शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसका ‘सक्रिय’ नेताको होम क्वारेन्टाइन अनुभव

बिहीबार, १३ चैत २०७६, ११ : ०९
बिहीबार, १३ चैत २०७६

काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न एक सातासम्म ‘लकडाउन’ घोषणा गरेसँगै अधिकांश नेपालीको दिनचर्या घरमै सीमित हुन पुगेको छ ।

के धनी, के गरिब, के शक्तिशाली, के सामान्य, सबै नागरिकको दिनचर्या अहिले घरभित्र सीमित देखिन्छ । भिडभाडमा रमाउने राजनीतिक दलका नेताहरु पनि यतिबेला ‘लकडाउन’बाट अछुतो छैनन् । मंगलबारबाट उनीहरुको गतिविधि पनि घरमै सीमित भएको छ ।

विशेषतः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा २०७७ फागुन ७–१० गते हुने भनिएको पार्टीको १४ औँ महाधिवेशनलाई लिएर नेता कार्यकर्तामा थपिएको व्यस्ततामा कोभिड–१९ले पूर्ण रुपमा ब्रेक लगाइदिएको छ ।

काँग्रेस केही नेताहरु सभापति, महामन्त्री लगायतका पदको आकांक्षासहित पछिल्लो समय कार्यकर्तासँग गहिरो उठ्बस गर्दै आएका नेताहरु अहिले घरभित्र बसेर मुलुकको अवस्थालाई नियालिरहेका छन् ।

यस्तै अवस्थामा छन् काँग्रेसका नेता डा. शेखर कोइराला । सोमबारसम्म उनी आफ्नी स्वर्गीय आमाको नाममा रहेको नोना कोइराला फाउन्डेशनका माध्यमबाट तराईका विभिन्न जिल्लामा मास्क र साबुन वितरणमा व्यस्त थिए ।

मंगलबारबाट विराटनगरस्थित आफ्नो निवासभित्रै उनी दिन बिताइरहेका छन् ।

बुधबार रातोपाटीसँग होम क्वारेन्टाइनमा बस्दाको अनुभव सुनाउँदै कोइरालाले भने, ‘हिजोबाट विराटनगरको घरमा सेल्फ क्वारेन्टाइनमा छु । देश लकडाउनमा भएपछि हामीले पनि त्यसको कार्यान्वयन गर्नै पर्छ । तर जीवनमा पहिलो पटक यसरी घरमै बस्नु पर्दा केही पट्यार भने लाग्दो रहेछ । तर मैले ध्यान र योगा गरिरहेकाले केही सहज छ ।’

त्यसका अलाबा उनले नेपालको इतिहाससम्बन्धी विभिन्न किताब पढ्न थालेको बताए । डाक्टरी पेसाबाट राजनीतिमा आएका नेता कोइरालाले निवासबाट पनि स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्यव गरिरहेका छन् । 
उनले भने, ‘घरबाटै मैले दुईवटा काम गरिरहेको छु । म आफै डाक्टर भएरकाले यो अवस्थामा स्वास्थ्यकर्मीको अवस्था के छ भन्ने कुरा बुझिरहेको छु । उनीहरुको समस्याबारे देशभरीका स्वास्थ्यकर्मीसँग कुरा गरिरहेको छु । उनीहरुलाई पनि ढाडस दिरहेको छु । साथमा आम नागरिकलाई सामाजिक सञ्चालबाट सचेतना पनि दिने काम गरिहेको छु ।’

यता काँग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले कोरोना विरुद्धको युद्ध जित्न सेल्फ अनुशासनमा बस्नुपर्ने भन्दै आफूले त्यही गरिरहेको बताए ।

‘यो विश्व संकटको समय हो । मानवजाति र कोरोनाबीचको युद्ध जित्नका लागि सरकारको निर्देशन पालना गर्ने र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सुझाव मानेर बस्ने हो,’ केसीले भने, ‘साथै सेल्फ अनुशासनमा बस्ने हो । यस्तो अवस्थामा हिनताबोध नहुने काममा आफूलाई व्यस्त राख्नुपर्छ ।’

भिडभाडमा रमाउनेहरुलाई शुन्यतामा बस्दा कता कता अनौठो लाग्ने गरेको उनको अनुभव छ ।

रातोपाटीलाई होम क्वारेन्टाइनको आफ्नो अनुभव सुनाउँदै केसीले भने, ‘नेता कार्यकर्ताको भिडभाडमा रमाउनेहरुलाई शुन्यतामा बस्दा कता कता अनौठो लाग्दो रहेछ । कोही भेट्न आउँछन भनेर ढोका पनि बन्द नगर्न भनियो । सिधै शुन्यतामा बस्दा त्यस्तो हुँदो रहेछ ।’

मंगलबारबाट पत्रपत्रिकाका साथै किताब पढ्ने र घाम ताप्दै उनले आफ्नो दिनचर्या व्यथित गरिरहेका छन् ।

‘विहानीपख पत्रपत्रिका पढ्ने, दिउँसो घाम ताप्ने र आफन्त, इष्टमित्रसँग टेलिफोन तथा सामाजिक सञ्जालमार्फत कुराकानी गर्नेगरेको छु । फोनगर्ने साथीभाइहरुलाई जवाफ दिने गरेको छु । सम्पर्क गर्न चाहनेसँग जीवन्त सम्पर्कमा छु ।,’ केसीले आफ्नो दैनिकी सुनाए । 

कोरोनाबाट दैनिकीमा आएको फुर्सदलाई उनले लेखन कार्यमा मोडेका छन् ।

कार्यकर्तासँगको गहिरो सामिप्यता राख्ने काँग्रेसका युवा नेता प्रदीप पौडेलको दैनिकी पनि परिवारका माझ सीमित छ ।

तर पनि उनले कोरोना कहरमा सामाजिक सञ्जालमार्फत कार्यकर्तासँगै आम नागरिकसँग आफूलाई जोडिरहेको पाइन्छ ।

‘कोभिड–१९ले निम्त्याएको विश्व महामारीमा सरकारले लिएको निर्णय कार्यान्वयन गर्ने र गराउने हामी सबैको दायित्व हो,’ नेता पौडले आफ्नो पछिल्लो दैनिकीबारे भने, ‘त्यही दायित्व अनुसार म पनि घरमा परिवारसँग दिन बिताइरहेको छु । कोभिड–१९बारे सामाजिक सञ्जालमार्फत विभिन्न सूचना लिने दिने काम गरिरहेको छु । ज्ञान वृद्धिका लागि यो समयमा विभिन्न किताब पढ्दै पनि छु । परिवारसँग रमाउन पाएकाले दिन बिताउन त्यति असहज भएको छैन ।’

उनी प्रवासमा रहेका नेपाली र दैनिक ज्याला मजदुरी गरी छाक टार्नेबारे बढी चिन्तित देखिए । उनले, ‘यो विश्वव्यापी महामारी हो । यस्तो अवस्थामा देशबाहिर रहेका नेपाली नागरिकबारे सरकार सचेत हुनुपर्छ । यता ज्याला मजदुरी गरि छाक टार्ने नागरिकलाई मध्यनजर गरेर केही निर्णय लिनुपर्छ ।’

यस्तै काँग्रेसका युवा नेता नैनसिंह महरले कोभिड– १९को महामारीले दुनियाँलाई फेरि सोच्न बाध्य बनाएको बताउँछन् ।

उनले भने, ‘आर्थिकमन्दीदेखि लिएर मान्छेको जीवनमा पनि प्रभाव पार्ने भएकाले नमजा लागिरहेको छ । दुनियाँ एकातिर गएको थियो । चरम विज्ञान प्रविधिको विकास गरिरहेको दुनियाँलाई यसले फेरि सोच्न बाध्य बनाइदिएको छ ।’ 

यद्यपि रातदिन राजनीति भन्दै हिँडेकाहरुलाई यसबाट परिवार र आफैलाई बुझ्ने अवसर मिलेको उनको अनुभव छ । 

‘राजनीतिमा लाग्नेहरु दिनरात दगुरेको दगुरै, हिँडेको हिँड्यै गर्नुपरेको थियो । अहिले आएर घरको समस्या पनि थाहा भएको छ,’ उनले भने, ‘छोराछोरीको समस्या के रहेछ, श्रीमतीको समस्या के रहेछ, मेरो आफ्नै समस्या के रहेछ, आफूप्रति समाजको अपेक्षा के रहेछ भनेर नियाल्ने काम भइरहेको छ ।’

तर पहिलो पटक यसरी घरमै अलमलिनपर्दा केही छट्पटाहट भएको उनले सुनाए । नेविसंघ अध्यक्षको जिम्मेवारीबाट बाहिरिएसँगै नेता कार्यकर्तासँग तीव्रतर जोडिरहेका महरले भने, ‘पहिलो दिनमा घरमै बस्दा छट्पटाहट भयो । बाहिर नजाने आफ्नै लागि हो भन्ने मनोविज्ञान विकास गर्दै जाँदा केही सहज हुँदै गइरहेको छ ।’

योसँगै उनी विभिन्न माध्यमबाट आफ्नो नेटवर्कमा जोडिएका देश तथा विदेशका नेपालीहरुसँग निरन्तर सम्पर्कमा छन् । महरले भने, ‘१०÷१५ दिन कष्टका साथ बस्दा जीवन बाँच्छ भने त्यसमा लापरबाही नगरौँ भनेर सबैलाई भनिरहेको छु ।’

यो समय आफूले विभिन्न पुस्तक अध्ययनमा पनि बिताइरहेको उनले बताए ।

सरकारलाई सुझाव पनि
काँग्रेस नेताहरुले आफ्नो होम क्वारेन्टाइन अनुभवसँगै सरकारलाई केही सुझाव पनि दिएका छन् ।

नेता कोइरालाले सरकारलाई स्वास्थ्यकर्मीको सुरक्षाप्रति गम्भीर बन्न सुझाव दिए । अहिलेको अवस्थामा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको युद्ध लड्नसक्ने अवस्था नरहेको उनको बुझाइ छ ।

यस्तै नेता पौडलले विदेशमा रहेका नेपालीमाथि सरकारले अभिभावकीय भूमिका देखाउनुपर्ने बताए । यतिबेला मानवतावादी सोचसहितको सरकारको अवश्कता रहेको काँग्रेस नेताहरुको जोड छ ।

नेता महरले भने, ‘कोभिड– १९को महामारीबाट मानवतावादी अन्तर्राष्ट्रिय सरकारको अवश्कता महसुस भएको छ । हिजोको आफू केन्द्रित समाजले काम गरेन ।’ 

सरकारले कोभिड –१९बारे ७ वटै प्रदेशमा प्रयोगशाला तथा आइसेलेशन सेन्टरहरु संस्थापन गर्न जरुरी रहेको उनले बताए । सरकार र जनता मिल्यो भने यो समस्या हट्छ भनेर नेतृत्व तहले आश्वस्त पार्नुपर्ने उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप