शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन : के छ भारतमा रहेका नेपालीहरुको हालखबर ?

शुक्रबार, १४ चैत २०७६, १५ : ३८
शुक्रबार, १४ चैत २०७६

नयाँ दिल्ली । विश्वभर कोरोना भाइरस सङ्क्रमणको कहर बढिरहेको छ। हरेक देशले आफ्नो किसिमको सावधानी अपनाइरहेका छन् भने नेपालले पनि दुवै देशसँग जोडिएका सबै सीमानाकाहरू बन्द गरिसकेको छ।

छिमेकी मुलुक भारतमा अन्य देशको तुलनामा कैयौं गुणा बढी नेपालीहरुको बसोबास रहेको छ। 

खासगरी मजदुर र ज्यालादारी गरेर परिवारको पेट पाल्नेको संख्या बाक्लो छ भने पढ्न आएका विद्यार्थीहरुको संख्या पनि निकै ठूलो छ। 

नेपाल–भारत सीमा बन्द भएपछि र भारतमा पनि २१ दिने लामो लकडाउन घोषणापछि यहाँ रहेका हजारौँ नेपालीहरुको बिचल्ली भएको छ।

भारतको केरला, राजस्थान, सिमला, देहरादुन, गाजियाबाद, नोयडा, गुजरात, हैदरावाद, दिल्ली, कलकता, मुम्बई, बेंगलोर लगायतका स्थानमा हजारौँ नेपालीहरु समस्यामा परेका छन्। खास गरी यहाँ होटल, फ्याक्ट्री, क्यान्टिन आदिमा काम गर्ने निम्न वर्गका नेपालीहरुलाई लामो बन्दको कारण देखाई मालिकहरुले निकालिदिएको र पुरा तलब पनि नदिएको गुनासो व्यक्त गरेका छन्। साथै उनीहरुमा नेपाल फर्कन नपाएको पिडा त छदै छ।

अर्घाखाँची मालारानीका श्याम खनाल भन्छन् ‘हामी त यहाँ जसोतसो टिकौला तर गाउँमा वयोवृद्ध आमाबा र आफन्त जो दिनहुँ अनेक समाचार सुन्छन् र देख्छन्, हामीलाई देशमा देख्न नपाउंदा मर्माहत हुनुहुन्छ। बरु जस्तै दुःख भोगेपनि आफ्नै देशमा भोग्न परोस्, परिवारको नजिक भएपछि कमसेकम उहाँहरुलाई  सन्तोष हुन्छ नत्र हाम्रै पीडाले उहाँहरुलाई केहि हुन्छ कि भन्ने चिन्ता छ।’ 

होटल तथा फ्याक्ट्रीबाट निकालिएपछि साथीको कोठामा ८–१० जनाको समूहमा बस्नु परेको पीडा सहित घर बहालवालाले छिटो कोठा खाली गर्न दवाब पनि थेगिनसक्नु छ। जेनतेन बस्ने व्यवस्था भएपनि खाने व्यवस्था गर्न गाह्रो भएको नेपालीहरु बताउँछन् । पसलहरु बन्द छन् भने बाहिर निस्कन खोज्दा प्रहरी प्रशासनले दिएको छैन।

कैयौं नेपालीहरु उपचार तथा तीर्थाटनको लागि भारत आएका छन् जो पछिलो कोरोना संक्रमण पछि विकल्प विहीन बनेर यहिँ बस्नु पर्ने बाध्यतामा छन् र साथमा भएको रकम सकिँदैछ। रकम भएकाहरुसंग पनि बस्ने तथा नेपाल फर्कने कुनै व्यवस्था छैन।

पिडित नेपालीहरु भन्छन् –बरु नेपाल फर्केर हामी एक महिनानै क्वारेन्टाईनमा बस्न तयार छौ तर यहाँ यस्तो पीडा भोगेर बस्न सक्ने स्थिति छैन। बरु मरे देशमै मर्छौं तर यहाँ परदेशमा बन्दी भएर भोकभोकै मर्न सकिदैन।

अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्का भन्छन्, ‘भारत प्रवासमा रहेका नेपालीहरु जो जहाँ हुनुन्छ त्यहिँ सुरक्षित बस्नु होला। भारत सरकार र नेपाल सरकारको अर्को निर्णय नआउँदासम्म नेपाल फर्कन सम्भव छैन। बरु खाना बस्नको व्यवस्था अत्यन्त नाजुक भएको अवस्थामा दिल्ली र दिल्ली आसपास क्षेत्रमा दूतावासको समन्वयमा हामी अस्थायी शिविर तयार गरिदिने छौं। यस्तो स्थितिमा हामीले सरकारलाई सहयोग गरौँ।“

लक्ष्मीनगरमा रहेकी सीए विद्यार्थी सुनिधि केसी भन्छिन् “होस्टलहरुको मेस बन्द भईसक्यो, आफैले जोहो गरेर खानपिन चलिरहेको छ। परीक्षा आईसकेको बेलामा विद्यार्थीहरुलाई मानसिक तनाव त छँदैछ तर घर फर्कने वातावरण पनि छैन”।   

प्रवासमा धेरै संख्यामा नेपालीहरु रहेका छन् उनीहरुलाई जनजागरणको आवश्यकता छ जसले गर्दा मानसिक रुपमै जहाँ छौ त्यहिँ बस्नु पर्छ भन्ने  चेतना सिर्जना हुने अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठान भारतका संयोजक सन्दीप राना बताउँछन।

अभानेस्ववियुका केन्द्रिय सदस्य सुधन महत भन्छन्, ‘नेपाली दूतावास, नेपाल सरकार र भारत सरकारको पहल र समन्वयमा यो परिस्थितिलाई तत्काल सम्बोधन गर्नुपर्ने देखिन्छ।’ उनले सुरक्षा, स्वास्थ्य चेकजाँच लगायत सबै प्रक्रिया पुर्याएर यहाँ रहेका नेपालीहरुलाई तत्काल नेपाल फर्कन सहजीकरण गरिनुपर्नेमा पनि जोड दिए । 

समग्रमा हेर्दा यहाँ भारतमा नेपालीहरुको दैनिकी कष्टकर बनेको छ। भारत स्थित नेपाली दूतावास  र नेपाल सरकार यसबारे गम्भीर बन्नुपर्ने सरोकारवालको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप