शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट नेपाल भित्रिनेहरुले चोरबाटो प्रयोग गरेपछि...

बिहीबार, १३ चैत २०७६, २२ : ४३
बिहीबार, १३ चैत २०७६

रौतहट । भारतको विभिन्न ठाँउबाट चोरबाटो हुँदै अधिकांश मानिस रौतहट भित्रिन थालेपछी स्थानीवासीले बाटो बन्द गर्न थालेका छन् । कोरोना संक्रमण हुनबाट गाउँ जोगाउन युवाहरुले बाटो बन्द गर्न थालेका हुन् । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप भारतमा पनि बढ्न थालेपछि रोजगारीका लागी भारतका बिभिन्न ठाँउमा गएका रौतहटवासी फर्किन थालेका छन् ।

सरकारले ११ गतेदेखी गरेको लकडाउनका कारण रौतहटको सबै नाकाहरु बन्द छन् । त्यसैले उनीहरु भारतबाट आउँदा चोरबाटो हुँदै आउने गरेका छन् । भारतको हैदराबादमा मजदुरी गरेर जिल्लाको उतरीभेग गुजरा नगरपालिका वडा ४ थारुटोलका ७ जना युवाहरु चोरबाटो हुँदै दुुइ दिनअघि घर फर्किएका छन् । त्यसैगरी सोही वडाका ५ जना मुसहर तथा ५ जना दलित युुवाहरु हिजोमात्र चोरबाटो हँुदै घर फर्केका छन् । लामोसमय भारत बसेर फर्केकामध्ये केहीलाई ज्वरो समेत आएको भन्दै स्थानीयवासीले खबर गरेपछि १२ जनालाई नियन्त्रणमा लिएर चन्द्रपुरस्थित क्वारेन्टाईनमा राखिएको छ ।

यसअघि चोरबाटो हुँदै रौतहट  भित्रिएका ३७ जनामध्ये अधिकांशलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए । प्रहरीका अनुसार गौरमा १६, राजपुरमा २ ,चन्द्रपुरमा ९, चन्द्रपुर प्रालि अस्पतालमा ८ गरी ३५ जनालाई क्वारेन्टाईनमा राखेर उपचार भइरहेको एसपी खडकाले जानकारी दिए ।

भारतबाट चोरबाटो हुँदै रौतहट आउनेको संख्या बढन थालेपछि स्थानिय युवाहरु गाँउ–गाँउको बाटोमा खाडल खनेर र बार लगाएर बाटोनै बन्द गर्न थालेका छन् । स्थानीयवासीको सक्रियतामा गुजरा नगरपालिका अन्तरगतको जंगलसैया बाल्चनपुर मुख्यबाटो, धन्सार जाने मुख्य बाटो, पशुपतिटोल लगायतका स्थानमा बाटो अवरुद्ध गरेको गुजरा नपा वडा ४ का अध्यक्ष पवनराज गिरीले जानकारी दिए ।

त्यसैगरी फतुवा बिजयपुर नगरक्षेत्रका झण्डै आधा दर्जन स्थानमा गाँउलेहरुले बाटो बन्द गरेका छन् । बहिरबाट आउनेहरुबाट कोरोना सर्ने सम्भावित खतरालाई नियन्त्रण गर्न बाटो बन्द गरिएको वडा अध्यक्ष पवनराज गिरीको भनाई छ । रौतहटका सिडिओ बासुदेव घिमिरेले बाहिर बाट आउनेले सुरुमै मेडिकल चेकअप र १६ दिन क्वारेन्टाईनमा बस्न अनिवार्य रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप