शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि एयर डाइनेष्टिको हेलिकप्टर आकाशमा

बुधबार, १२ चैत २०७६, १४ : ३४
बुधबार, १२ चैत २०७६

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण मुलुक ठप्प छ । मानिसहरु घरभित्रै बसेका छन् भने, सडक चोक, गल्ली, हाट बजार सबै सुनसान छ । 

सरकारले गत सोमबार चैत ११ गते देखि १८ गतेसम्म एक हप्ताका लागि मुलुक लकडाउन गर्ने निर्यण गरेसँगै सबै अन्तर्राष्ट्रिय हवाई उडानदेखि आन्तरिक उडान र यातायात सेवाहरु पूर्णरुपमा बन्द छन् ।

अत्यावश्यक दैनिक उपभोग्यवस्तु तथा फोहोर–मैला व्यवस्थापनका साधनहरु ट्याङ्कर, दुध बोक्ने, फोहोर बोक्ने गाडी र एम्बुलेन्स बाहेकका अन्य सवारी साधानहरु चलेका छैनन् । 

लकडाउनका कारण हवाई सेवादेखि आन्तरिक यातायात सेवाहरु समेत पूर्णतः प्रभावित भएको अवस्थामा एयर डाइनेष्टिको हेलिकप्टर भने आकासमा देखिएको छ । 

तर, एयर डाइनेष्टिले लकडाउनको अवेज्ञा गरेको भने होइन । एयर डाइनेष्टिले हिमाली क्षेत्रमा गएका पर्यटकको उद्धार गर्न उडान भरेको हो । हाई रेस्क्युमा परेका विदेशी पर्यटकको उद्धारमा डाइनेष्टिका दुई वटा हेलिकप्टर परिचालन भएका छन् ।

बुधबार बिहान मात्र एयर डाइनेष्टिको एउटा हेलिकप्टरले लुक्लाबाट चार जना रसियनलाई उद्धार गरी काठमाडौं ल्याएको छ । गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय र नागरिक उड्यन प्राधिकरणको समन्वयनमा उक्त चार विदेशी नागरिकहरुलाई उद्धार गरी काठमाडौं ल्याएको एयर डाइनेष्टिका अप्रेसन म्यानेजर बालकृष्ण पण्डितले जानकारी दिए । उक्त हेलिकप्टर गत चैत्र १० गते काठमाडौंबाट लुक्ला उडेको थियो ।

एयर डाइनेष्टिकै अर्को एक हेलिकप्टर पनि रेस्क्यु उडान गर्दैछ । गृह प्रशासन र उड्यन प्राधिकरणकै स्वीकृतिमा डाइनेष्टिको एयरबसले डोल्पाबाट ३ जना फ्रान्सेली नागरिकहरुलाई काठमाडौं ल्याउँदै छ । आजै उक्त हेलिकप्टर काठमाडौं आइपुग्ने म्यानेजर पण्डितले जानकारी दिएका छन् ।

रेस्क्यु फ्लाइट गर्ने तर चार्टर नगर्ने
पूर्णतः मुलुक लकडाउनको अवस्थामा एयर डाइनेष्टिले हाई रेस्क्युको केसमा उडान भर्ने तर चार्टर नगर्ने म्यानेजर पण्डितले रातोपाटीलाई बताए । ठूलो मात्रामा हेलिकप्टर चार्टरको डिमाण्ड भएपनि कम्पनीले आवश्यकता अनुसार रेस्क्यु उडान मात्र भर्ने बताए ।

‘देश पूर्णतः लकडाउनको अवस्थामा पनि हवाई उडानमा हेलिकप्टरको डिमाण्ड बढी छ । हिजो मात्र जर्मन एम्बेसीले १२–१५ जनाको लागि हेलिकप्टर चार्टरको माग गरेको थियो । तर हामीले लिगेनौं ।’ म्यानेजर पण्डिले भने,‘हामीले आवश्यकता र उच्च जोखिमताका आधारमा हाई रेस्क्युमा फसेकाहरुको मात्र उद्धार गर्ने नीति बनाएका छौं । त्यो पनि गृह, जिल्ला प्रशासन र नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा ।’

पण्डितका अनुसार अहिले रेस्क्युका लागि हेलिकप्टरको माग पनि बढिरहेको छ । सोलुखुम्बुमा मात्र तत्काल तीन उडान भर्नुपर्ने छ । गोरक्ष, नाम्चे र कोचेमा गरी तीन क्षेत्रमा रेस्क्यु उडानको माग आएको छ ।
गोरक्षमा एक जापानी, नाम्चेमा एक क्यानेडियन र कोचेमा एक ब्रिटिस नागरिक अलपत्र परेका छन् । यी विदेशी नागरिकहरुको उद्धारमा अहिले कम्पनीले गृहमन्त्रालय, जिल्ला प्रशासन र नागरिक उड्न प्राधिकरणसँग अनुमती माग गरिरहेको छ ।

एयर डाइनेष्टिका दुई वटा हेलिकप्टर बाहेक अन्य कुनै पनि हवाई जहाजहरु अहिले सञ्चालनमा नरहेको त्रिभुवन विमान स्थल(टीआईए)का महाप्रवन्धक देबेन्द्र केसीले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप