शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाको महाव्याधि : महासंकट मात्रै हैन, गुरु पनि परीक्षा पनि

‘झुप्रोमा आगो लागिसकेपछि कुवा खन्न थालेर के हुन्छ ? जे गर्न सकिन्छ समयमै गर्न सकिए राम्रो हुन्छ ।’
बुधबार, १२ चैत २०७६, १८ : ४६
बुधबार, १२ चैत २०७६

अहिले विश्वमा कोरोनाको महामारी छ । समाचारमा संन्जालमा जताततै यसकै कुरा छन् । नेपालमै पनि शङ्ंका र सन्त्रास फैलिएको छ ।

जनता चिन्तामा छन् । समस्याप्रति चिन्तित हुनु नै पनि एक किसिमले नेतृत्व लिनु नै हो । यसै त सङ्ंकटका समय मित्रदेश, देश, समाज, परिवार र व्यक्ति सवैका विचार र व्यवहारको पहिचान हुन्छ । यो पहिचान नै एउटा बिम्ब हो, तश्वीर हो । भविष्यका लागि पथनिर्देशक गुरु पनि हो । हामीसँग आज विभिन्न तश्वीरहरु उपस्थित छन् ।

सरकारले कति कति गर्नुपर्थ्यो, कति गर्‍यो, कति गरेन ? हिसाव त छ तर सङ्ंकटका बेला सरकारलाई गाली गर्नुको पनि अर्थ छैन । सरकारमा राजनीतिका नेता कार्यकर्ताहरु छन् । कर्मचारीहरु छन् । कतैबाट पैसा पाइएला कि भन्ने आशामा झुण्डिनेहरु छन् । विकृति विसङ्ंगति कमिसन एवम् भ्रष्टाचारको संस्कृतिले विचार विवेकमा खिया लागेकाहरु छन् । यिनै यस्तै कारणले गर्दा सरकारको मुखले बोले पनि शरीरले  उर्जा उत्पादन गर्न सकेको छैन । समस्या यो पनि छ । यसैले पनि सरकारलाई गाली गर्नुको खास अर्थ छैन । कुनै कुरा गह्नाउँछ भन्ने थाहा भइसकेपछि कोट्याइरहनुको अर्थ छैन । कहिले त भन्न मन लाग्छ यो बिचरो सरकारले जति गर्‍यो, जति गर्दैछ, यति पनि धन्य छ ।


सरकारले कति कति गर्नुपर्थ्यो, कति गर्‍यो, कति गरेन ? हिसाव त छ तर सङ्ंकटका बेला सरकारलाई गाली गर्नुको पनि अर्थ छैन ।


छिमेकी चीन सरकारले जनतालाई साथै लिएर महामारीसँग सामना गर्दा छिट्टै विजय पायो । हिजो चीनलाई जथाभावी गाली गर्नेहरु आज महामारीको सामनामा त्यसै गतिमा विजयी हुन सकिरहेका छैनन् । समस्याबाट भर्खर पार पाएको चीनले नेपाललाई अपेक्षित सहयोग दिने प्रस्ताव राख्न समेत भ्याइसकेको छ । यो चानचुने कुरा होइन ।

आपत् विपतको वेला मित्रको परीक्षा हुन्छ । आफन्त जनहरुको परीक्षा हुन्छ । बन्धुबान्धवको परीक्षा हुन्छ । आफ्नै बुद्धि र धैर्यको पनि परीक्षा हुन्छ । आज हामी चौतर्फी परीक्षाको घडीमा छौं ।

अहिले सङ्कटका वेला हाम्रा जनप्रतिनिधिहरु के गर्दैछन् ? आफ्नो सुविधा काटेर जनताका समस्या समाधान गरौं भन्दैछन् कि आफ्नै तलव सुविधा बढाउँ भन्दैछन् ? घर घर पुगेर जनतालाई साथ सहयोग र हौसला दिँदैछन् कि आफ्नै विलास वैभवमा तल्लीन छन् ? अनि महामारीको सन्त्रास फैलिएको यस सङ्कटका बेला हाम्र मुलुकका प्राइभेट हस्पिटलहरु जनताका सेवा सहयोगका लागि कति अग्रसर देखिएका छन् ? व्यापारीहरु मौका छोपेर कालोबजारी गर्दैछन् कि जनताका लागि आफ्नो बुता बर्गले भ्याएसम्म सेवा सुविधा जुटाउन अघि सरेकाछन् ? हामीले यी सबै श्रव्यदृश्यहरु हेर्नुपर्छ । यही तश्वीर हो । यही परीक्षा हो ।

सरकार मनपरे पनि, मन नपरेपनि, राम्रो वा नराम्रो जे भए पनि असजिलो पर्दा सहयोगको आशा राख्नु जनताको बाध्यता पनि हो । जाडो आएपछि मन परे पनि नपरे पनि आगो तापिन्छ । स्वेटर, बक्खु जे पाइन्छ ओढिन्छ । जनताको ढुकुटी सरकारसँगै छ भने महामारीका समय जनताले सरकारसँग सरसहयोगको अपेक्षा गर्नु स्वाभाविकै पनि हो । महामारीको सामना गर्ने कुरामा सरकारले ढिलाइ नगरोस् । छिटो निर्णय गरोस् र छिटो कार्यान्वयन पनि गरोस् भन्ने जनताको तीव्र चाहना छ ।


भारतसँगको खुला सिमाना नेपालको दुर्भाग्य हो । यो कुरा अहिले आएर थप प्रमाणित भएको छ । नेपाललाई महामारीको सन्त्रास पनि त्यही खुला सिमानाबाट मानिसहरु ओइरिनुमा बढी छ । नेपालले देखेर बुझेर पनि सीमामा महामारी पहिचान र नियन्त्रणका उपायहरु गर्न सकिरहेको देखिँदैन ।


सरकार कति कुरा चाहेर गर्छ । कति कुरा देखाउन मात्र गर्छ । अरुलाई आदेश दिन्छ । निर्देशन दिन्छ । आफै पालन गर्दैन । सरकारको यो शैली नयाँ होइन । यस्ता शैली र व्यवहारको आलोचना गर्नुको पनि अहिले कुनै तुक छैन । सरकार आलोचना सुन्दैन । सुनेछ भने पनि रिसाउन सक्छ । आफूलाई सुधार्न सक्दैन । सरकार कति कुरामा ‘विचार’ गर्छ । ‘गम्भीर’ हुन्छ । समाधान निकालेर कार्यान्वयन गर्ने कुरामा सिन्को भाँच्दैन । यो त हाम्रो सत्तामा आउने जानेहरुको कहिल्यै निको हुन नसकेको पुरानै रोग हो ।

भारतसँगको खुला सिमाना नेपालको दुर्भाग्य हो । यो कुरा अहिले आएर थप प्रमाणित भएको छ । नेपाललाई महामारीको सन्त्रास पनि त्यही खुला सिमानाबाट मानिसहरु ओइरिनुमा बढी छ । नेपालले देखेर बुझेर पनि सीमामा महामारी पहिचान र नियन्त्रणका उपायहरु गर्न सकिरहेको देखिँदैन । भारत सरकार नेपालबाट भारत पस्नेहरुको परीक्षण गर्छ भारतबाट नेपाल पस्नेहरुलाई त्यसै छोडिदिन्छ । यसरी महामारीका समय पनि सीमा क्षेत्रमा मित्र राष्ट भारतले मित्रताको निरन्तर परीक्षा दिइरहेको छ । हाम्रो सरकार मोदीजीको भाषणमै लट्ठ छ । यो पनि परीक्षाकै कुरा हो । नेपालीमा एउटा उखान छ ‘झुप्रोमा आगो लागिसकेपछि कुवा खन्न थालेर के हुन्छ ? जे गर्न सकिन्छ समयमै गर्न सकिए राम्रो हुन्छ ।’ हैन र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप