शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषाका डाक्टर त्रासमा

बुधबार, १२ चैत २०७६, १८ : १३
बुधबार, १२ चैत २०७६

जनकपुर । प्रदेश २ सरकारले आवश्यक सामग्रीको उचित व्यवस्थापन नगर्दा स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरिरहेका छन् । बिरामीको चाप रहने जनकपुर अस्पतालका चिकित्सकहरुले पिपीई, मास्क, चश्मा लगायतका उपकरण बिना नै बिरामीको चेकजाँच गरिरहेका छन् । कोरोना भाइरस संक्रमण चेकजाँचका लागि आवश्यक उपकरणको अभाव र अस्पतालमा विभिन्न किसिमका विरामीहरु आउने जाने गरेकाले संक्रमित वा शंशकित व्यक्तिको चेकजाँच गर्नु अति नै त्रास र जोखिम रहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुप्रिन्टेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादवले बताए । यादवले इमर्जेन्सी सेवा बाहेकका सबै सेवा तत्कालका लागि बन्द गरिएको समेत जानकारी दिए । 

कोरोना संक्रमणको शंशकित बिरामी आउने गरेपनि चेकजाँचका लागि खटिएका चिकित्सकहरुलाई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) पिपीई लगायतका सुविधा उपलब्ध हुन नसकेको यादवले बताए ।
अस्पतालमा आइसोलेशन कक्ष बनाइए पनि त्यहाँ बेडको व्यवस्था अहिलेसम्म भएको छैन ।

अस्पतालमा कोरोना संक्रमण पाइएको अवस्थामा बिरामीको उपचार गर्न भेन्टिलेटरको व्यवस्था समेत  हुन सकेको छैन् । ‘हालसम्म प्रदेश नम्बर २ मा कोरोना संक्रमित फेला परेको छैन,’ डा.यादवले भने, ‘बिरामी उपचार गर्न भेन्टिलेटर आवश्यक छ, यसको व्यवस्था हुनमा अझै केहि समय लाग्नेछ । यसको आन्तरिक तयारीमा हामी जुटेका छौँ ।’

उनले यसको व्यवस्थापनका लागि प्रदेश सरकारका भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनल र सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायत प्रादेशिक अस्पताल र सरोकारवालाहरुको वैठक भइरहेको जानकारी दिए । कोरोना भाइरस संक्रमणको चेकजाँच र रोकथामका लागि चाहिने आवश्यक उपकरणहरु उपलब्ध गराई ल्याउनका लागि छलफल भइरहेको उनले स्पष्ट पारे । उनका अनुसार  संक्रमणबाट बच्नका लागि चाहिने आवश्यक उपकरणहरु नेपालमा पाउन समस्या भइरहेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत विजयकुमार झाले वीरगंजदेखि सप्तरीसम्म करिब २ सय ५० बेडको क्वारेन्टाइनको व्यवस्था भइसकेको जानकारी दिए । क्वारेन्टाइनको समस्या नरहेपनि आवश्यक उपकरणको अभाव भने रहेकोले आफूहरुलाई समस्या भइरहेको सूचना अधिकृत डा. झा बताए ।

स्वास्थ्यकर्मी नै त्रास र जोखिममा रहेको बेला बिरामीको उपचार गर्न कठिन हुनसक्ने तथ्यलाई बुझेर आवश्यक सामग्री जुटाउन आफूहरु लागि परेको सूचना अधिकृत डा.झाले बताए । प्रदेश नम्बर २ सँग जोडिएको बिहारको पटनामा दुई जना कोरोना भाइरस संक्रमितको ज्यान गएपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

डाक्टर र नर्सविना क्वारेन्टाइन स्थापना

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा रहेको मिथिला आयूर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा क्वारेन्टाइनका लागि स्थापना गरिएको छ । तर त्यहाँ न त डाक्टर छन्, न त नर्स रहने व्यवस्था गरिएको छ । मंगलबार बेलुकादेखि सरसफाई गरेर बेडहरुलाई व्यवस्थित गरिएपनि अहिलेसम्म कुनै सरोकारवालाकमे उपस्थिति देखिदैन ।

कलेजको रेखदेख गर्दै आएका स्थानीय रोहित झाले नेपाली सेनाले दु्रतरुपमा सरसफाई गरेर १९ वटा कोठामा बेडहरु व्यवस्थापन गरिएको जानकारी दिए । तर हालसम्म पनि कुनैपनि डाक्टर यहाँ नआएको उनले बताए । नेपाली सेनाको एक टोलीले बन्द रहेको मिथिला आयूर्वेद कलेज तथा अनुसन्धान केन्द्रको ४५ कोठा रहेका भवनको १९ वटा कोठालाई सरसफाई तथा खाली गरि क्वारेन्टाइन स्थापना गरिएको छ । मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रको कोरेन्टाइनमा कतारबाट आएका सिरहा जिल्लाका एक जनालाइ बुधबार दिउसोदेखि भर्ना गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप