बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संकटमा सहमतिको सरकार : कति सम्भव. कति असम्भव ?

सरकार परिवर्तनको मौसम होइन यो : खनाल
शुक्रबार, १४ चैत २०७६, १६ : १४
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण यतिबेला विश्वकै लागि चुनौतीका रुपमा देखापरेको छ । विश्वका शक्तिशाली राष्ट्रका समेत संयन्त्रहरु तहस नहस हुन थालेको अवस्थामा नेपालसमेत यसबाट अछुतो रहन सकेको छैन । कोरोनाको रोकथाम तथा उपचारमा राज्यका सम्पूर्ण निकाय परिचालन भएका छन् । सरकारले संकटको यो घडीमा सबैलाई एकजुट भएर यसको नियन्त्रणमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरिरहेको छ । यसैबेला प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका एक जना नेताले सहमतिको सरकारको कार्ड फालेर सरकार परिवर्तनको माग अघि सारेका छन् । यसरी सरकार परिवर्तन गर्नुपर्ने माग गर्ने नेता हुन्, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

उनको यो भनाइलाई धेरैले संकटको समयमा अस्थिरता निम्त्याउने कसरतका रुपमा व्याख्या गरेका छन् । ‘कसैलाई के को धन्दा, घर ज्वाइँलाई खानकै धन्दा’ भनेजस्तै संकटको घडीमा समेत पौडेलले सरकार परिवर्तनको कुरा अघि सारेको भन्दै आलोचना भइरहेको छ । पौडेलले बिहीबार आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै करिब दुई तिहाई बहुमतको सरकार परिवर्तन गरेर राष्ट्रिय संकटका बेला सहमतिको सरकार बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । ‘यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस् । यस्तो बेलामा आवश्यक प¥यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियामाँ यस्तो प्रचलन पनि छ’, पौडेलको भनाइ थियो ।

यद्यपि विश्वका प्रायः सबै देशहरुमा कोरोनभाइरसको संक्रमण फैलिसक्दा पनि योसँग जुध्नका लागि भनेर सरकार परिवर्तन गरिएको उदाहरण छैन । कतै पनि पौडेलले भनेजस्तो सहमतिको सरकार गठन गरेर संकटको सामना गर्नुपर्छ भन्ने राजनीतिक अभ्यास भएको देखिएको छैन । इटाली, स्पेन जस्ता कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमा पनि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने पहल गरिरहेको छ भने विपक्षी दलहरुले आफ्नो ठाउँबाट सरकारलाई हरसम्भव सहयोग जुटाइरहेका छन् ।

पौडलको यो मागलाई सत्तारुढ दलका नेताहरुले ‘बेमौसमको बाजा’ संज्ञा दिएका छन् । ‘यो सरकार नै राष्ट्रिय सहमतिको सरकार हो । किनभने संसदमा सुविधाजनक बहुमत यो सरकारले पाएको छ,’ पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘फेरि अहिले राष्ट्रिय संकटको बेला छ । यसबेला सरकार परिवर्तनको कुरा गर्नु बेमौसमी कुरा हो ।’

उनले राष्ट्रिय संकटको घडीमा सबैको सहमति भने आवश्यक हुने बताए । ‘यो संकटका बेला सबैको सहमति चाहिन्छ । यसमा सरकारले अघि सारेका योजना र कार्यदिशालाई सबैले सहयोग गर्नुपर्छ,’ उनले भने । खनालले अहिले सरकार परिवर्तनको कुरा गर्नु विवेकहीन कुरा भएको टिप्पणी पनि गरे । ‘यो त्यस्तो कुरा गर्ने समय होइन, त्यो बुद्धिमता पनि होइन,’ उनले भने ।

विश्लेषक भन्छन्– सहकार्य अवश्यक छ

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन पनि यसबेला सरकार परिवर्तनको कुरा गर्नु सान्दर्भिक नभएको बताउँछन् । ‘यो संकटको घडी हो । यसबेला सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य अवश्य जरुरी छ । तर सरकार नै फेर्ने वा परिवर्तन गर्ने कुरा उचित होइन ।’ उनले बरु यस्तोे बेला संकट टार्न सहकार्यको स्तर बढाउनुपर्ने बताए । ‘दुवै पक्ष मिलेर आम रुपमा जनचेतना जगाउँदै जनतालाई सुरक्षित राख्ने विषयमा सहकार्य अनिवार्य छ,’ विश्लेषक महर्जनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप