शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनटीएको निर्देशनमा टेलिकम कम्पनीहरुको चलाखी

शुक्रबार, १४ चैत २०७६, १९ : ५३
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । गत मंगलबार नेपाल दुरसञ्चार प्राधिकरणले सबै टेलिकम कम्पनीलाई एउटा सर्कुलर पठाउँदै भन्यो – ‘ग्राहकलाई जति रिचार्ज गरेको छ, त्यति बोनस दिनु । २०० रुपैयाँसम्म सापटी दिने व्यवस्था पनि गर्नु ।’

सो निर्देशनलाई कार्यान्वयन गर्दै बुधबार नै नेपाल टेलिकमले जति रिचार्ज गर्ने हो, त्यति नै बोनस दिने व्यवस्था कार्यान्वयनमा ल्यायो । त्यसभन्दा एक कदम अघि बढेर बिहीबार एनसेलले प्रत्येक रिजार्जमा रिचार्ज रकमको १२० प्रतिशत बोनस दिनेगरी योजना घोषणा गर्यो ।

दुरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम एनसेलले २०० रुपैयाँ निःशुल्क सापटी दिने व्यवस्था पनि ल्यायो । तर नेपाल टेलिकमले ल्याएको प्याकेजमा भने त्यस्तो कुनै व्यवस्था गरिएको छैन । 

बोनसको प्रयोगमा चलाखी 
टेलिकमहरुले प्राधिकरणको निर्देशन बमोजिम नै बोनस दिने प्याकेज घोषणा गरे पनि यसको प्रयोग सहज भने छैन । दुईवटै कम्पनीले ल्याएको प्याकेजमा रिचार्ज गर्दा प्राप्त हुने रकम प्रयोग गरेर सक्नुपर्ने समय निकै कम तोकिएको छ ।

नेपाल टेलिकमले ५० र १०० रुपैयाँको बोनसको हकमा २ दिन, २०० र ५०० रुपैयाँको हकमा ४ दिन र १००० रुपैयाँको लागि ६ दिनभित्र उक्त सबै रकम खर्च गरिसक्नुपर्ने उल्लेख गरेको छ । यदि पिनलेस रिचार्ज गर्ने हो भने १०० भन्दा कम रिचार्जलाई २ दिन, १०० रुपैयाँ देखि ४९९ रुपैयाँसम्मको लागि ४ दिन, ५०० रुपैयाँ देखि ९९९ रुपैयाँ सम्मको लागि ८ दिन र १ हजार रुपैयाँको लागि १० दिनको अवधिभित्र उक्त बोनस रकम खर्च गर्नुपर्ने भनेको छ । एनसेलले भने जति नै रकम रिचार्ज गरे पनि ३ दिनभित्र सबै रकम खर्च गर्नुपर्ने भनेको छ । 

दुईवटै कम्पनीले ल्याएको बोनस प्याकेज हेर्दा राम्रो देखिन्छ तर यसभित्रको शर्तका कारण उल्लेख्य सुविधा प्राप्त हुने अवस्था भने देखिँदैन । बोनस रकमले अर्को नेटवर्कका कुराकानी गर्न पाइँदैन । डाटा चलाउन पाउने भए पनि उक्त रकमले टेलिकम कम्पनीहरुले ल्याएका डाटा प्याकेजहरु किन्न पनि नपाइने व्यवस्था गरिएको छ । साथै, प्रयोग गर्नुपर्ने अवधि पनि निकै छोटो भएका कारण यो बोनसको सुविधा राम्रोसँग प्रयोग गर्न नपाएको गुनासो समेत सेवाग्राहीले गर्दै आएका छन् । 

यसअघि विपद्को बेला टेलिकम कम्पनीहरुले गर्दै आएको सेवा प्रसंशनीय रहे पनि यो अफर भने ‘आँखामा छारो हाल्ने’ मनशायबाट आएको सेवाग्राहीहरुको भनाइ छ । 

उता युनिफाइड लाइसेन्स पाएर सञ्चालनमा रहेको स्मार्ट टेलिमकले अहिलेसम्म पनि कुनै अफर सार्वजनिक गरेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप