केन्द्रीय संस्करण
पुस्तक अंश

ईश्वरलाई किन नमान्नु ?

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

-राहुल साङ्कृत्यायन

ईश्वरवादीहरुका अनुसार हरेक कार्यको कारण हुन्छ । संसारको पनि कुनै कारण हुनुपर्छ । त्यो कारण ईश्वर हो ।

यदि कारण ईश्वर हो भने त्यो ईश्वर कुन प्रकारको हो ? के ईश्वर उपादान–कारण (जस्तै– घडाको कारण माटो, कुण्डलको सुन) हो ? यदि ईश्वर जगत्को उपादान–कारण हो भने जगत् ईश्वरको रुपान्तरण हो । यस हिसाबले संसारमा भएका खराबी–राम्रोपन, सुख–दुःख, दया–क्रूरता आदि ईश्वरबाट उत्पन्न हुन् र ईश्वरमै निहित छन् । त्यसो हो भने ईश्वर सुखमयभन्दा दुःखमय बढी छ, किनभने संसारमा दुःखको बाहुल्यता बढी छ । ईश्वर दयालुभन्दा क्रूर बढी छ, किनभने संसारमा चारैतिर क्रुरताको राज्य छ ।

यदि वनस्पतिलाई जीवधारी नमान्ने हो भने पनि सूक्ष्मदर्शक यन्त्रले देखिने कीटाणुदेखि कीरा–फट्याङ्ग्रा, पन्छी, माछा, सर्प, छेपारा, स्याल, सिंह–बाघ, सभ्य–असभ्य मनुष्य – सबै एक–अर्काका जीवनका ग्राहक हुन् । ध्यान दिएर हेर्दा दृश्य–अदृश्य सम्पूर्ण जगत् एक रोमाञ्चकारी युद्धक्षेत्र हो, जहाँ निर्बलहरु सबलका गाँस बनिरहेका छन् । पुनर्जन्म नमान्ने धर्महरुले त यसलाई कुनै आनाकानी नगरीकनै स्वीकार गर्नुपर्ने हुन्छ ।

पुनर्जन्मवादीहरुले सबै समस्याहरु पूर्वजन्मका कर्महरुका फल हुन् भन्न सक्छन्, तर यो पनि चिन्तनीय कुरा हो । राम्रा–नराम्रा कर्महरुको जवाफदेही जानकार व्यक्ति मात्र हुन सक्छ । पागल या नशामा बेहोस या अबोध बालकलाई अर्काको हत्याको दोषी ठह-याउन सकिँदैन । आफ्ना असल–खराब कर्मका बारेमा थाहा नपाउने र अर्काको हत्यामा आफू निर्भर हुने प्राणीहरु आफ्ना कर्मका जिम्मेवार हुन सक्दैनन् भन्ने कुरा कसले अस्वीकार गर्न सक्छ ? मानिसमा पनि बालक, पागल आदिलाई अलग गरिदिने हो भने आफूमाथि दायित्व लिनेहरुको सङ्ख्या अत्यन्त कम हुन जान्छ । यदि दुनियाँमा जवाफदेही मानिसको सङ्ख्या डेढ अर्ब मान्ने हो भने फल भोग्नेहरु अपार सङ्ख्यामा कहाँबाट आउँछन् ? डेढ अर्बभन्दा बढी त कछुवाहरु नै होलान्, जो मानिसभन्दा बढी दीर्घजीवी छन् । कीटाणुहरु तथा हात्ती, ह्वेल आदि विशाल जन्तुहरुका बारेमा त केही भन्नु नै परेन । 

अर्कातिर उपादान–कारण हो भने निर्विकार कसरी हुन सक्छ ? यदि ईश्वरलाई निमित्त–कारण (ईश्वरले जगत्लाई कुमालेले घैला, सुनारले कुण्डलजस्तै बनाउनु) मान्ने हो भने प्रश्न खडा हुन्छ– के ईश्वरले कुनै उपादान–कारणविना जगत्लाई बनाउँछ या उपादान–कारणबाट ? यदि उपादान–कारणविना बनाउँछ भने अभावबाट भावको उत्पत्ति भएको मान्नुपर्ने हुन्छ । यस अवस्थामा कार्य–कारणको सिद्धान्त नै समाप्त हुन्छ । त्यसपछि जगत्लाई हेरेर त्यसको कारणले ईश्वरलाई मान्नुपर्ने आवश्यकता किन पर्छ ? यदि इन्द्रजालझैँ उसले जगत्लाई कुनै कारणविना मायामय उत्पन्न गरेको हो भने प्रकट चिज नै मायामय हुन्छ । यस्तो अवस्थामा ईश्वर हुनुको अनुमान कुन सामग्रीको बलमा लगाउने ?

यदि ईश्वरले जगत् उपादान–कारणबाट बनाउँछ भने कुमालेझैँ अलग रहेर बनाउँछ या त्यसमा व्याप्त भएर ? अलग्गै रहन्छ भने ईश्वर सर्वव्यापक रहने छैन । सृष्टि गर्नका लागि उसले अरु सहायक र साधनहरुमाथि निर्भर हुनुपर्ने हुन्छ । विद्युत्कणहरुभन्दा पनि सूक्ष्म नवकणहरु (Neutrons)सम्म पुग्न र त्यसको मिश्रणबाट क्रमशः स्थूलतर चीजहरु बनाउन सुनारले सनासोको प्रयोग गरेझैँ उसले कुनै हतियार प्रयोग गर्छ भने त्यसपछि ऊ सर्वशक्तिमान् कसरी रहन्छ ? यदि उसलाई उपादान–कारणमा सर्वव्यापक मान्ने हो भने पनि उपादान–कारणविना उत्पादन गर्नमा असक्षम भएकाले सर्वशक्तिमान् होइन । यस्तो अवस्थामा अपवित्रता, त्रूmरता आदि खराबीहरुको स्रोत हुनुको पनि ऊ दोषी हुनेछ ।

यस प्रकार ऊ न उपादान–कारण हुन सक्छ, न निमित्त–कारण । जगत्को कुनै आदि कारण हुनै पर्छ भन्ने जरmरी छैन । यदि ‘त्यसको कारण के, त्यसको कारण के ?’ भनेर सोध्दा जगत्को कुनै सूक्ष्मतम वस्तु या त्यसको विशेष शक्तिमाथि चर्चा गर्न दिइँदैन भने ईश्वरसम्म मात्र किन रोकिने ? ईश्वरको पनि अर्को कारण किन नमान्ने ? यस प्रकार ईश्वरलाई आदि कारण मान्नु युक्तिसङ््गत होइन ।
मुख्य कत्र्ता–धर्ता ईश्वर हुँदा मनुष्य उसको हातको कठपुतली बन्छ । त्यस्तो स्थितिमा कुनै असल–खराब कामका निम्ति मनुष्य जवाफदेही हुन सक्दैन । अनि दुनियाँमा मनुष्यलाई सताइनु के ईश्वरको दयालुपनको द्योतक हो ? 

ईश्वर सृष्टिकर्ता हो भनेर मान्नु पनि ठीक होइन । यदि सृष्टि अनादि हो भने त्यसलाई कुनै कर्ता आवश्यक छैन । कर्ता हुनका लागि उसले कार्यभन्दा पहिले उपस्थित रहनुपर्छ । यदि सृष्टि आदि हो भने करोड, दुई करोड या अर्ब, दुई अर्ब वर्ष होइन; अनन्त वर्षदेखि सृष्टि उत्पन्न भएको समयसम्म क्रियारहित ईश्वर हुनुको प्रमाण के ? क्रिया नै त उसको अस्तित्वमा प्रमाण हुन सक्छ ? 

अगाडि भनिएझैँ ईश्वरलाई मान्ने हो भने मनुष्यलाई उसको अधीन मान्नुपर्ने हुन्छ । यस अवस्थामा मानिस स्वयम् आफ्नो स्वामी हो, आपूmलाई जस्तो चाह्यो त्यस्तो बनाउन सक्छ भनेर मान्न सकिँदैन । त्यसो हो भने मानिसले शुद्धि र मुक्तिका लागि प्रयत्न गर्ने गुन्जाइस कहाँ रहन्छ ? अनि त धर्महरुले देखाएका मार्ग र धर्म पनि निष्फल हुने भए । 

ईश्वरलाई नमान्दा मनुष्य वर्तमानमा जस्तो छ त्यो उसकै कर्मको कारण हो र भविष्यमा जस्तो हुनेछ त्यो पनि उसको कर्मकै कारण हुनेछ । मनुष्यलाई काम गर्ने स्वतन्त्रता हुँदा मात्र धर्मले देखाएका मार्गहरुमा धर्मको सार्थकता हुन सक्छ । ईश्वरवादीहरुद्वारा सहस्राब्दीयौँदेखि धर्मका निम्ति अशान्ति र रगतका धाराहरु बगाइँदै छन्, तर पनि ईश्वरले किन फैसला गर्न सक्दैन ? त्यसकारण भन्न सकिन्छ, ईश्वर मनुष्यको मानसिक दृष्टि हो ।

(मञ्जरी पब्लिकेसनले हालै बजारमा राहृल साङ्कृत्यायनको ‘बौद्ध दर्शन’बाट)
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.