मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संकटका बेला सहमतिको सरकार बनाउन सक्नुपर्छ : नेता पौडेल

बिहीबार, १३ चैत २०७६, २० : २५
बिहीबार, १३ चैत २०७६

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभर फैलिएको कोरोना भाइसरको संक्रमण रोक्नका लागि सरकारले लकडाउन घोषणा गरेको बताएका छन् । विहीबार साँझ फेसबुक लाइभमार्फत नेता पौडेलले नेपालीको स्वास्थ्यका लागि, संक्रमणबाट जोगिन एक साताका लागि लकडाउन घोषणा गरिएको बताएका हुन् ।

उनले भने, 'यसमाबाट आर्थिक सामाजिक तथा राजनीति क्षेत्रमा प्रधाव पार्ने छ ।' सबैभन्दा बढी स्वास्थ्यको क्षेत्रमा यसको प्रभाव देखिएको उनको भनाइ थियो ।

'स्वास्थ्य क्षेत्रमा चुनौति ठुलो आइलागेको छ । खास गरि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सुरक्षाको विषय नागरिकको सुरक्षासँगै चुनौतिपूर्ण बनेको छ । स्वास्थ्यकर्मीले उपचारमा संलग्न हुँदा सुरक्षा कवज लगाउनुपर्ने छ,' उनले भने ।

स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीईको कमी देखिएको नेता पौडेलले बताए ।

 उनले भने, 'हाम्रो देशमा संक्रमण देखिसकेको छ । यस्तो अवस्था सबैभन्दा पहिले स्वास्थ्य क्षेत्र सुरक्षित हुन आवश्यक छ । अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मी पहिले सुरक्षित हुन आवश्यक छ । आइसोलेसन वार्ड, आइसियु बढीभन्दा बढी आवश्यक छ । यसका लागि अहिले पीपीईको कमी भएको सुनिँदै छ ।'

स्वास्थ्य क्षेत्रको सुरक्षाको व्यावस्थामा सरकारले सबैभन्दा पहिले ध्यान दिन जरुरी रहेको नेता पौडेलले बताए । उनले सबै नेपालीको सुरक्षाका बारेमा सोच्नुपर्ने बताए । 

'नेपाली भएर मात्र सोच्ने हो भने पनि नेपाली विश्वमा छरिएर बसेका छन् । हामीले ती सबै नेपालीको सुरक्षाका बारेमा सोच्नुपरेको छ । विदेशमा रहेका ४० / ५० लाख जनताको अवस्थाका बारेमा खोजी गर्नुपर्छ,' नेता पौडेलले भने ।

आधुनिक राज्यले मुलुकसँग जोडिएका सबैलाई हेर्नुपर्ने उनको भनाइ छ । नेता पौडेलले भने, 'कल्याणकारी राज्य भनेको नै यही हो । विदेशमा रहेर रेमिट्यान्स मार्फत मुलुकको अर्थतन्त्र धान्ने नागरिकका बारेमा पनि लोककल्याणकारी राज्यले तत्काल सोच्नपर्छ ।'


नेपालको आर्थिक अवस्थाका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको उनले बताए । उनले भने, 'अहिले काम गरेर खाने मान्छेका लागि न काम न मामको अवस्था सृजना भएको छ । काम गरेर खाने मान्छेका लागि जीविकोपार्जनबारेमा पनि हामीले अहिलेदेखि नै सोच्न जरुरी छ ।'

नेता पौडेलले  भारतमा ८० करोड जनतालाई सितैमा खान दिनका लागि राहत घोषणा गरिएको विषय स्मरण गराएका छन् ।

'भारतले जनतालाई बचाउनका लागि ठूलो राहत घोषणा गरेको छ । हामीले पनि हाम्रा जनतालाई बचाउनका लागि राहतका प्याकेज ल्याउन जरुरी छ । सरकारले औपचारिकभन्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकका बारेमा सोच्न जरुरी छ,' नेता पौडेलले भने ।

अनौपचारिक क्षेत्रका विहान काम गर्ने बेलुका खाने नागरिकका लागि सरकारले तत्काल सोच्न जरुरी रहेको उनले बताए ।

नेता पौडेले भने, 'म सरकारलाई आग्रह गर्न चाहान्छु । सरकार चाहिने भनेको अहिले नै हो । यस्तो बेलामा आम सहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ ।'

यस्तो बेलामा आवश्यक पर्यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्ने नेता पौडेलको जोड छ ।

उनले भने, 'यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस । यस्तो बेलामा आवश्यक पर्यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियामा यस्तो प्रचलन पनि छ ।'

मुलुकको भावि अर्थतन्त्रबारे नेता पौडेलले चिन्ता व्यक्त गरे ।  उनले भने, 'मुलुकको भावि अर्थतन्त्रका लागि मित्र मुलुकहरुसँगको सम्बन्ध कस्तो रहने मित्र मुलुकहरुमा पनि संकट छ । ती मुलुकहरुले हामीलाई कस्तो सहयोग गर्न सक्छन भन्ने पनि सोच्न जरुरी छ । अहिलेको संक्रमणले मानव सभ्यता माथि नै प्रहार गरेको छ । यो महामारीले दुनियालाई कस्तो क्षति पुर्याउने हो । अबको मान सभ्याता पनि कस्तो हुने हो । त्यसतर्फ पनि हामीले ध्यान दिन जरुरी छ । यो महामारीका कारण वर्तमान कस्तो हुने हो भविश्य कस्तो हुने हो वुद्धिजीवीहरुले पनि अहिले विश्लेषण गर्न जरुरी छ ।'
 

यो बेलामा सबैले सरकारलाई सहयोग गर्नुपर्ने नेता पौडेलको भनाइ छ ।

 उनले भने, 'आजको आवश्यकता भनेको वर्तमान जोगाउँदै भविष्यको निक्र्यौल गर्ने हो । अहिले सरकारले जिम्मेवारी बोध गरोस । राजनीतिक दलहरु सामाजिक संस्था बुद्धिजीवी तथा दाताहरुले कस्तो सहयोग गर्ने हो । सबैले सहयोग गर्नुपर्छ ।'

मुलुक जोगाउनका लागि घर घरमा बसेर चिन्तन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप