शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको मौकाः मालामाल हुने दाउमा जनकपुरका व्यापारी

बिहीबार, १३ चैत २०७६, ११ : १५
बिहीबार, १३ चैत २०७६

जनकपुर : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणकोविरुद्ध लकडाउन रहेको बेला जनकपुरमा व्यापारीहरुले एकाएक चर्को मूल्य निर्धारण गरी तरकारीहरु बिक्रीवितरण गर्न थालेका छन् । 

जनकपुरको पेठिया बजारमा आलु र प्याजको सुपथ मूल्यभन्दा चर्को मूल्यमा ‘ब्ल्याक’मा बिक्रीवितरण गरिरहेको आरोपमा ३ जनालाइ पक्राउ गरेको १२ घण्टा नबित्दै व्यवसायीहरुले चर्को शुल्क असुल्ने गरी निर्धारण गरेको मूल्य सार्वजनिक गरेको छ ।

करिब ३ दिनअघि सम्म आलु प्रति किलो ३० रुपैयाँ र प्याज ४० रुपैयाँमा बिक्री वितरण भइरहेको थियो ।  तर, स्थानीय व्यापारीले ‘ब्ल्याक’मा आलु प्रति किलो ५० र प्याज १ सय रुपैयाँ प्रति किलो बिक्रीवितरण गरिरहेको अवस्थामा रंगेहात प्रहरीले पक्राउ गरेको थियो । केही व्यापारीहरु पक्राउ परेको थाहा पाए लगत्तै जनकपुरधाम उद्योग वाणिज्य संघले आलु र प्याजको भाउ निर्धारण गरेको सामाजिक संजाल मार्फत मूल्य बढाएर बेच्ने घोषणा नै गरेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले आफ्नो सामाजिक संजालमा आलु प्रति किलो ४५ रुपैयाँ र प्याज प्रति किलो ५५ रुपैयाँ किलोमा बिक्रीवितरण गर्ने जनाएका छन् । 

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले मूल्य तोकिँदा आफ्नो प्रतिनिधित्व नरहेपनि संघका अध्यक्षले फोन मार्फत आलु प्रति किलो ३६ र प्याज प्रति किलो ४० रुपैयाँ दर भन्दा बढी नलिने गरी खुद्रा भाउ कायम गरिएको जानकारी दिएको बताए  । उनले हालसम्म लिखितरुपमा दर रेट नआउदाँसम्म यकिनरुपमा भन्न कठिनाई रहेको स्पष्ट पारे ।

जनकपुरमा व्यापारीले एकाएकरुपमा चर्को शुल्क असुल्ने गरी उपभोक्तासंग ठगी गर्ने मनसायले मनोमानी ढंगले मूल्य निर्धारण गर्दा उपभोक्ता भने मारमा परेका छन् ।

जनकपुरधाम वडा नम्बर १० बस्ने २६ वर्षिय किसन कुमार मण्डलले विश्व महामारीबाट गुज्रिरहेको अवस्थामा दैनिक कामकाज देखि तलब समेत संस्थाबाट हालसम्म नआउदाँ जिवन धान्न कठिन भईरहेको बेला व्यापारीले तरकारीको मूल्य दोब्बर गरेर कोरोना भाईरस संक्रमणको नाममा ठगी धन्दा गर्न खोजेको आरोप लगाए ।

यता, धनुषा चैम्बर्स कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले लकडाउनको बेला उपभोक्तालाई सहजरुपमा पुरानै दर रेटमा बिक्रीवितरण गर्न भनेपनि केहि व्यापारीको मनोमानीको कारण आलु र प्याजको मूल्य बढाउनु दुःखद रहेको बताए । उनले खाद्यान्न लगायतका सामग्रीहरु सरकारले सहज ढंगले बिक्रीवितरण गर्न पहल गरिरहेको बेला यसरी मूल्य बढाउनु उपभोक्तालाई मारमा पार्ने काम भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप