शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमात्र होइन, कोरोनाका कारण विश्वका यी देशमा पनि छ ‘लकडाउन’

बुधबार, १२ चैत २०७६, १८ : ५४
बुधबार, १२ चैत २०७६

लन्डन । नेपाल अहिले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ मा छ । सरकारले मंगलबारदेखि देशभर विभिन्न प्रतिबन्ध लागू हुनेगरी ‘लकडाउन’ घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई ‘महामारी’ घोषणा गरेसँगै विभिन्न मुलुकले यसको रोकथाम तथा नियन्त्रणका लागि हरसम्भव उपाय अपनाउन थालेका छन् ।

कुन देशमा कस्ता छन् प्रतिबन्ध ?
ग्रीसमा केही भाग ‘लकडाउन’को अवस्थामा छ । विदेशसँगको आवत–जावतमा रोक लगाइएको छ ।

यस्तै हाइटीमा कर्फुयुको अवस्था छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै मार्च १९ मा राष्ट्रिय संकटकाल घोषणा गरेसँगै सीमा नाकाहरु बन्द गरिएको छ । मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको छ भने अन्तर्राष्ट्रिय उडानमा पनि प्रतिबन्ध लगाइएको छ ।

भारत २१ दिनसम्मका लागि ‘लकडाउन’ का माध्यमबाट कोरोना संक्रमण नियन्त्रणको पहल गरिरहेको छ । भारतले अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाएको छ ।

बेलायतले पनि कोरोनाभाइरस नियन्त्रणका लागि ‘लकडाउन’कै सहारा लिइरहेको छ । त्यहाँको सरकारले मानिसलाई घरमै बस्न सुझाव दिएको छ ।

अमेरिकाले तत्काल ‘लकडाउन’ घोषणा नगरे पनि मध्यअप्रिलदेखि कोरोना नियन्त्रणका लागि उक्त ‘अप्रिय’ निर्णय लिन सक्ने जनाइएको छ । महान चाड ‘इस्टर’ अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले नै ‘लकडाउन’ नचाहेको सरकारी अधिकारीहरुको भनाइ छ । यद्यपि अमेरिकामा पछिल्ला दिनमा संक्रमण निकै वृद्धि भइसकेको छ ।

यस्तै, इटली पनि अहिले ‘लकडाउन’मै छ । कम्तीमा अप्रिल ३ सम्मका लागि यस्तो प्रतिबन्ध जारी रहने इटलीका अधिकारीहरुको भनाइ छ । कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित मुलुक बनेको इटलीमा केही दिन यता संक्रमणबाट मृत्यु हुनेको संख्या निकै बढेपछि सरकारले कठोर कदम चाल्न थालेको छ ।

थाइल्याण्डले पनि आफ्ना सीमा बन्द गर्दै नागरिकलाई घरमै बस्न निर्देशन दिएको छ भने मलेसिया पनि मार्च १८ देखि अप्रिल १४ सम्मका लागि ‘लकडाउन’ मा पुगेको छ ।   

अल्बानिया, अल्जेरिया, अंगोला लगायतका मुलुकले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् । अल्जेरियाले युरोपसँगको हवाई तथा जल यातायात बन्द गरेको छ । अंगोलाले हवाई, स्थल तथा सामुद्रिक सीमाहरु बन्द गरेको छ ।

यस्तै, अर्जेन्टिनाले मार्च १५ देखि सीमा बन्द गरेको छ भने गैरआवासीय नागरिकलाई स्वदेश प्रवेशमा रोक लगाएको छ । मार्च १६ देखि उसले अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द गरेको छ ।
अर्मेनियाले मार्च २२ देखि सपिङ मल, पसलहरु तथा भीडभाड हुने क्षेत्र बन्द गरिदिएको छ ।

अस्ट्रेलियामा पनि हिँडडुल तथा जमघटमा प्रतिबन्ध लागेको छ । मानिसहरुलाई यात्रामा प्रतिबन्ध लगाइएको छ भने विदेशबाट आउने जो कोहीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न थालिएको छ । यस अतिरिक्त क्रुज शिपमाथि प्रतिबन्ध लगाइएको छ ।

यस्तै, अस्ट्रियाले हङ्गेरी, चेक रिपब्लिक, जर्मनी, स्विटजरल्याण्डसँगको सीमा बन्द गरिदिएको छ । विदेशबाट आउने नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम लगाइएको छ ।
बहराइनले ‘अन अराइभल’ भिसा बन्द गरेको छ भने मार्च १८ देखि अन्तर्राष्ट्रिय उडानमा कटौती गरेको छ ।

बंगलादेशले युरोपेली मुलुकसँगको अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । बोलिभियाले युरोपेली मुलुकबाट आउने यात्रुलाई रोकेको छ भने सीमा नाकामा कडाइ गर्न थालेको छ ।

ब्राजिल र बुल्गेरियाले स्थलमार्ग अन्तर्गत विभिन्न मुलुकसँग जोडिएका आफ्ना सीमा नाकाबाट विदेशी नागरिकको आगमन रोकेका छन् ।

कम्बोडियामा इटली, जर्मनी, स्पेन, फ्रान्स, इरान लगायतका मुलुकबाट आउने यात्रीलाई प्रवेश निषेध गरिएको छ । क्यामरुनले जल, स्थल तथा हवाईमाध्यमबाट विभिन्न मुलुकबाट आउने यात्रीलाई आफ्नो मुलुक प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

यस्तै, चिली र क्यानाडाले विभिन्न मुलुकबाट आउने यात्रीका लागि रोक लगाएका छन् । कोस्टारिका, कङ्गो र कोलम्बियाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप