शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघले यो वर्ष कार्यक्रम नगर्ने

शनिबार, १५ चैत २०७६, १२ : ४६
शनिबार, १५ चैत २०७६

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घले यसवर्ष आफ्नो स्थापना दिवसका अवसरमा कुनै कार्यक्रम नगर्ने जनाएको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै यस पटक विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहेको जानकारी दिए । महासङ्घ भोलि आइतबारदेखि  ६५औँ वर्षमा प्रवेश गर्दैछ ।

उनले यस्तो अवस्थामा सम्पूर्ण सञ्चारकर्मी साथीलाई कोरोनाको सङ्क्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्न आग्रह गरेका छन् । आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग रहन पनि महासङ्घले आग्रह गरेको छ ।  

महासङ्घ स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि हाम्रो सङ्घर्षपूर्ण इतिहास र अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासङ्घको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिबद्धतासमेत अध्यक्ष आचार्यले व्यक्त गरेका छन् ।

नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै सङ्घ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानून र संरचना निर्माणका लागि महासङ्घले पहल र खबरदारी गर्दै आएको उनले बताए ।

नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीतिअनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानूनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्बन्धित निकायलाई महासङ्घले पटक पटक आग्रह गर्दै आए पनि हाम्रा सरोकारको उचित सुनुवाइ हुन नसकेको उनको भनाइ रहेको छ । 

‘‘प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर सरकारले संसद्मा प्रस्तुत गरेका कतिपय कानूनमा आंशिक सुधार भए पनि हाम्रा सरोकारहरुको पर्याप्त सम्बोधन हुन सकेको छैन’’, उनले विज्ञप्तिमा भनेका छन, ‘जसका कारण सञ्चार क्षेत्रमा अझै पनि सङ्घीयता कार्यान्वयन हुन सकेको छैन र सङ्क्रमणकै अवस्था कायम छ । यस अवसरमा म पुनः महासङ्घसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून अघि बढाउन आग्रह गर्दछु ।’’

महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, साना लगानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण, विज्ञापन परिषद्जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापन वितरण प्रणालीको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका माग पूरा गर्न सरकारसहित सम्बन्धित निकायमा उनले ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा सङ्ख्यात्मक रूपमा केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै रहेको उल्लेख गरिएको छ । ‘‘श्रमजीवी पत्रकारका समस्या ज्यूँ का त्यूँ छन् । यस अवस्थामा नेपाली सञ्चारमाध्यमको संस्थागत विकास र श्रम अधिकारको स्थापना एवं सञ्चार क्षेत्रका समस्या समाधानका लागि यस क्षेत्रमा आबद्ध सबैको साझा सरोकार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउँछु’ विज्ञप्तिमा उनले भनेका छन्, ‘महासङ्घ यी सबै समस्या समाधानका लागि सञ्चार क्षेत्रका विभिन्न सङ्घसंस्था र व्यक्तित्वसँग बृहत् एकता र साझेदारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप