनेको छ । धेरै जनसङ्ख्या भएको राज्य न्युयोर्क र क्यालिफोर्नियाले जनताको हितमा लकडाउन अर्थात् एक किसिमको कर्फ्यु नै लागू गरेका छन् । यी बाहेक जनताको सुरक्षालाई दृष्टिगत गरी अमेरिकाका १६ वटा राज्यले आपतकालीन स्थितिको घोषणा पनि गरेका छन् ।
चीनको उहानबाट निस्केको कोभिड–१९ अर्थात् कोरोना भाइरससँग ऊ हारेको छ । जहिलेसुकै प्रकृतिमाथि हामी सांसारिक प्राणीले हार्ने नै हो । प्रकृतिमाथि जबजब हामी धावा बोल्छौँ र उसमाथि हामी बज्र प्रहार गरिरहन्छौँ तब तब उसले पनि हामीमाथि जवाफी हमला लिइरहन्छ, जस्तालाई तस्तै ढिँढालाई निस्तै । सायद यो त्यसैको परिणति हो ।
करिब १० वर्षदेखि अमेरिकामा बस्दै आएको छु । अहिले जस्तो प्राकृतिक विपद् न भूतो न भविष्यति नै हो भन्ने लाग्छ मलगायत मेरो पुस्तालाई । बूढापाकाहरुका मुखबाट सुन्छु, यस्तो सन्त्रस्त, भयावह र आतङ्कित परिस्थिति पहिलो र दोस्रो विश्वयुद्ध मात्र होइन, अमेरिकामा कहिले पनि आएको थिएन, हामीले त देख्ने कुरै भएन, शताब्दी पुरानो इतिहासका पन्नाहरुमा थन्किएको भए थाहा भएन । ....तर यो पटक अमेरिका अमेरिका जस्तो छैन । जो कसैसँग भेटे पनि, जो कसैसँग कुरा गरे पनि उसको अनुहारमा, उसको भावभङ्गीमा, उसको बेचैनीमा अमेरिका हारेको आभाष हुन्छ । संसारको कुनै शक्ति वा व्यक्तिसँग नहारेको अमेरिका एउटा नाथे जीवाणुसँग हारेको छ ।
महान् देशलाई पनि एउटा नाथे जीवाणुले केही क्षणमै, केही दिनमै कसरी धूलिसात बनाउन सक्दोरहेछ भन्ने यो भन्दा ठूलो प्रमाण खोज्न अन्यत्र जानै पर्दैन, अमेरिकाको वर्तमान परिस्थिति आँखै अगाडि देख्दा छर्लङ्ग भएको छ । अरू देशको त कुरै छाडौँ अमेरिकाका सामु परमाणु बमभन्दा पनि यो भाइरस भयङ्कर सावित भएको छ ।
जीवनेच्छाका कारण मान्छे मर्न चाहँदैन । सकेसम्म नमर्न पाए हुन्थ्यो भन्ने नै चाहना हुन्छ । तर पनि प्रकृतिले हामीलाई हाम्रो इच्छा र चाहनाअनुसार चल्न भने दिन्नन् । सम्पूर्ण कुराहरु उनले नै नियन्त्रणमा लिएकी हुन्छिन् सृष्टि, स्थिति र प्रलय । सायद यो त्यही प्रलयको सङ्केत हो । अहिले त्यही छ, त्यही भएको छ । यत्रो विशाल देश अमेरिकामा बसोवास गर्ने राष्ट्रपतिदेखि रातोबत्तीमा बसेर भीख माग्ने र सडक किनारामा सुत्नेसम्मका सबै पात्र र चरित्र हारेको अनुभूत गरिरहेका छन् ।
अमेरिकाका हरेक नागरिकले यतिखेर ठूलो सङ्कट झेलेका छन् । हतप्रभ छन् । बाँच्नका लागि अनेक सङ्घर्ष गरेका छन् । मर्नबाट डराएका छन् । त्यसैले त उनीहरु कुनै पनि हालतमा आफ्ना दैनिक अत्यावश्यकीय सामान वा खाद्यान्नबाट विमुख हुन नपरोस् भनेर ठूलाठूला होलसेल पसल वा खुद्रा पसलमा सरसामान किन्न लामबद्ध छन्, हारालुछ गरिरहेछन् । मृत्युबोध जीवनबोध हो । मृत्यु र जीवनबोध एकसाथ हिँडिरहेका हुन्छन् । जसले जीवनबोध गरेको छ, त्यो मृत्युदेखि पर भाग्छ । त्यसैले त उनीहरु भागिरहेका छन्, जिजीविषाका लागि, जीवन जिउनका लागि र पुकार गरिरहेछन् हे, जिसस यो सङ्कटबाट हामीलाई पार लगाऊ । तर यो प्रकृतिको नियम हो न कि जिससको । अहिलेको सङ्कट जिससको कुनै पनि क्षेत्राधिकारभित्र पर्ने विषय होइन । प्राकृतिक नियममा बाँधिने र प्रकृतिको नियमलाई अवलम्बन गर्ने यो सर्वाेत्तम समय हो । जिसससँग त्यत्रो क्षमता हुन्थ्यो भने त अमेरिकामा नै यो रोग फैलिनबाट रोकिन्थ्यो कि ? बरु नेपालीहरुमा यो रोगको प्रकोप नदेखिए सँगसँगै त्यो क्षमता र शक्ति त पशुहरुका मालिक अर्थात् पशुपतिनाथसँग पो छ कि भन्ने पो लाग्न थालेको छ । भलै यो मेरो अनुमान हो ।
अमेरिका स्वतन्त्रता भएको मुलुक हो । वैयक्तिक स्वतन्त्रताको सर्वोच्चता रहेको अमेरिका यतिखेर खुम्चेर बसेको छ । उसका हरेक दैनन्दिनी कोरोना, कोरोना र कोरोनासँग चलेको छ । लाग्छ, मानिसहरु ठूलो कैदखानामा स्वकैद छन् । आफ्नो कोठा वा घरमा स्वनिर्वासित हुन बाध्य छन् । नेपालीहरु खासगरी परिवारसँगै बसेर मन परेका पुस्तक पढ्ने, युट्युब र नेटफ्क्सिबाट नयाँ तथा पुराना सिनेमा हेर्ने, चेस, क्यारामबोर्ड, तास तथा लुडो खेलेर आफ्ना दैनन्दिनी बिताइरहेका छन् । भैँसी देख्दा जोगी र जोगी देख्दा भैँसी डराए जसरी एकबाट अर्को र एक परिवारबाट अर्को परिवार सशङ्कित छ, डराएको छ । चिनजानका कसैसँग भेट भयो भने पनि टाढैबाट गफगाफ गरेर छुट्टिने गरिएको छ । जबर्जस्ती काममा घचेटिएकाहरु बाहेक मानिसहरु घरबाट बाहिर निस्कन र हिँडडुल गर्न डराएका छन् ।
अझै न्युयोर्कमा एकजना नेपालीको मृत्यु भएपछि त नेपालीहरुको डरको मात्रा ह्वात्तै बढेको छ । प्रत्येक गल्ली, चोक, पार्क, खेलमैदान, रङ्गशाला, जिम वा व्यायामशाला, कलेज वा स्कुल, चाइल्डकियर सेन्टर, नाचघर, फिल्महल, ब्युटीपार्लर तथा सलुन व्यवसायका ढोका बन्द छन् । सामाजिक तथा सांस्कृतिक र खेल गतिविधि ठप्प छन् । अधिकांश सरकारी वा गैरसरकारी सङ्घसंस्था वा कार्यालयमा काम गर्ने कर्मचारीहरु घरबाटै वर्क फ्रम होम गरिरहेका छन् । कलेजका विद्यार्थीहरु घरबाटै स्काइपमा क्लास लिन बाध्य छन् । सडकमा गाडीहरु एकदमै कम गुडेका छन् । सरकारले नै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आह्वान गरेको छ । सार्वजनिक यातायात, रेल, हवाई तथा पानीजहाजको उडान तथा गुडानमा भारी कटौती भएको छ । स्टक मार्केट घट्दै गएको छ । कतिपय सानादेखि ठूल्ठूला व्यापार व्यवसाय बन्दप्राय भएका छन् ।
गत तीन हप्ताको बीचमा करिब तीन लाख मानिसहरुले जागिरबाट हात धोएका छन् र यो सङ्ख्या केही दिनमा लाखौँ बढ्ने छ । रेस्टुरेन्ट वा अरू कफी पसलमा बसेर खान मनाही गरिएको छ । ग्रोसरी स्टोरका ढोका आधा मात्र खुलेका छन् । कलकारखाना, उद्योग र होटल व्यवसाय चौपट छ । सधैँ भीडभाड हुने डाउनटाउन मृतसहरमा रूपान्तरण भएको छ । पौराणिक कथाहरुमा चित्रित राक्षसहरुले देवताहरुलाई बनाएको आतङ्क जस्तै कोरोना आतङ्कले अमेरिका त्राहिमाम छ । ट्रम्प प्रशासनले यसको महामारीको रोककाथको लागि दुई खर्ब डलर छुट्याएको छ तथापि स्वास्थ्य विशेषज्ञहरुले आगामी केही दिनमा यो रोगले महामारीको रूप लिएर लाखौँ मानिसहरु कालको मुखमा पुग्ने अनुमान गरेका छन् ।
के अमेरिकाको अर्थतन्त्र यो महाव्याधिको दशाबाट बौरेला ? यसै भन्न सकिने स्थिति छैन । हामीले प्रकृतिमाथिको दोहन र अत्याचार नरोक्ने हो भने फेरि पनि यस्तै यस्तै भाइरस वा जीवाणुले हामीमाथि निरन्तर प्रहार गरिरहन्छ । माल्थसको सिद्धान्तले पनि त्यही भन्छ होइन र ?
बोस्टन, अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं