शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुबईबाट इमिरेट्सको जहाजमा दिल्ली हुँदै नेपाल आएका थिए चौथो कोरोना संक्रमित व्यक्ति

संक्रमित युवकसँगै नेपाल आए १ सय ८ नेपाली यात्रु, बुद्ध एयरमा थिए ७१ यात्रु र ४ क्रु–मेम्बर
शनिबार, १५ चैत २०७६, १० : ३४
शनिबार, १५ चैत २०७६

कोरोना संक्रमणको पुष्टि भएका चौथो व्यक्ति संयुक्त अरब इमिरेन्टस (युएई) को दुबईबाट इमिरेट्सको विमानबाट नेपाल आएको खुलेको छ ।

चैत ७ अर्थात् (मार्च २०) मा स्थानीय समयअनुसार बिहान ४ बजेर २७ मिनेटमा इमिरेट्स एअरबाट उनी दिल्लीका लागि उडेका थिए । स्रोतका अनुसार उनी २० मार्चमा इमिरेट्सको फ्लाइट नम्बर इके५१० बाट दिल्लीमा उडेका थिए । कुल २ घण्टा ५४ मिनेटको यात्रा गरी ती युवक दिल्लीमा २० मार्चको बिहान ८ बजेर ५१ मिनेटमा आइपुगेका थिए ।

हेर्नुहोस् फ्लाइट डिटेल्स

धनगडी नगरपालिका स्थायी घर भएका ३४ वर्षीय ती युवक दिल्लीबाट एयर भिस्ताराको विमानमार्फत् मार्च २० नै नेपाल आएका थिए ।

उनी एयर भिस्ताराको युके १५५ कलसाइन भएको विमानमार्फत् दिल्लीबाट स्थानीय समयअनुसार दिउँसो २ बजे काठमाडौंका लागि उडेका थिए ।

हेर्नुहोस् फ्लाइट डिटेल्स

त्रिभुवन विमानस्थलका अनुसार एयर भिस्ताराको उक्त विमान नेपाली समयअनुसार मार्च २० मा अपरान्ह ३ बजेर ४४ मिनेटमा अवतरण गरेको थियो ।

पौने ४ बजे नेपाल आइपुगेका उनी सो दिन धापासीस्थित आफ्नो मामाको घरमा बास बसेका थिए ।

मार्च २० अर्थात् चैत ७ गते उनी धापासीमा रहेको मामाको घरमा बास बसेपछि चैत ८ गते उनी बुद्ध एअरको विमानमार्फत् नेपालगञ्जसम्म गएका थिए । नेपालगञ्जबाट माइक्रो बसमा उनी धनगढी पुगेको स्रोतले बताएको छ ।

संक्रमित युवकसँगै थिए १ सय ८ नेपाली नागरिक

स्वास्थ्य सेवा विभागका अनुसार संक्रमित युवकसँगै दिल्लीबाट १ सय ३० यात्रु नेपाल आएका थिए । उनीहरुमध्ये १ सय ८ जना नेपाली नागरिक रहेको पनि विभाग स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

अहिले उक्त विमानमा आएका अन्य नेपाली यात्रुहरुको पनि खोजी भइरहेको समेत विभागले जनाएको छ ।

बुद्ध एअरमा उनीसँगै थिए ७१* यात्रु र ४ क्रु मेम्बर

चैत ८ गते मध्यान्ह १२ बजेका लागि ती युवकले बुद्ध एअरको विमानमार्फत् नेपालगञ्जको टिकट काटे । धनगढीका लागि टिकट नपाएपछि उनले नेपालगञ्जकै टिकट काटेका थिए ।

उनी वुद्ध एअरको फ्लाइट नम्बर यु४–४०३ मार्फत् मध्यान्ह १२ः०८ मा नेपालगञ्जका लागि उडेका थिए । फ्लाइट टाइम १२ बजेको भएपनि उक्त दिन विमान ८ मिनेट ढिलो उडेको थियो । बुद्ध एअरको उक्त विमान अपरान्ह १ बजेर ५ मिनेटमा नेपालगञ्जमा अवतरण गरेको थियो । उक्त फ्लाइटमा ७१ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त फ्लाइटमा ६६ जना वयस्क, ३ जना बालबालिका र २ जना नाबालक गरी कुल ७१ जना यात्रु उठेका थिए । त्यसैगरी विमानमा चालकदलका ४ जना सदस्य रहेका थिए ।

अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले वुद्ध एअरमा सँगै यात्रा गरेका यात्रु तथा दिल्लीबाट काठमाडौंसम्म सँगै आएका यात्रुहरुको समेत खोजबिन गरिरहेको छ । उनीहरुलाई चाँडै नै क्वारेन्टाइनमा राखिने विभागले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतका अनुसार अहिले संक्रमित युवकका परिवारका सदस्यहरु सम्पर्कमा आइसकेका छन् र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवकको परिवारमा ८ जना सदस्य रहेको र उनीहरुको पनि र्यालको नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाउन लागिएको डिएसपी बस्नेतले रातोपाटीलाई बताए ।

संक्रमित युवकको स्वास्थ्यमा समस्या आएपछि चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
कोरोना संक्रमित युवकको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

हालसम्म कोरोना संक्रमितको सङ्ख्या ४ पुगेको छ ।

(सच्चाइएको : यसअघि प्रकाशित समाचारमा बुद्ध एअरको फ्लाइट नम्बर यु४–४५१ तथा ७४ यात्रु भएकामा त्यसलाई सच्चाइएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप