सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसले इरानलाई यति विघ्न कसरी गाँज्यो ? कहाँ भयो गल्ती ?

बिहीबार, १३ चैत २०७६, १२ : ४१
बिहीबार, १३ चैत २०७६

कोरोना भाइरसले जुन देशलाई सबैभन्दा धेरै आक्रान्त बनाएको छ, उक्त देशमा इरानसमेत पर्छ । यहाँ २७ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् भने दुई हजार बढीको मृत्यु भइसकेको छ ।

यद्यपि, वास्तविक आँकडा यो भन्दा धेरै भएको र सरकारले आँकडालाई कम गरेर देखाइरहेको आरोप लागेको छ ।

आलोचकका अनुसार इरान सरकारले लगातार कोरोनाको खतरालाई कम गरेर देखाउँदै आएको छ ।

१९ फेब्रुअरीको पहिलो घोषणामा सरकारले जनतालाई भाइरससँग नडराउन आग्रह गरेको थियो । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले इरानका दुश्मनले खतरालाई बढाईचढाई देखाएको आरोप लगाए ।

एक हप्तापछि संक्रमित व्यक्ति र मृतकको आँकडा बढ्दा राष्ट्रपति हसन रुहानीले सर्वोच्च नेताको शब्द दोहोराउँदै षड्यन्त्र रच्ने र देशका दुश्मनलाई डर पैदा गर्ने कोसिस गरेकोमा चेतावनी दिए ।

उनले भने, ‘यो देशलाई रोक्नका लागि गरिएको षड्यन्त्र हो’ । रुहानीले त्यसपछि इरानी जनतालाई आम जनजीवन बाँचिरहन र काममा गइरहन अपिल गरे ।

केही समयअघि त्यहाँको सरकारी टिभी कार्यक्रममा कोरोना भाइरस अमेरिकाद्वारा बनाइएको ‘बायो वेपन’ हुनसक्ने बताइएको थियो । सर्वोच्च नेताले पनि ‘बायोलोजिकल हमला’ बारे ट्वीट गरे ।

तीब्र रुपमा फैलियो भाइरसः

तर १६ दिनभित्रै कोभिड–१९ इरानको सबै ३१ प्रान्तमा फैलिएको थियो । साथै इराक, पाकिस्तान, यूएई, कुवेत, कतारजस्ता १६ वटा देशले आफ्नो देशमा कोरोना भाइरस इरानमार्फत् फैलिएको दाबी गरे ।

विश्व स्वास्थ्य संगठनलाई विश्वास गर्ने हो भने सन् २०१६ मा इरानको जनसंख्या ८ करोड २ लाख ७७ हजार दर्ता गरिएको थियो र उसले आफ्नो जीडीपीको ६.९ प्रतिशित हिस्सा स्वास्थ्यका लागि राख्छ ।

यति हुँदा हुँदै पनि इरान कोरोनाको खतरासँग जुध्नका लागि संघर्ष गरिरहेको छ र अमेरिकाको मद्दत गर्ने प्रस्ताव पनि अस्विकार गरिसकेको छ ।

देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईका अनुसार इरान अमेरिकामाथि विश्वास गर्न सक्दैन ।

उनले भने, ‘यो भाइरस अमेरिकाले जन्माएको भन्ने आरोप लागिरहेको छ । मलाई थाहा छैन यो कति सही हो । तर दिमाग भएका को समझदार व्यक्तिले उनीहरुमाथि विश्वास गर्लान् ?’

यो बयान यतिबेला आयो जब कतै यात्रा नगर्न गरिएको आधिकारिक अपिलपछि पनि इरानी जनता वर्षको सबैभन्दा ठूलो चाड– पर्सियन न्यू इयर वा नौरोज मनाइरहेका थिए ।

यो मौकामा हज्जारौं जनता पारिवारिक बिदा मनाउनका लागि क्यास्पियन सागर र देशका अन्य भागमा जान्छन् ।

स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले स्थिती सम्हाल्नका लागि मानिसहरुसँग यात्रा नगर्न र घरमै बस्न अपिल गरेका थिए ।

यति हुँदाहुँदै पनि ठूलो संख्यामा मानिसहरुले यो चेतावनी अटेर गरे । न्यू इयर होलिडे नजिक आउँदा सडकमा भारी ट्राफिक देखियो ।

सोसल मिडियामा राजधानी तेहरानको मुख्य सडकमा ट्राफिक जामको तस्बिर सेयर गरियो ।

इरानले संक्रमण रोक्नका लागि कस्तो कदम उठायो ?

इरानका राष्ट्रपति रुहानीले देशभरी सपिङ सेन्टर र बजारलाई १५ दिनका लागि बन्द गर्ने आदेश दिएका थिए । औषधी र दैनिक उपभोग्य वस्तुमा छुट दिइयो ।

प्रशासनले अब कोम र मशहाद शहरमा रहेको धार्मिक स्थलसमेत सबै प्रमुख स्थल बन्द गरियो ।

कोममा रहेको धार्मिक स्थललाई शिया मुस्लिमबीच निकै पवित्र मानिन्छ । हरेक वर्ष यहाँ लाखौं शिया मुस्लिम श्रद्धालु आउँछन् । यो इलाका कोरोना महामारीको केन्द्र हो । यहाँको धार्मिक स्थललाई पहिले नै बन्द नगरेका कारण इरान सरकारको निकै आलोचना पनि भयो ।

इरानको संसदकी उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री मसूद पेजेशियनले भने, ‘कोमलाई पहिलो दिनदेखि क्वारेन्टिन गर्नुपर्ने थियो । यो रोग कुनै ठट्टा होइन ।’

तर धार्मिक स्थल बन्द गरिँदा समेत मशहादमा छुट्टीका बेला ठूलो संख्यामा मानिसहरुको आउने क्रम जारी रह्यो ।

शहरका मेयरले ‘मानवीय विध्वंश’ हुने चेतावनी दिए र शहरलाई लकडाउन नगर्ने सरकारले निर्णयको आलोचना गरे ।

यद्यपि, सरकारले स्कूल, विश्वविद्यालय र धार्मिक स्थल बन्द गरेको छ र सांस्कृतिक तथा धार्मिक समारोहमा रोक लगाइएको छ । तर अहिलेसम्म पूर्ण रुपमा लकडाउन गरिएको छैन ।

सरकारले अझै धेरै गर्नुपर्ने थियो ?

आलोचकका अनुसार इरान सरकारले कोरोनाको संक्रण रोक्नका लागि निकै अघि नै कडा कदम उठाउनु पर्दथ्यो ।

यद्यपि, देशका विदेशमन्त्री मोहम्मद जवाद जरिफका अनुसार अमेरिकी प्रतिबन्धका कारण इरानको स्वास्थ्य क्षेत्रलाई झट्का लागेको छ ।

अमेरिकाले इरानको स्रोत साधनलाई कमजोर बनाइदिएको जरिफले आरोप लगाए ।

यस्तै, अमेरिकाले आफ्नो प्रतिबन्धका कारण इरानलाई मेडिकल सप्लाईको आयातमा समस्या भइरहेको भन्ने जानकारीको खण्डन गरेको छ ।

आफूले अत्यावश्यक वस्तुमा छुट दिएको अमेरिकाले दाबी गरेको छ ।

तर बैंकले अमेरिकी प्रतिबन्धका कारण जोखिम लिन नचाहेकोले कम्पनीबीच पैसा लेनदेन हुन नसकेको इरानले बताएको छ ।

के इरानसँग पर्याप्त मेडिकल उपकरण छन् ?

विश्व स्वास्थ्य संगठनले इरानका स्वास्थ्यकर्मीका लागि डाइग्नोस्टिक किट र सुरक्षा उपकरण पठाएको थियो जसमध्ये ७.५ टनको मेडिकल सप्लाई समावेश थियो ।

विश्व स्वास्थ्य संगठनको एक समूहले हालै इरानको भ्रमण गरेपछि परीक्षण र अन्य क्षेत्रमा केही प्रगति भएको तर पनि धेरै कुरा गर्न बाँकी भएको जानकारी दिएको छ ।

अन्य प्रभावित देश झैं इरानमा पनि मानिसहरु मास्क र स्यानिटाइजरजस्ता वस्तुका लागि मेडिकल पसल बाहिर लाइन लागेको देख्न सकिन्छ ।

जहाँ यस्ता कुरा पाइएका छन् त्यहाँ यसको मूल्य दस गुणा बढी भएको छ ।

सोसल मिडियामा गरिएको दाबी अनुसार इरानले चीनलाई सहयोग स्वरुप मास्क प्रदान गरेका कारण घरेलु बजारमा मास्कको कमी भएको हो ।

इरानी सरकारले अबको तीन महिनासम्म फेस मास्क निर्यातमा रोक लगाएको जानकारी दिएको छ । आफूले यस्ता कम्पनीलाई उत्पादन बढाउन पनि आदेश दिएको उनले बताए ।

ती मानिसहरु जो बढी जोखिममा छन्ः

इरानमा एक समूह छन् जसबारे सबैभन्दा धेरै चिन्ता व्यक्त गरिँदै छ । उनीहरु हज्जारौंको संख्यामा छन् । सन् १९८० का् दशकमा ८ वर्ष चलेको इरान–इराक युद्धको क्रममा रासायनिक हमलाका पीडित हुन् उनीहरु । यीमध्ये कतिजना निकै बुढ्यौली अवस्थामा छन् ।

उनीहरु उक्त रासायनिक हमलाबाट त बचे तर त्यसका कारण उनीहरुको स्वास्थ्य निकै कमजोर भएको छ, कतिको फोक्सोमा समस्या छ । तीमध्ये कति अक्सिजन मास्कको मद्दत सास फेर्छन् ।

डर यो छ कि उनीहरु निकै सजिलै कोरोनाको संक्रमणमा आउनसक्छन् ।

भाइरसले सबैभन्दा नराम्रोसँग प्रभावित गर्दा पनि इरानमा लकडाउन छैन । तर इरानका राष्ट्रपति हसन रुहानीले अब उनको सरकारले कोरोना भाइरससँग लड्नका लागि कडा कदम उठाउने जानकारी दिएका छन् ।

उनका अनुसार यसमा मानिसहरुलाई आवतजावतमा रोक लगाइने पनि समावेश हुनेछ ।

इरानले यसअघि नै ८५ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ भने अन्य १० हजारलाई माफी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप