बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको करामतः साना किसानलाई ठूलो नोक्सानीको पीडा

बुधबार, १२ चैत २०७६, १३ : ०२
बुधबार, १२ चैत २०७६

भक्तपुर । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजारको नजिक पुगेको छ । नेपालमा कोरोनाभाइरसको संकटले निम्त्याएको विश्वव्यापी प्रतिकूल परिस्थितिका कारण आर्थिक मन्दी हुने देखिएको छ । शहर केन्द्रित जनसंख्या गाउँ फर्किएको अवस्था र शहरलाई नै आधार मानेर गरिएको व्यापार र व्यवसायमा संकट देखिएको हो ।

पछिल्लो केही दिन यता भएको लकडाउनको अवस्थाले गर्दा भक्तपुरमा पशुपालन गर्दै आएका साना किसानहरुलाई ठूलो नोक्सानी हुन थालेकाले चिन्तित बनेका छन् । काभ्रे मण्डनदेउपुर नगरपालिका मेसागाउँबाट भक्तपुरको कमलविनायक पाइपलाइनमा पुशपालन गर्दै आएका कालीबहादुर तिम्सिना दैनिक उत्पादन हुने दुध बिक्रि गर्न कहाँ जाने समस्या भएको छ ।

रातोपाटीसंग कुरा गर्दै तिम्सिना भने ‘भोलिबाट डेरीले दुध नल्याउनु भनेको छ, ५० लिटर दुध कहाँ लाने ?’ ४ गाई र ४ वटा भैँसीबाट उनले दैनिक ५० लिटर दुध उत्पादन गर्दै आइरहेका छन् । दैनिक २ हजार ५ सयदेखि ३ हजारसम्म दुधबाट मात्र नोक्सान हुने उनले बताए ।

‘गाई भैसीलाई पराल, पिना, दाना, पिठो र आफ्नो श्रमको त हिसाब नै छैन, दोहोरो नोक्सान हुन्छ,’ तिम्सिनाले भने । विश्वमा सकट फैलिएरहेको वर्तमान अवस्थामा साना लगानी गरेर पशुपालन र तरकारी खेती गर्ने किसानको पीडा आफ्नै छ ।

सहकारीबाट ऋण लिएर गाई भैँसी किन्न ४० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म लगानी गर्ने किसानलाई उत्पादन भएको दुध, तरकारीको बजारमा खपत कम हुँदा आर्थिक भार थपिएको छ । कालिबहादुर जस्तै, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाबाट खरिपाटी बासबारीमा आएर गाई र भैँसीपालन गर्दै आएका भिससेन खतिवडाको पीडा पनि उस्तै छ ।

पशुपालनबाट आएको आम्दनीले छोराछोरीलाई पढाउदै आएका खतिवडालाई दुध लिने साहुले बजारमा बिक्न छोड्काले नल्याउनु भन्दै फोन गरे । ‘घरमा भएको २०/२५ लिटर दुध खाएर सकिदैंन, त्यसैले नजिकै भएका आफ्न्तलाई फोन गरेर दुध लिन बोलाए,’ खतिवडाले भने ।

खतिवडा र तिम्सिनाको जस्तै नोक्सानीको पीडा रामकुमार भण्डारी, भैरब घोरासैनी, भागरिथी अधिकारीलगायत धेरै पशुपालक किसानलाई परेको देखिन्छ । भक्तपुर जिल्लाका ताथली, सुडाल, खरिपाटी, कमलविनाय, दुवाकोटलगायतका स्थानमा बाहिरी जिल्लाबाट आएका पशुपालन र तरकारी खेती गर्ने किसानहरुको सङ्ख्या उल्लेख छ ।

प्रति रोपनीको हिसाब गरेर जग्गा भाडा, टहरो बनाउन खर्च, पशुकिन्न लाखौं लगानी गरेका किसान यति बेला समस्यामा परेका छन् । जिल्लाभित्रकै काठ वरपरका किसानहरुको पीडापनि उस्तै छ । कोरोनाको त्रासले धेरै शहरबासी गाउँ गएपछि बजारमा माग कमी भएकाले दुध लिन नसकिने व्यवसायीहरुको भनाई छ ।

कच्चा दुधबाट दही, मोही, नौनी, पनिर, चीज बनाएर बिक्री गर्न सकिने भएपनि आवश्यक सामाग्री नहुँदा साना किसानसँग त्यो विकल्पसमेत छैन । अर्को तर्फ विभिन्न बहानामा पिना, दाना, पिठो मूल्य निरन्तर वृद्धि हुदाँ अर्को भार किसानमाथि थपिएको छ । त्यसलै राज्यले यस्ता साना तथा मझौला किसानहरुको पीडालाई सम्बोधन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप