बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरस विकासोन्मुख देशहरुमा पुग्यो भने मात्र डढेलो जसरी फैलिन सक्छ: राष्ट्रसंघ

बिहीबार, १३ चैत २०७६, २३ : ४०
बिहीबार, १३ चैत २०७६

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानव जातिका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । एन्टोनियो गुटेर्रेसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बिहीबार बताए ।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ । महासचिव गुटेर्रेसले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलिन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ ।’

‘त्यति मात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्न सक्नेछ । त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन ।’

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतिजा ल्याउने राम्रा सङ्केत देखिएको डब्ल्यूएचओले बताएको छ ।

यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए ।राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद देखिएका छन् ।

सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको थियो ।अमेरिकाले वक्तव्यमा ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य कैयौँ सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बैठकलाई कूटनीतिज्ञहरूमाझ चीनले भाइरसको स्रोतबारे अनर्गल षड्यन्त्रका सिद्धान्त फैलाइरहेको जानकारी रहेको बताएका थिए ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ बताउने गर्नुभएको छ भने वरिष्ठ चिनियाँ अधिकारीहरूले उक्त भाइरस ‘अमेरिकी सेना’ ले चीन भित्राएको आरोप लगाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप