शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको शंका लागेमा तुरुन्त फोन गर्नुस् : जाँच तथा परामर्शका लागि यसरी गर्न सकिन्छ सम्पर्क

बुधबार, १२ चैत २०७६, १३ : ५१
बुधबार, १२ चैत २०७६

सरकारले  नेपालभर लकडाउन गरेको छ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिनका लागि मंगलबारदेखि सरकारले लकडाउन गरेको हो ।

लकडाउनको अवस्थामा के तपाईंलाई कोरोनाभाइरस (कोभिड १९) को लक्षण देखापरेको छ ? जस्तैः ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या भएर कुन अस्पतालमा जाँच तथा उपचार गर्ने भनेर अन्योलमा हुनुहुन्छ ?

अब कोरोनाभाइरसको जाँच तथा उपचार कहाँ गर्ने भनेर अन्योलमा बसिरहनु पर्दैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका चार सरकारी अस्पतालमा यसको जाँच पड्ताल हुन्छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाभाइरस संक्रमण भएको आशंका लागेका बिरामीलाई जाँच गरिन्छ ।

सरकारले तोकेकाबाहेक अन्य निजी सरकारी अस्पतालहरुमा कोरोनाभाइरस संक्रमणको आशंका लागेमा जान सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट फैलिएको कोरोनाभाइरसको संक्रमणले हाल विश्वभर महामारीको रुप लिएको छ । नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । अहिले मौसमी फ्लुको समय पनि हो । मौसमी फ्लु र कोरोनाभाइरसको केही लक्षण समान हुने हुँदा पनि मानिसहरुमा कोरोनाभाइरस हो कि मौसमी फ्लु भनेर पत्ता लगाउन कठिन हुन्छ । त्यसैले त्यस्तो अवस्थामा हेलचक्र्याइ नगरी अस्पताल जान स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा सुझाव दिन्छन् ।

कोरोनाभाइरसको आशंका लागेका बिरामीलाई निजी अस्पतालले लिन नमानेको गुनासो पनि आइरहेको छ । कोरोनाको शंका लागेर अस्पताल पुग्ने बिरामीलाई निजी अस्पतालहरुले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरेको अस्पतालका एक डाक्टरले बताए । निजी अस्पताललाई कोरोनाभाइरसको आशंकामा आएका बिरामीलाई राख्ने तथा उपचार गर्नुका साथै कोरोनाको आशंका लागेमा नमुना परीक्षण गर्नका लागि टेकु अस्पतालमा पठाउने भनिए पनि नीजि अस्पतालहरुले बिरामीलाई नै सिधै टेकुमा पठाउने गरेको उनले बताए । निजी अस्पतालहरुले सरकारलाई सहयोग गर्न तयार छौं भने पनि व्यवहारमा त्यो नदेखिएको उनको भनाइ छ ।

निजी अस्पतालले असहयोग गर्दा समस्या आउन सक्नेसमेत उनले बताए । तर मंगलबार मन्त्रालयमा बसेको बैठकमा निजी अस्पतालहरुले रुघाखोकी, ज्वरो लगायतका लक्षण देखा परेर अस्पताल आएका बिरामीलाई अस्पताल राख्ने तथा जाँच पड्तालमा सहयोग गर्ने प्रतिवद्धता जनाएको स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता सागर दाहालले बताए ।  नेपालमा हाल एक जना महिलालाई कोरोनाभाइरसको संक्रमण देखा परेको छ ।

उपत्यकालगायत देशभरबाट कोरोनाभाइरस संक्रमण भए–नभएको पत्ता लगाउन टेकुस्थित  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले तोकेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र कीर्तिपुर अस्पतालमा  कोरोनाभाइरसको शंका लागेर आएका बिरामीको उपचार तथा जाँच पड्ताललाई प्राथमिकता दिएको कारण अन्य रोगका बिरामीलाई उपचार तथा जाँच गर्न अन्य  अस्पतालमा जान भनिएको छ ।

विगतदेखि ती अस्पतालहरुमा नियमित रुप जाँच तथा उपचार गरिरहेका केही बिरामीलाई अन्य अस्पतालमा पठाइएको चिकित्सकहरुको भनाइ छ ।

टिचिङ अस्पतालमा कोरोना टेलीहेल्थ सेन्टर

त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालले भने लकडाउनको समय अर्थात मंगलबार कोरोना टेलीहेल्थ सेन्टर सञ्चालनमा ल्याएको छ ।

कोरोनाभाइरसको लक्षण देखा परेका तथा आंशका लागेका बिरामीले अस्पतालको स्वास्थ्य विभागका २० वटा नम्बरमा फोन गरेर परामर्श लिन तथा परामर्शको आधारमा उपचार गर्न अस्पताल बोलाउने वा अन्य अस्पतालमा पठाउन सकिने अस्पतालका युरोलोजिष्ट डाक्टर प्रेम ज्ञवालीले बताए ।

(टिचिङ अस्पतालको डाक्टरको नम्बर)

६० वर्ष माथिकाले कोरोनाको शंका लागे तत्काल जाँच गर्नुपर्छ

६० वर्षभन्दा माथिका वृद्धवृद्धामा रुघा, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या देखिएर कोरोनाको शंका लागेमा नमुना परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार  कोरोनाभाइरसको  लक्षण देखा परेमा तत्काल नमुना परीक्षण गर्ने  व्यवस्था गरिएको छ ।

दीर्घ रोगीहरुमा श्वासप्रश्वासको समस्या, ज्वरो, सुख्खा खोकी लागेमा नमुना परीक्षण गर्नुपर्ने उनी बताउँछन् ।

कोभिड–१९ अर्थात कोरोनाका बारेमा आवश्यक सल्लाहका लागि निम्न नम्बरहरुमा फोन गर्न सकिने छ ।

१११५

४२५३३९६

९८५१२५५८३९

९८५१२५५८३७

९८५१२५५८३४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप