कोरोनाले इटलीमा ८ हजार बढीको ज्यान लिइसकेका बेला कसरी भइरहेको होला अन्तिम संस्कार ?
जब तपाईंको कुनै प्रिय व्यक्तिको मृत्यु हुन्छ तब ती व्यक्तिलाई अन्तिम पटक हेर्नु र पूरा सम्मानका साथ बिदा गर्नु तपाईंका लागि सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ ।
तर कोरोना भाइरसको महामारीका कारण आफ्ना प्रियजनलाई अन्तिम बिदाई दिने मौका पनि इटलीका जनताबाट खोसिएको छ ।
एक प्रकारले यो मृतकलाई अन्तिम पटक दिइने सम्मान खोसिएसरह हो भने अर्कोतर्फ परिवारका सदस्यको दुःख बढाउनु पनि हो ।
एन्ड्रिया सेराटो मिलानको एक ‘फ्युनरल होम’ (अन्तिम संस्कार गरिने स्थान) मा काम गर्छन् । उनी भन्छन्, ‘महामारीले तपाईंलाई एकपटक होइन, दुईपटक मार्छ ।’
‘सुरुमा यो रोगले मृत्यु अघि नै तपाईंलाई आफ्ना सबै प्रियजनबाट अलग बनाउँछ । त्यसपछि कसैलाई पनि तपाईंको नजिक पर्न दिइँदैन । यो परिवारका लागि निकै कठिन पल हो र उनीहरुका लागि यो स्वीकार गर्नु निकै पीडादायी हुन्छ ।’
एक्लै मृत्युवरणः
इटलीमा कोभिड–१९ का कारण मृत्यु भएकाहरुसँग अन्तिम समयमा उनीहरुको परिवारका न त कुनै सदस्य हुन्छन् न त साथी नै ।
उनीहरुमार्फत् कसैलाई संक्रमण नफैलियोस् भनेर अस्पतालमा संक्रमितलाई कसैलाई पनि भेट्न दिइँदैन ।
यद्यपि, स्वास्थ्य अधिकारीका अनुसार शवमा भाइरसको संक्रमण त हुँदैन तरपनि यो भाइरस मृतकको कपडामा केही घण्टाका लागि जीवित भने रहन सक्छ ।
यसको अर्थ यो हो कि शवलाई तुरुन्तै सील गर्न आवश्यक छ ।
क्रेमोनामा शवलाई अन्तिम संस्कारका लागि तयार पार्ने काम गर्ने (अन्डरटेकर) मसिमो मनकेस्ट्रोपा भन्छन्, ‘कतिजनाले हामीलाई आफ्ना प्रियजनलाई अन्तिम पटक हेर्न पाइन्छ कि भनेर सोध्छन् तर उनीहरुलाई यसको अनुमती छैन किनभने यसो गर्न प्रतिबन्ध लगाइएको छ ।’
इटलीमा शवलाई परिवारका सदस्यले ती व्यक्तिलाई मनपर्ने लुगा लगाइदिन्छन्, शव सजाएपछि अन्तिम संस्कार गर्छन् ।
तर इटलीमा अहिले कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको अन्तिम संस्कार उनीहरुलाई मनपर्ने कपडामा गर्न सकिँदैन । उनीहरुलाई अस्पतालकै गाउनमा चुपचाप गाडिँदै छन् ।
तर मनकेस्ट्रोपाले यस्तो मुश्किल समयमा आफूहरुले सक्ने जति गरिरहेको बताएका छन् ।
उनी भन्छन्, ‘हामी शवमाथि ती कपडा राखिदिन्छौं जुन परिवारका सदस्यले हामीलाई दिन्छन् ।’
‘उनीहरुसँग विश्वास गर्नेबाहेक अर्को दोस्रो विकल्प छैन’
इटलीमा महामारीका बेला अन्डरटेकरहरुले आफूलाई नयाँ भूमिकामा देखिरहेका छन् । उनीहरु मृतकको परिवारका सदस्य वा उनीहरुको साथीले झैं काम गरिरहेका छन् । उनीहरु एक पादरीले झैं उनीहरुको आत्माले शान्ति पाओस् भनेर प्रार्थना गरिरहेका छन् ।
यस्तो यसकारण किनभने कोरोनाका कारण ज्यान गुमाउनेहरुको परिवारका अन्य सदस्य क्वारेन्टिनमा हुन्छन् ।
एन्ड्रिया सेराटो भन्छन्, ‘यो समयमा हामीले परिवारका सदस्यले गर्नुपर्ने सबै जिम्मेवारी निभाइरहेका छौं ।’
सेराटो भन्छन्, ‘हामी परिवारका सदस्यलाई काठको बाकसको एउटा तस्बिर पठाउँछौं र त्यसपछि अस्पतालबाट शव ल्याएर गाडिदिन्छौं । परिवारले हामीलाई विश्वास गर्नुबाहेक अर्को कुनै विकल्प छैन ।’
सेराटो भन्छन्, ‘परिवारको दुःख कम गर्नका लागि हामी केही गर्न सक्दैनौं, यो नै हाम्रो लागि सबैभन्दा पीडादायी हो ।’
मृतकका परिवारलाई उनीहरुका लागि के के गर्न सकिन्छ भन्नेर सान्त्वना दिनुको साटो के के गर्न सकिँदैन भन्ने सूची तयार पार्न आफूहरु व्यस्त रहेको उनले बताए ।
उनी भन्छन्, ‘हामी उनीहरुलाई कपडा लगाइदिन सक्दैनौं । हामी उनीहरुको कपाल कोरिदिन सक्दैनौं । हामी उनीहरुलाई सजाउन सक्दैनौं । हामी उनीहरुको मेकअप गरिदिन सक्दैनौं । यो सबैले हामीलाई पनि दुःखी बनाउँछ ।’
मृतकप्रति समवेदनाः
सेरोटो पछिल्लो ३० वर्षदेखि अन्डरटेकरको रुपमा कार्यरत छन् । उनका पिता पनि यही काम गर्दथे ।
उनलाई राम्रोसँग थाहा छ मृतकको परिवारका लागि स–सानो कुरा पनि महत्वपूर्ण हुन्छ । उनी भन्छन्, ‘अन्तिम पटक उनको गाला सुम्सुम्याउनु, उनीहरुको हात समात्नु र सुन्दर देख्नु । यस्तो गर्न नपाउनु साँच्चै नै पीडादायी हुन्छ ।’
मृतकका आफन्तले मृतकले लेखेको नोट, परिवारको निशानी, चित्र र कविताहरु शवसँगै गाडिदिन्छन् ।
तर अहिलेको अवस्थामा कफिनभित्र केही पनि राख्न पाइँदैन ।
नीजि वस्तुलाई गाड्नु अब अवैध बनाइएको छ । यद्यपि, यो एक कठोर कदम हो तर कोरोनाको बढ्दो संक्रमण रोक्नका लागि यस्तो निर्णय गरिएको हो ।
यदि कुनै व्यक्तिको घरमै मृत्यु भए अन्डरटेकरलाई भित्र जाने अनुमती छ । तर उनीहरुले पूर्ण रुपमा सेफ्टी गियर लगाउनुपर्ने हुन्छ जस्तै चश्मा, मास्क, कोट इत्यादि ।
कुनै पनि व्यक्तिका लागि आफ्नो प्रियजनको मृत्यु हेर्नु निकै दुःखदायी हुन्छ ।
तर महामारीका बीच इटलीमा थुप्रै अन्डरटेकर आफैं क्वारेन्टिनमा गएका छन् । कतिले त आफ्नो व्यवसाय नै बन्द गर्नुपरेको छ ।
चिन्ताको एउटा ठूलो विषय भनेको शवसँग निकै नजिक भएर काम गर्नका लागि पर्याप्त मास्क र सेफ्टी गियर छैनन् ।
सेराटो भन्छन्, ‘हामीसँग अर्को एक हप्तासम्मका लागि मात्रै काम चलाउनका लागि सेफ्टी गियर छन् ।
‘तर यी पनि सकिएपछि हामी त्यसपछि काम गर्न असमर्थ हुनेछौं । म यो कल्पना पनि गर्न सक्दिनँ कि अन्य मानिसहरुले यस्तो स्थितीसँग कसरी सामना गरिरहेका होलान् ।’
मलामी निकाल्न प्रतिबन्धः
भाइरस फैलनबाट रोक्नका लागि इटलीले एक राष्ट्रिय कानून लागू गरेको छ जस अनुसार मलामी जान पनि प्रतिबन्ध लगाइएको छ ।
रोमन क्याथोलिक मूल्यलाई पालना गर्ने कुनै पनि देशका लागि यो अभूतपूर्व हो ।
सेराटोले शव गाड्ने बेला मृतकका कोही पनि आफन्त देखिँदैनन् किनभने सबैजना क्वारेन्टिनमा बसिरहेका हुन्छन् ।
मसिमो मनकेस्ट्रोपा भन्छन्, ‘शव गाड्ने बेला परिवारका एक वा दुई सदस्यलाई उपस्थित हुन दिइन्छ तर यो पर्याप्त छैन । तीमध्ये कोही पनि एक शब्द भन्ने स्थितीमा हुँदैनन्, सबै चुपचाप हेरिरहेका हुन्छन् ।’
मोसिमोका अनुसार उनी सम्भव भएसम्म यस्तो स्थितीबाट बच्ने कोसिस गर्छन् । उनी आफ्नो कारमा कफिन लिएर चर्च पुग्छन् र कारको पछाडिको ढोका खोलेर पादरीसँग शवका लागि त्यही प्रार्थना गरिदिन आग्रह गर्छन् ।
त्यसको केही सेकेन्डमा नै शवलाई चिहान वा शवदाह गृह पु–याउँछन् र त्यसपछि अर्को शव लिन निस्कन्छन् ।
इटलीमा कफिन नै कफिनः
अहिले इटलीको मुर्दाघर शवले भरिएको छ र मृतकको संख्या बढ्दो छ ।
यस्तै २३ मार्चपछि अहिलेसम्म कोरोना भाइरसका कारण ६ हजारको मृत्यु भइसकेको छ जुन कुनै पनि देशभन्दा धेरै हो ।
सेराटो भन्छन्, ‘क्रेमोनामा हाम्रो फ्युनरल होम बाहिर मानिसहरुको लाइन छ । यहाँ सुपरमार्केटमा देखिने दृश्य जस्तै देखिएको छ ।’
उत्तरी इटलीमा अस्पतालका मुर्दाघर शवले भरिएको छ । मसिमो मनक्यास्ट्रोपा भन्छन्, ‘क्रेमोनामा अस्पताल नजिकैको चर्च कुनै गोदाम जस्तै देखिन थालेको छ ।’
कफिन एकएक गर्दै लगातार चर्चमा आइरहेका छन् । इटलीमा सबैभन्दा धेरै मृत्यु बर्गेमोमा दर्ता गरिएको छ जहाँ मद्दतका लागि सेनालाई बोलाउनु पर्यो । यो शहरका सबै चिहानमा शव गाड्नका लागि ठाउँको कमी भइरहेको छ ।
गत हप्ता एक रात सेनाको ट्रकमा ७० बढी कफिन शहरको गल्ली हुँदै निस्किएको थियो । स्थानीयले चुपचाप यो दृश्य हेरे । यीमध्ये हरेक कफिनामा कसैको आफन्त वा साथीको शव थियो जुन नजिकैको शहरमा गाड्न लगिएको थियो ।
यो मुश्किल परिस्थितीमा इटलीमा डाक्टर र नर्सलाई त ज्यान बचाउने हिरोको रुपमा हेरिँदैछ ।
तर शवलाई गाड्ने काम गर्नेहरुलाई पनि उनीहरुको कामका लागि प्रशंसा गरिँदै छ । मसिमो भन्छन्, ‘मानिसहरुले हामीलाई शव लैजाने व्यक्तिको रुपमा मात्रै हेरिरहेका छैनन् ।’
उनी भन्छन्, ‘इटलीमा मानिसहरुले हामीलाई चेरनको रुपमा हेरिरहेका छन् । युनानी कथामा चेरन त्यो नाउ चलाउने व्यक्ति हुन् जसले मृतकको आत्मालाई स्वर्गमा पुर्याउँछन् ।’
उनका अनुसार यसअघि उनीहरुको काम प्रति मानिसहरुको सम्मान कम थियो तर अब मानिसहरुको दृष्टिकोणमा यो कामको महत्व बढेको छ ।