शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘जुनुको जुत्ता’ छनौट

शुक्रबार, १४ चैत २०७६, १२ : ३२
शुक्रबार, १४ चैत २०७६

काठमाडौ । विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनौटमा परेको छ । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२०को संस्करणमा छनौटमा परेको हो ।

विश्वभरीबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एकसय फिल्म छनौट हुँदा एसियाबाट १९ फिल्म छनौटमा परेको हो । जसमा यसपटक नेपालको चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको हो । 

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एकसय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो । 

फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ । यस महोत्सवको लागि हरेक वर्ष करिब सात हजार फिल्महरुको आवेदन पर्ने गरेको छ । छनौट भएको सय फिल्म, जर्मनी प्रतिष्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्महरुको प्रदर्शन गरिन्छ ।
महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरुको जमघट हुने गरेको छ । 

सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’

त्यस्तै, अर्को प्रतिष्ठित महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ । ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो । 

‘बिग आइज बिग माइन्डस्ः सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र चलचित्र महोत्सव हो । यस महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील चलचित्रहरुको प्रदर्शन र प्रतिष्पर्धा गरिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप