शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारद्वारा २५ करोडको राहत कोष स्थापना

बिहीबार, १३ चैत २०७६, १३ : ४०
बिहीबार, १३ चैत २०७६

जनकपुर । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा यस संक्रमणबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउनका लागि प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने भएको छ । 

प्रदेश २ सरकारको बिहीबार बसेकोे मन्त्रिपरिषद बैठकले २५ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।कोषमा प्रदेशका सबै मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

उनले स्थापना गरिएको राहत कोषमा सहयोग गर्नका लागि विभिन्न समाजिक संघ संस्था, व्यापारी व्यवसायी र इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरेको जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्चस्तरीय निर्देशन समिति समेत गठन गरेको छ भने महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।

कार्यकारी समितिलाई मन्त्रिपरिषद बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागि चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छ । 

त्यस्तै मन्त्रीपरिषदले प्रादेशिक अस्पताल जनकपुर, विरगंज र राजविराजमा कोरोना सम्बन्धी चेकजाँच गर्नका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको प्रवक्ता यादवको भभनाई छ । 

बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब जनताका लागि आवश्यक राहत व्यवस्था गर्न स्थानीय तहसंग समन्वय गरेर अघि बढ्ने निर्णय समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप