केन्द्रीय संस्करण
कारोनाभाइरस

२४ घण्टामै हुन्छ कोरोनाको परीक्षण : तर, किन संघर्षरत छन् केही देशहरु ?

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

जुलिया होलिङ्सवर्थ/सीएनएन

जनवरीको पहिलो साता रहस्यमयी नयाँ शैलीको निमोनियाले चीनमा धेरै मानिसलाई बिरामी बनाएको खबर फैलियो, केही गम्भीर अवस्थामा थिए र धेरैमा फोक्सोमा समस्या देखिएको थियो ।

चीनबाट हजारौँ माइल्स परको बर्लिनमा जर्मन वैज्ञानिक अल्फेर्ट ल्यान्ड्ट पहिल्यै सचेत थिए, उनी विगत ३० वर्षदेखि सार्सलगायत आपतकालीन रोगको पहिचान गर्नका लागि सक्रिय छन् । उनी परीक्षण किट बनाएर डाक्टरलाई रोग पत्ता लगाउनका लागि सहयोग गर्न चाहन्थ्यें, त्यो पनि निकै चाँडो ।

सामान्यत भाइरोलोजिस्टहरुले परीक्षणका लागि काम सुरु गर्न नयाँ भाइरसको जेनेटिक सामाग्री ‘सिक्वेन्स्ड’ नभएसम्म प्रतिक्षा गर्छन् । तर, यसपटक ल्यान्ड्टले आफ्नो कम्पनी ‘टीआइबी मालबोइल’ मार्फत सुरुवातमै काम थाले, ९ जनवरीसम्म यस कम्पनीले सार्स र अन्य कोरोनाभाइरसलाई आधार मानेर पहिलो परीक्षण किट बनाइसकेको थियो ।

स्थानीय विश्वविद्यालय अस्पतालका युवा वैज्ञानिकसँग मिलेर उनले तीन परीक्षण किट बनाएका थिए, यसको अर्थ सिक्वेन्स प्रकाशनपछि उपयुक्त किटलाई रोज्न सकिन्थ्यों ।

११ जनवरीमा ल्यान्डट्ले आफ्ना परीक्षण किट हङकङस्थित ताइवानको रोग नियन्त्रण तथा पहिचान कम्पनी रोचेमा पठाइसकेका थिए । धेरै कुरा अनिश्चित भएकाले यसले काम गर्छ भन्नेमा उनी आफैं ढुक्क थिएनन् । तर, परीक्षण सही देखियो । १७ जनवरीमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यसका ल्यान्ड्टको प्रोटोकललाई अनलाइनमा प्रकाशित ग-यो, डब्ल्युएचओले शेयर गरेको यो पहिलो परीक्षण थियो ।

ल्यान्ड्टका अनुसार उनले ४० फेब्रअरीको अन्त्यसम्म ४० लाख परीक्षण किट उत्पादन गरिसकेका थिए । त्यसयता, प्रत्यक साता १ दशमलव ५ मिलियन । हरेक किट जसले १ सय परीक्षण गर्नसक्थ्यों, यसलाई कम्तिमा १ सय ६० युरोका दरले साउदी अरेबिया, दक्षिण अफ्रिका, अस्टे«लिया, युरोपमा बिक्री गरियो । किट प्याक गर्ने काममा उनलाई दुई छोराछोरी र श्रीमतीले सहयोग गर्छन् ।

‘म पैसाका लागि काम गरिरहेको छैन । हो म पैसा लिन्छु, तर त्यसबाट राम्रो काम गर्छु,’ उनले भने,‘ अन्त्यमा मलाई पैसा चाहिदैन ।

जब महामारी रोक्न विषय आउँछ, परीक्षण महत्त्वपूर्ण छ । यदी कोही व्यक्तिमा रोग पहिचान भयो भने उनीहरुलाई अरुबाट अलग राखेर सही उपचार गर्नुपर्छ । यसै महिनाको सुरुमा डब्ल्युएचओका डाइरेक्टर–जनरल टेड्रोस अदानोम ग्रिब्रेयसअसले भनेका थिए,‘हामीसँग सबै देशका लागि सामान्य सन्देश छ– परीक्षण, परीक्षण र परीक्षण...’

तर ल्यान्ड्टले रहस्यमयी रोगका विषयमा सुनेको तीन महिनापछि पनि विश्वका धेरै देश कोभिड–१९ को सही परीक्षण गर्न संघर्षरत छन् । केही परीक्षण गलत देखिएका छन्, अन्य परीक्षणले लामो समय लिइरहेका छन् र अहिले परीक्षण कम्पनीहरुले सामाग्रीको अभाव भएको चेतावनी दिन थालिसकेका छन् ।

यसले महत्वपूर्ण प्रश्न उठाउँछ – यदी परीक्षण यति चाडैँ हुन्छ भने किन केही देश संघर्षरत छन् ।

पहिलो डिजाइन

जनवरीमा देखिएको घटनालाई हङकङका भिरोलोजिस्ट लियो पोनले पनि नियालिरहेका थिए । ल्यान्ड्टजरी नै उनले पनि वर्षौदेखि आपतकालीन रोगबारे काम गरेका छन् । सन् २००३ मा उनीसहितका वैज्ञानिकहरुको टोलीले हङकङ विश्वविद्यालयमा सार्सको पहिचान गरेको थियो, चीनको मेनल्यान्डमा एक वर्षअघि देखापरेको यो रोग कोरोना भाइरस नै थियो । ‘हामी विगतमा पनि यस्तै घटनाक्रमबाट गुज्रिएका थियौँ, त्यसैले परीक्षण किट बनाउनु कति महत्त्वपूर्ण छ भन्ने थाहा थियो,’ उनले भने, ‘त्यसैले हामीले चाँडोभन्दा चाडों परीक्षण किट पत्ता लगाउने प्रयास ग-यौँ ।’

ल्यान्ड्टभन्दा विपरीत उनले ‘सिक्वेन्स’ हुने समय कुरे । हरेक जीवमा एक प्रकारको मोलिक्युल हुन्छ, जसले वंशाणुगत मान्यता बोक्छ । मानव र प्रायः सबै प्रजातिमा हुने वंशाणुगत गुण डिएनएले नै हामीलाई दुई खुट्टा हुर्काउन र सिधा हिँड्न भन्छ ।

हेपाटाइटिस, इबोला, रेबिजलगायत धेरै भाइरसमा डिएनएको सट्टा आरएनए वा रिबनुकेलिक एसिड हुन्छ, यो पनि डिएनएजस्तै न्युकेलिक एसिड हो, जसले वंशाणुगत गुण बोक्छ ।

मेनल्यान्ड चीन र हङकङबाहिरको सीमामा पनि वैज्ञानिकहरु नयाँ भाइरसको आरएनए पहिचान गर्न सक्रिय छन् । चिनियाँ न्युज म्यागेजिन केइक्सनमा प्रकाशित रिपोर्टअनुसार नयाँ भाइरस सार्स–कोभ–२ डिसेम्बरमा २७ तिरै ‘सिक्वेन्स्ड’ भएको हुनुपर्छ ।

तर जनवरी ११ मा मात्रै साङघाई फुडान विश्वविद्यालयका प्रोफेसर झाङ योङझेनले ‘सिक्वेन्स्ड जिनोम’ भिरोलोजिकल ओआरजी अनलाइनमा प्रकाशित गरे । चिनियाँ अधिकारीले १२ जनवरीमा सिक्वेन्स शेयर गरे ।

यो सिक्वेन्स शेयर भएपछि पोनले काम सुरु गरे ।

पहिले उनीहरुले नयाँ कोरोना भाइरसको आरएनए नियाले, त्यसपछि उनीहरुले निर्णय गरे, यो परीक्षणले सार्स कोरोना भाइरसकै आरएनएसँग मिल्दोजुल्दो कोडका पार्टस्लाई लक्षित गर्नेछ – यी पार्टस् परिवर्तन हुने संभावना निकै कम थियो किनकी यो भाइरसका लागि महत्त्वपूर्ण थियो ।

त्यसपछि उनीहरुले परीक्षण किट डिजाइन गरे ।

भाइरस पहिचान गर्ने तरिका पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधीको प्रयोग हो । १९८० मा आविस्कार भएको पिसिआर धेरै कुराका लागि प्रयोग गरिन्छ, क्राइम सिनमा शंकास्पदको डिएनए पहिचान गर्नेदेखि फलको उत्पादन भाइरसबाट संक्रमित छ कि भनेर बुझ्नसमेत ।

रिएजेन्टस् नामक केमिकलबाट पिसिआर परीक्षण तयार गरिन्छ । जसमा प्रिमियर र प्रोब्स समावेश हुन्छ ।

‘पिसिआर टेस्ट सुरु गर्नुअघि भाइरसमा रहेको आरएनएलाई डिएनए कपीमा टर्न गर्नुपर्छ । त्यसपछि प्रिमियरले जिनभित्र टार्गेट क्षेत्र खोज्छ । यदी टार्गेट जिनभेटियो भने ती क्षेत्रलाई धेरैपटक कपी गरिन्छ,’ रोचेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजीका बायोलोजी प्रोफेसर मउरिन फरानले भने  ।

डिएनएबाट जति कपी बनाइन्छ, त्यति नै पटक प्रकाश प्रवाह हुन्छ । प्रकाश पर्याप्त हुनुको संकेत भाइरस पहिचान गर्ने जेनेटिक सामाग्री त्यहाँ छ भन्ने बुझिन्छ –  यसको अर्थ ती व्यक्तिमा भाइरसको संक्रमण छ भन्ने पनि हुन्छ ।

प्रायः परीक्षण किटमा कम्तिमा दुई जेनेटिक टार्गेट हुन्छन्, परीक्षण विश्वसनीय होस् भन्नका लागि । यो निकै सानो परिमाणमा भइरहेको हुन्छ– डाइगोनोस्टिक मेसिनभित्रको टेस्ट ट्युबमा ।

डाइगोनोस्टिक मेसिनले भाइरसको स्याम्पलबाट प्रकाशको स्तर रेकर्ड गर्छ र यसलाई पोजेटिभ कन्ट्रोलसँग तुलना गर्छ ।

यदी पोजेटिभ कन्ट्रोलले ‘पोजेटिभ परीक्षण’ गरेन भने वैज्ञानिकहरुले यस परीक्षणले काम गर्दैन भने बुझ्छन् ।

याले स्कुल अफ मेडिसिनस्थित महामारीबारेका सहायक – प्रोफेसर नाथान ग्रुबागका अनुसार परीक्षण किटको विकास गाह्रो छैन । सिक्वेन्स पाएको ६ दिनभित्रै पोनले परीक्षणका लागि काम गर्न थालिसकेका थिए । ल्यान्ड्टको परीक्षण किटजस्तै पुनको परीक्षणले पनि सार्स र कोभीड १९ पत्ता लगाउँछ । पोनका अनुसार यो समस्या होइन किनकी अहिले सार्सको महामारी छैन ।

परीक्षण विकास भएको एक महिना नै पोनले सित्तैमा ४० भन्दा बढी देशमा परीक्षण किट पठाइसकेका छन् । हरेक देशले एउटै मात्र किट पाउँछ, जसको मुल्य ४ हजारदेखि ५ हजार हङकङ डलर पर्न जान्छ र यसबाट १ सय स्याम्पलपरीक्षण गर्न सकिन्छ । नेपालजस्ता केही देशले हङकङ विश्वविद्यालयमा परीक्षणका लागि स्याम्पल पठाएका छन् । 

टिआईबी मोलबियोलजस्ता कम्पनीले किटमार्फत पैसा कमाइरहेका छन् । पोन र उनको टोलीले विभिन्न परियोजनाबाट सहयोग जुटाएर सित्तैमा किट बाँडिरहेको छ । ‘हामीले आफ्नै इच्छाशक्तीका आधारमा यसलाई वितरण गरिरहेका छौँ । हामीसँग पैसा छैन र स्रोत–साधन पनि शुन्य छ,’ पोनले भने ।

अन्यले पनि सित्तैमा महत्त्वपूर्ण जानकारी बाँडिरहेका छन् । डब्ल्युएचओले आफ्नो वेबसाइटमा विभिन्न ७ प्रोटोकललाइ सुचीकृत गरेको छ– जहाँ कसरी वैज्ञानिकहरु परीक्षण किट बनाउँदैछन् भन्ने उल्लखे छ । ल्यान्डट् र पोनको परीक्षणका विषयमा पनि विस्तृतमा छ । ‘यस महामारीमा हामीले बौद्धिक सम्पत्तीको विषयमा ध्यान दिएका छैनौ,’ पोनले भने,‘हामी यस बढ्दो सक्रमणलाई नियन्त्रणमा लिन र धेरैभन्दा धेरै मानिसको ज्यान कसरी जोगाउन सकिन्छ भन्नेमै केन्द्रीत छौं ।’

नयाँ परीक्षण गर्ने वा पुरानै प्रयोग

मध्य जनवरीमा न्युजिल्यान्डको ग्रिसबोनका जोन म्याकीलाई परीक्षण किटका लागि सरकारको राष्ट्रिय ल्याबोरेटरीबाट आग्रह आयो । उनलाई कोरोना भाइरस पत्ता लगाउनका लागि सामाग्री किन्नुपर्ने आवश्यकता थियो ।

उनले ल्यान्ड्टलाई इमेल गरे । आधा घण्टाभित्रै ल्यान्ड्टले प्रतिक्रिया दिए । न्युजिल्यान्डमा किट पठाइयो र नयाँ संक्रमण पत्ता लाग्नु झन्डै एक महिनाअघि नै परीक्षणका लागि न्युजिल्यान्ड तयार भइसकेको थियो । अस्ट्रेलियामा पनि यस्तै अवस्था आयो । त्यहाँ पनि भाइरसको स्याम्पल थिएन, त्यसैले उनीहरुले पनि विदेशमा भएका परीक्षणलाई आधार माने । सिरोलोजी, भिरोलोजी र ओटिडिएस ल्याबोरेटोरीका निर्देशक विलियम रलिनसनका अनुसार अस्टे«लियामा पहिलो संक्रमण पत्ता लाग्नुअघि नै किट उपलब्ध थियो ।

अन्य देश आफ्नै ढङ्गले अघि बढे । देशको रोग नियन्त्रण महाशाखाले मेनल्यान्ड चीनमा जनवरीमा पहिलोपटक परीक्षण विकास ग¥यो, २४ जनवरीमा यस प्रोटोकललाई डब्ल्युएचओले वेवसाइटमा राख्यो ।

तर, महामारी बढेका बेला पनि फेब्रअरीको सुरुवातमा चीनमा धेरै व्यक्तिमा संक्रमणको अवस्था ‘नेगेटिभ’ देखियो, पछि उनीहरुमै अवस्था ‘पोजेटिभ’ देखियो । डाक्टरले स्याम्पल लिने अवस्था, ल्याबको अवस्थालगायत धेरै कुराले यसमा प्रभाव पार्नेे पेकिङ विश्वविद्यालय अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर डिपार्टमेन्टका प्रमुख गाओ जानचेङ बताउँछन् ।

सुरुमा चीनमा पनि पिसिआर टेस्ट किटको अभाव देखिएको थियो । जसकारण चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयले अन्य परीक्षणका लागि अनुसन्धान गर्न माग गरेको राज्य नियन्त्रित सञ्चारमाध्यम सिन्हवाले जनाएको थियो । केही व्यक्तिहरु परीक्षणका लागि कुर्न बाध्य थिए किनकी महामारीले चीनको स्वास्थ्य प्रणालीलाई नै समस्यामा पारेको थियो ।

अमेरिकामा पनि समस्या थियो । १७ जनवरी डब्ल्युएचओले ल्यान्ड्टको प्रोटोकल प्रकाशित गरेकै दिन एक अमेरिकी शीर्ष स्वास्थ्य अधिकारीले अमेरिकी रोग नियन्त्रण तथा उपचार केन्द्रले डब्ल्युएचओको प्रोटोकल प्रायेग नगरी छुट्टै परीक्षण किट बनाएको बताएका थिए । यस एजेन्सीले फेब्रुअरी ५ मा नयाँ किट ढुवानी गर्न सुरु गरिने घोषणा गरेको थियो, तर केही समयलगत्तै धेरै ल्याबहरुले परीक्षणले काम नगरेको रिपोर्ट गरे । कसरी समस्या देखियो भन्नोबारे स्पष्ट अहिलेसम्म भएको छैन । 

संसारलाई किन धेरै किट चाहिन्छ

ल्यान्ड्ट र पोनले अन्य देशलाई समय लिएर महामारीका लागि तयार हुन सहयोग गरेका छन् । तर यी दुबैसँग संसारका लागि आवश्यक परीक्षण किट बनाउने सामथ्र्य छैन । संसारलाई धेरै परीक्षण किट चाहिनुका धेरै कारण छन् । पहिलो, आफ्नो परीक्षण किटले काम गर्छै भन्ने जानकारी वैज्ञानिकलाई नै हुँदैन । जस्तो, अमेरिकामा उत्पादनका क्रममा देखिएको कमजोरीले परीक्षणमै समस्या सिर्जना भयो । यदी, संसार एउटै परीक्षण किटमा निर्भर थियो भने यसले अझै ठूलो समस्या सिर्जना गर्ने थियो ।

अर्को, भाइरस परिवर्तन पनि हुनसक्छ र यस्तो अवस्थामा एउटै किटले काम गर्न सक्दैन । जस्तो उदाहरणका लागि यदी परीक्षणले कोभीड–१९ को ‘एन’ जिनलाई लक्षित गर्छ र भाइरस परिवर्तन भइदिन्छ भने त्यो परीक्षणले भाइरसको पहिचान गर्न सक्दैन । अर्को, रलिन्सनका अनुसार एक देशमा काम गरेको परीक्षणले अर्को देशमा काम नगर्न पनि सक्छ । ‘मानौँ, यदी डेंगुको ज्वरोका कारण यस परीक्षणको रिपोर्टले काम गर्दैन भने डेङ्गुका बिरामी धेरै भएको देशमा संक्रमितको पहिचान नहुने अवस्था आउनसक्छ,’ उनले भने ।

धेरै प्रकारका परीक्षण उपलब्ध हुँदा निर्माता कम्पनी र कच्चा पदार्थ ढुवानी गर्नेमाथि पनि कम दबाब पर्छ किनकी फरक कम्पनीले फरक सामाग्री प्रयोग गर्छन् ।

अमेरिकामा स्वास्थ्कर्मीहरुले परीक्षण उपकरणको अभाव भएको बताइसकेका छन् । परीक्षण उपकरणका लागि आवश्यक पर्ने स्वाप्स, रिएजेन्स र पाइप्टिसको अभाव छ । अभावकै कारण मिन्नेसोट्टा र ओहियामा अति शंकास्पद व्यक्तिलाई समेत परीक्षण गर्न नसकिने अवस्था सिर्जना भएको छ । स्पष्ट भन्नुपर्दा पोन र ल्यान्डिट्को सुरुवाती कामले उपलब्ध गराएको तयारी अवसर धेरै देशले खेर फालिसकेका छन् । परीक्षण ढिला भइरहेको र पर्याप्त व्यक्तिमा परीक्षण गर्न नसकेको आलोचना अमेरिका र बेलायतले खेपिरहेका छन् । अमेरिकी रोग नियन्त्रण तथा जनस्वास्थ्य ल्याबका अनुसार अहिलेसम्म ७१ हजारको परीक्षण भएको छ, यद्यपी उपराष्ट्रपति माइक पेन्सले आइतबारसम्म २ लाख ५४ हजार अमेरिकीहरुको परीक्षण भइसकेको दाबी गरेका छन् । बेलायतले ७२ हजार ८ सय १८ जनाको मात्रै परीक्षण गरेको छ । अन्य देशलाई हेर्दा यो तथ्याङ्क निकै कम हो ।

थोरै जनसंख्या रहेको आइसल्यान्डले मार्च २१ सम्म ३ लाख ५० हजार जनसंख्यामध्ये ९ हजार ७ सयमा परीक्षण गरिसकेको छ । दक्षिण कोरियामा ड्राइभ–थ्रु ल्याबमार्फत तिव्र रुपमा परीक्षण गरिएको छ । अहिलेसम्म ५ करोड २० लाख जनसंख्यामध्ये ३ लाखभन्दा बढीमा परीक्षण भइसकेको छ ।

न्युजिल्यान्डमा १ सय २ जना संक्रमितमध्ये यसअघि नेगेटिभ देखिएका १ वा २ प्रतिशतमा मात्रै पोजेटिभ देखिएको छ । जबकी, अमेरिकामा यसअघि नेगेटिभ देखिएका १३ प्रतिशत अहिले पोजेटिभ देखिएको छ, बेलायतमा ५ प्रतिशतमा यस्तो छ ।

केही देशमा परीक्षण ढिलाइ हुनुको कारणबारे पोन भन्छन्, ‘यहाँ केही व्यवहारिक र अन्य प्रशासनिक कारण छन् । परीक्षणका लागि तालिमप्राप्त कर्मचारी, सही उपकरण र सही सामाग्री चाहिन्छ, यीमध्ये कुनै कुराको अभाव भएमा परीक्षण ढिला हुन्छ ।’

ल्यान्ड्टको बुझाईमा राजनीतिज्ञले लिएको कदम सन्तोषजनक छैन । फेब्रुअरीको सुरुवातमा जर्मनीमा धेरै कम व्यक्तिमा मात्रै यो संंक्रमण देखिएको थियो । तर, जर्मन सरकारले सामाजिक दूरी बढाउनेलगायत अन्य काम गर्न नसक्दा अहिले २९ हजारभन्दा बढीमा संक्रमण देखिइसकेको छ । ‘यदी तपाई अन्य व्यक्तिसँगको सम्पर्क कम गर्नुहुन्छ भने भाइरसले घुम्न पाउँदैन । एक संक्रमितले अर्को एक वा दुईलाई संक्रमित गराउँछ , यो एटम बमजस्तै हो,’ उनले भने,‘परीक्षणमार्फत हामीले संक्रमितको पहिचान गर्नसक्छौं र अन्य व्यक्तिमा रोग फैलन नदिन उनीहरुलाई अइशोलेट गर्नसक्छौं ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.