बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इन्जिनियर दम्पत्तिद्वारा दैनिक ज्याला मजदुरी गर्ने ५० परिवारलाई ६ हजारका दरले सहयोग गर्ने घोषणा

मङ्गलबार, ११ चैत २०७६, १७ : ४६
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर १० स्थायी घर भइ हाल वुद्धनगर काठमाडौंमा बस्ने इन्जिनियर दम्पत्ति मंगलाल श्रेष्ठ र रुक्मिणी श्रेष्ठले अति विपन्न ५० परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । 

कोरोना भाइरसको कारण मुलुक नै लकडाउनमा गएपछि दैनिक ज्याला मजदुरी गरेर जीवन धान्नेहरुलाई कठिन हुने देखिएपछि उनीहरुलाई दैनिक चलाउन सहयोग परोस् भन्ने उद्देश्यले जनही ६ हजारका दरले सहयोग गर्ने घोषणा गरेका हुन् । 

काठमाडौंमा सामान्य चामलको खाना र दाल वा गेडागुडी खाँदा एउटा सानो परिवारलाई दैनिक २ सय रुपैयाँले पुग्ने भन्दै मंगलालले एक महिनालाई पुग्ने गरी प्रति परिवार ६ हजारका दरले ५० परिवारलाई कुल ३ लाख रुपैयाँ सहयोग गर्न लागेको उनले बताए । 

काठमााडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरे बाँच्नेहरुले काम नपाउने र गाँस बासकै समस्या हुने स्थिति आएको भन्दै उनले उक्त सहयोग गर्न लागेको रातोपाटीलाई बताए । 
पेशाले सिभिल इञ्जिनियर रहेका मंगलालले फेसबुकमार्फत् आफूले उक्त सहयोग गर्ने घोषणा पनि गरेका छन् । 

तर सहयोग लिन भने जुन घर वा टहरामा बसेको हो, उक्त घरको घरबेटीको मौखिक सिफारिस र फोन नम्बर आवश्यक हुने उनले बताए । घरबेटीले सिफारिस गरेको व्यक्तिलाई मात्रै उक्त सहयोग जाने र एउटै परिवारले दोहोरो सहयोग नपाउने पनि उनले बताए । 

सहयोग गर्नका लागि दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति नै किन छान्नुभयो भन्ने रातोपाटीको प्रश्नमा उनले यस्तो बताए– 

‘म शनिवार इन्द्रचोक असन हुँदै भोटाहिटी आउँदै थिएँ । बाटोमा हातमा नाम्लो बोकेर बसेका धेरै भरियाहरु देखें । तीमध्ये मैले एकजना भरियालाई घर कहाँ हो भनेर पनि सोधें । उनले रामेछाप भएको बताए । असन, इन्द्रचोक एरियामा उनीजस्तै २५–३० जना भरियाहरु थिए । उनीहरुमध्ये कोही पुर्परोमा हात लगाएर बसेका थिए त कोही बाटोमै निदाइरहेका थिए । 
बेलुका फर्कने क्रममा ती भरियाहरुले आज काम नै पाइएन बेलुका के खाने होला ? आज भोकै हुने भइयो भनेको पनि सुनें । उनीहरुले पटक्कै काम पाएका रहेनछन् ।
त्यहीँबाट फर्कने क्रममा भोटाहिटीमा एकजना दिदीले भोटाहिटीमा नाङ्लोमा सामान बेचिरहेको देखें । व्यापार कति भयो भन्दा १० रुपैयाँको भन्दै आज भोकै पर्ने भइयो भनिन् । मलाई त्यहाँ पनि नमज्जा लाग्यो । दैनिकी ज्याला मजदुरी गर्नेको जीवन त भयावह नै हुने भयो भन्ने लाग्यो । 
बेलुका घर आएर टिभी हेरें, टिभीमा मानिसहरु बसपार्कमा लाइन लागेको तर बस नपाएको समाचार देखें । मैले सबैभन्दा पहिले दुई वटा बस रिजर्भ गरेर पूर्व र पश्चिम पठाउने सोच गरें । घर जान नपाएकाहरुलाई सित्तमै घर पठाइदिने र त्यसको भाडा आफूले तिर्ने सोच बनाएँ । मैले त्यसपछि बस व्यवसायी समितिका मानिसहरुलाई पनि सम्पर्क गरें । तर मैले उपत्यका बाहिर बस पठाउन सकिनँ । बस नै पाइएन । 
त्यसपछि आइतबार पनि बाहिर निस्कँदा भरिया, नाङ्लोमा सामान बेच्नेहरुको दैनिकी देखें । काम नपाएर भोकै बस्नुपर्ने अवस्था आएको बारे सुनेँ । र मैले मेरी श्रीमती रुक्मिणीसँग कुरा गरें कि उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर । श्रीमतीले दैनिक मजदुरी गर्नेहरुलाई सहयोग गरौं भनिन् । त्यसपछि मैले सस्तो खानाको हिसाब निकाले र अति विपन्न र दैनिक ज्याला मजदुरी गरेर बस्नेहरुलाई एक परिवारलाई ६ हजारका दरले ५० परिवारलाई सहयोग गर्ने निधौं गर्यौँ । त्यसपछि नै मैले फेसबुकमा उक्त कुरा पोष्ट गरें । र, म अब ५० परिवारलाई ६ हजारका दरले कुल ३ लाख सहयोग गर्न लागेको छु ।’

मंगलालका अनुसार उनलाई मंगलबार अपरान्ह ४ बजेसम्म २ सय १४ जनाको फोन आएको छ । यद्यपि उनले ती व्यक्तिहरु अति विपन्न हुन् कि होइनन् र उनीहरु दैनिक ज्याला मजदुरी गरे बस्ने हुन् कि होइनन् भनेर भेरिफाई गर्न पाएका छैनन् । मंगलाल उनीहरुलाई भेरिफाई गरी सहयोग गर्ने योजनामा छन् । 

कतिपय मजदुरहरुले आज पनि खान नपाएको हुनसक्ने भन्दै उनी आफै ती स्थानमा पुगेर सहयोग गर्न चाहन्छन् । तर मंगलबार लकडाउन भएको र सवारीसाधन चल्न पनि नसक्ने भएपछि उनी कसरी सहयोग गर्ने भन्दै अन्योलमा रहेका छन् । मंगलबार मंगललाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सवारीसाधनको पास उपलब्ध गराइदिन भन्दै फोन गरेपनि फोन नउठेको गुनासो गरे । अब बुधबार सवारीसाधनको पास लिएर सहयोग गर्न निस्कने योजना रहेको मंगलालले बताए । 

मंगलालले सहयोगको घोषणा गरेलगत्तै शक्ति मरहठ्ठा र सरिता मरहठ्ठाले पनि १ लाख सहयोग गर्ने भन्दै फोन गरेको श्रेष्ठले रातोपाटीलाई बताए । उनको सहयोग कोषमा अहिले ४ लाख पुगेको र थप मजदुर र विपन्नर्ला सहयोग गर्न सक्ने अवस्थामा पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप