लकडाउनमा घरमै बसी पढ्न नवराज लम्सालले सुझाएका ५ पुस्तक
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न देश लकडाउनमा छ । यतिखर धेरै मनोविद्, चिकित्सक तथा विद्वान्हरूले पुस्तक पढ्ने सल्लाह दिएका छन् । यसबाट ज्ञान पनि बढ्ने, मनमा शान्ति पनि मिल्ने र समय पनि व्यतित हुने उनीहरूको तर्क छ ।
पढ्ने तर कस्तो पुस्तक ? धेरैमा जिज्ञासा पाइन्छ । यही प्रश्न कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल समक्ष पनि राखिएको थियो । विगत २५ वर्षदेखि नेपाली रेडियो प्रसारणमा क्रियाशील सञ्चारकर्मी डा. लम्साल ‘कर्ण’ र ‘धरा’ जस्ता चर्चित दुई महाकाव्यसहित ७ पुस्तकका लेखक समेत हुन् ।
उनी निकै अध्ययनशील लेखक र जनप्रिय सञ्चारकर्मीका रूपमा समेत परिचित छन् । भूकम्पको बेला चौबीसै घण्टा लाइभ गरेर देशलाई सकारात्मक सन्देश दिएझैँ कोरोना विरुद्धको अभियानमा सशक्त रूपमा जनसन्देश प्रवाह गरिरहेको रेडियो नेपालको समाचार महाशाखा प्रमुखसमेत रहेका डा. लम्साल यतिखेर आफूले चाहिँ पुस्तकहरू पढ्न नपाएको बताउँछन् । त्रासमय समाचारसँग खेल्दा पुस्तकहरू छुटेको उनको तर्क छ ।
अखबार पढेजस्तो आज पढ्यो भोलि पुरानो हुने किताब काम नहुने उनी बताउँछन् । पुस्तक पढ्दा ज्ञान, शान्ति र राष्ट्रिय सहिष्णुता निर्माणमा पनि योगदान पुग्नुपर्ने उनको तर्र्क रहने गरेको छ । त्यसैले पनि डा. लम्सालले यो लकडाउनका बेला पढ्न सुझाएका ५ पुस्तक र त्यसको विशेषता उनकै शब्दमा ।
१. २१ लेसन फर २१ फस्ट सेन्चुरी :
यो युभल नाथ हरहरि (Yuval Noah Harari) को पुस्तक हो यो । यस शताब्दीका चुनौतीहरु माथिको गहिरो चिन्तन छ यसमा । आज हामीले भोगेको समस्या केही प्रविधिको सुविधासँगै छायाँ बनेर आएको विकृतिको कारण हो । केही हाम्रो अज्ञानता हो, केही सुविधाभोगी समस्या हो र केही प्रकृति माथिको अनावश्यक दोहनको कारण हो ।
मान्छे आजै सचेत भएन भने यस्ता समस्याले नयाँ नयाँ रूप र रङ्ग लिएर आउन सक्छन् । यस पुस्तकमा यस शताब्दीका केही चुनौतीहरूको मीठो चर्चा छ र समाधानका लागि सजगता अपनाउने तरिका छ ।
विपत्ति, विकृति र विनाशको कारण मान्छे र उसको असावधानी । सुधार पनि मान्छेबाटै हुनुपर्छ र मान्छे आफैँ सचेत हुनुपर्छ, भइएन भने अझै धेरै खतरा नजिकै छ, देखिन्छ । झस्का दिन्छ भनेर यो पुस्तकले सजक गराएको छ । राम्रो अङ्ग्रेजी हुनेले त यो पुस्तक पढेर खुब मजा लिन सक्छन् । तर म जस्तो कमजोर अङ्ग्रेजी हुनेका लागि पनि त्यति धेरै ढुङ्गा चपाउनुपर्ने अवस्थाको पुस्तक होइन हो । यो पुस्तक पढिसकेपछि एक प्रकारको विश्व दृष्टिकोण निर्माण हुनेछ ।
२. सन्त दर्शन
स्वामी आनन्द अरुणको पुस्तक हो यो । धेरै सन्तहरू र तिनका जीवनोपयोगी प्रसङ्गहरु छन् यसमा । सन्त भनेर खरानी घसेका सडकतिरका जोगी नसम्झनु होला । जीवनका तमाम दुःख र झन्झटका नदी तरेर जीवनको अन्तर उज्यालो आत्मसात गरेका महापुरुषहरूका सन्दर्भ यसमा छन् ।
जीवन पराजयका लागि होइन । तर विजय भनेको पनि भौतिक उपलब्धिको स्वर्ग मात्रै खडा गर्नु पनि होइन । अन्तर सुख अन्तरमै छ । बाकसमा सुख राखेर बाहिर कुदिरहेको दुनियाँ सन्तहरूको जीवन पढेर पग्लिन सक्छ र पग्ल्यो भने शान्ति पनि मिल्ला सायद ।
आज मान्छे अस्थिर, आन्दोलित, दुःखमा र चिन्तामा छ । यी सबै राज्या, शासन पद्धति विशेष वा कुनै पनि दुःख वा गरिबी विशेषले मात्र होइन, मान्छेका अनावश्यक महत्त्वाकाङ्क्षा र निजी स्वार्थका कारणले हुन् ।
जातीय, दलीय, भौगोलिक र भौतिक अहङ्कार हाम्रा सुखका अवरोध हुन्, बाँध हुन् । त्यो बाँध भत्काउने कला चाहिएको छ आज । यो पुस्तक पठनले पाठकलाई स्थायी किसिमको शान्ति दिनेछ ।
३. नेपाली काँग्रेस : ऐतिहासिक दस्तावेजहरू
झट्ट सुन्दा यो नेपाली काँग्रेसको इतिहास जस्तो लाग्छ र केही हदसम्म हो पनि । तर २००३ सालयता काँग्रेसले गरेका र काँग्रेसको नेतृत्वमा सञ्चालित तमाम राजनीतिक घटनाक्रम र यो देशको मूल राजनीतिक प्रवाह हो यी दस्तावेज ।
एकजना चर्चित र निकै अध्ययनशील नेता गगन थापा र उनको उर्वर टिमले सम्पादन गरेको यो विशालकाय पुस्तक पढेपछि नेपाली राजनीति कसरी यहाँसम्म आइपुगेको रहेछ र इतिहासको कुन मोडमा कहाँ कहाँ के के भएछन् भन्ने सूक्ष्म कुराको ज्ञान मिल्छ ।
हावादारी गफ र गनगन भाषणले नेता भएकाहरुलाई, नेता ठानिएकाहरूलाई, ‘अल्पबुद्धि भयङ्करी’लाई र राजनीतिमा चासो राख्ने सामान्य नागरिकका लागि समेत यो निकै महत्त्वपूर्ण खुराक सावित हुने मेरो धारणा रहेको छ ।
एउटा रमाइलो त के छ भने भृकुटीमण्डपमा काँग्रेस महाधिवेशन चलिरहेको थियो । झोला बोकेर भित्र बाहिर गर्ने महाधिवेशन प्रतिनिधिहरू बीपीको सपना बोकेर देश बनाउने नेता छान्न कुदिरहेका थिए । भित्र चर्को भाषण थियो । अधिवेशन अवधिभरमा यो पुस्तक तेह्रवटा बिक्यो ।
एउटा क्रेता थिए तात्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई । उनले कतै भनेको पढेको थिएँ– यो पुस्तक पढे नेपाली राजनीति बुझ्न सजिलो हुन्छ ।
सत्य यो हो कि इतिहास नपढी वर्तमान बुझिन्न र वर्तमान विश्लेषणको क्षमता नभई भविष्य बनाउन सकिन्न । नेपाली राजनीतिको लामो कालखण्डको दस्ताबेज सङ्ग्रह हो यो पुस्ताक । पठनका लागि पठन मात्र नभएर इतिहासमा रुचि हुनेका लागि यो निकै रसपूर्ण पनि हुनेछ ।
४. मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य :
अखिल नेपाल लेखक सङ्घले प्रकाशित गरेको पुस्तक हो यो । शीर्षकले नै बतायो यो तात्कालीन माओवादी विचार सम्बद्ध लेखकहरूको विचार सङ्ग्रह हो । शब्दैमा पनि कतिलाई आपत्ति छ । जनयुद्ध भन्ने कि सशस्त्र द्वन्द्व ।
यो तपाईको विचारमा निर्भर गर्ने कुरा हो । हाम्रो साहित्यको वैचारिक पक्ष कमजोर छ भन्ने गरिन्छ । समयको लेखन चिन्तनको तहमा भन्दा चिन्ताको सतहमा रमेको छ भन्ने गरिन्छ । यसो हुनाको एउटा कारण यो पनि हो कि हामी विचारको बहुलतालाई त्यति सजिलै स्वीकार गर्दैनौँ । अरूको विचार पढ्दैनौँ र मनोगत गनगनमा रमाउँछौँ । यो ठूलो कमजोरी हो ।
यसमा धेरै लेखकका निजी र माओवादी द्वन्द्वको सकारात्मक कोणबाट उठेका तर्कहरू छन् । कुनै लेखकले आफ्नो तर्क पेस गरिरहँदा उसले दिएको तर्कको जग त समाज हो नि । उसले समाजलाई उसकै ढङ्गले बुझेको तर्क थाहा भएपछि तपाईंको आफ्नो बुझाइ झन् बलियो हुँदै आउँछ ।
तसर्थ यी र यस्ता पुस्तकहरूले विचारको बहुलता र सुस्पष्ट वैचारिक दृष्टिकोण निर्माणमा सघाउँछन् ।
यसमा निकै धेरै लेखकका धेरै तर्कहरू छन् । ती तर्कहरूसँग सहमत हुनुस् वा नहुनुस् तर तर्क सामथ्र्य र दृष्टिकोणलाई सम्मान गर्नुपर्छ । तर्कपछि प्रतितर्क हुनसक्छ । संवाद चल्छ र त्यहाँ वैचारिक सौन्दर्य निर्माण हुन्छ ।
फूलपातको वर्णन, युवतीको सौन्दर्य र कसैलाई व्यर्थ गाली बर्साउनुको लेखकीय धन्दा भन्दा कुनै न कुनै वैचारिक दृष्टिकोणको जगमा उभिनु लेखक हुनुको पहिलो सर्त हो भन्ने पुष्टि हुन्छ । यो पुस्तक पाठक हुनेलाई भन्दा आफैँ लेखक हुनेहरूका लागि थप उपयोगी हुन्छ ।
५. कुरआन मजिद :
धेरैलाई यो पुस्तक निकै नौलो लाग्न पनि सक्छ । इस्लामी सङ्घ नेपालले प्रकाशन गरेको पुस्तक हो यो । यो मूल कुरआनको नेपाली अनुवाद हो । हिन्दू धर्म ग्रन्थ धेरै पढेका छौँ र पढिरहेका छौँ । बाइबल त भूकम्पको राहतसँगै पाएकै छन् नेपालीले । तर धेरैले नपढेको हुन सक्छ यो पुस्तक ।
प्रत्येक धर्मले कुनै कुनै रूपमा मान्छेलाई माया गरेकै छन् । मानवीय संसार खडा हुनुको पछाडि कहीँ न कहीँ केही न केही शक्तिको हात स्वीकारेकै छन् । पूजा प्रक्रिया र पद्धतिमा पृथकता होला तर मूल सुख र जीवनको उज्यालोमा कसैको दुई मत छैन । तपाईं साँझ बिहान पूजा आरती गर्नुस् वा पाँच पटक नमाज पढ्नुस् अथवा चर्च जानुस् ।
गुम्बा पुग्नुस् वा प्रकृति र भूमिको पूजा गर्नुस् । तपाईंको विश्वास हो । तर यो विश्वासको पछाडि अन्तर सुखको गहिरो चाह हुन्छ र छ । यो सत्य भने सबैको साझा हो ।
कुरआन मजिदमा कतै भनिएको छ– नमाज कायम राख्नुको अर्थ नियमित रूपमा सल्लल्लाहु अलैही व सल्लमले बताउनु भएको तरिका अनुसार नमाज अदा गर्नु हो । दिनरातमा पाँच पटक तोकिएको समयमा नमाज पढ्नु अनिवार्य गरिएको छ । ती नमाजहरु हुन्– फज्र, जुहर, अस्र, माग्रिब र इसा । नवाजका लागि कुरआनमा सलात शब्द प्रयोग गरिएको छ । सलातको अर्थ हो कुनै कार्यतर्फ बढ्नु र त्यसका प्रविष्ट हुनु तथा कुनै कार्यतर्फ ध्यान दिनु ।
आज हामीले लकडाउनको अनुशासनतिर ध्यान दिनु छ नि, होइन ? यो पनि नमाज पढेजस्तै हो एकोहोरो लगनशीलता । वेदले चरैवेति चरैवेति भनेजस्तै हो ।
यी केही पुस्तक त उदारहण हुन् । दुनियाँमा पढ्न लायक हजारौँ पुस्तक होलान्, छन् । कतिमा हाम्रो आर्थिक पहुँच नहोला, कतिमा चिन्तनको पहुँच नहोला र कतिमा सम्पर्क वा थाहा नहोला ।
कतिपय लेखकका पुस्तक आफैँ सिरिजमा पनि छन् । जस्तो विवेकानन्द साहित्य । खप्तड बाबाको धर्मविज्ञान । धेरैले धर्म विज्ञान भनेर उनको त्यो सारसङ्क्षेप खण्डलाई मात्र बुझेका छन् । त्यसको ठूला ठूला चारखण्ड छन् । भागवत, रामायण र गीता आफैँमा महत्तम चिन्तन हुन् । नेपाली साहित्यका विराट लेखकहरूका पुस्तकहरू छन् । पाँच पुस्तकको सीमामा रहेर माथिको नाम लिएको हो ।
यी पुस्तकको नाम लिनु पछाडि अहिले समयले खोजेको शान्ति पनि अर्काे कारण हो । यी पुस्तकले तपाईंलाई ज्ञान पनि दिन्छन् र ज्ञानको खोजीका लागि भोक पनि जगाइदिन्छन् । थोपरिएको वा लादिएको विचारभन्दा पनि विचारहरु पढेर पाठकहरुले आफ्नै ढङ्गले विचार उमार्न सकून् । यसैमा पढ्नुको आनन्द पनि छ र मजा पनि छ ।