शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस कसको ? : अमेरिका र चीनबीच ‘नयाँ युद्ध’ !

मङ्गलबार, ११ चैत २०७६, १७ : ०२
मङ्गलबार, ११ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोनाभाइरसको महामारी र त्यसको आर्थिक प्रभाव रोक्न युद्ध शुरु गरेको बताएका छन् । विश्व रंगमञ्चमा भने उनको प्रशासन अर्कै युद्धमा संलग्न छ । अमेरिका र चीन यतिबेला महामारीको सुरुवात कहाँबाट भयो भन्ने कथ्य स्थापित गर्न संर्घषरत छन् ।

ट्रम्प र उनको प्रशासनका शीर्ष सदस्यहरु कोरोनाभाइरसको महामारीलाई ‘चिनियाँ भाइरस’ भनेर ब्रान्डिङ गर्न लागिपरेका छन् । उनीहरुले बेइजिङमाथि चाँडै भाइरसबारे पत्ता लगाउन, रोक्न र चेतावनी दिन नसकेको आरोप लगाइरहेका छन् ।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा परिषद्ले तयार गरेको समन्वित सन्देश अभियान नै लागू गरेको छ । यसमा अमेरिकी अधिकारीहरुलाई चीनले कथितरुपमा यसलाई ढाकछोप गर्न खोजेको र अमेरिकाविरुद्ध गलत प्रचार गरेको विषयलाई जोड दिन भनिएको छ ।

उता, चीनले पनि कोरोनाभाइरस चीनमा उत्पत्ति नभएको र यो अमेरिकामा शुरु भएको हुनसक्ने कथ्य स्थापित गर्न जोड दिइरहेको छ ।

केही हप्ता यतादेखि वासिङ्टन र बेइजिङबीच आरोप प्रत्यारोप जारी छ । चीनले भाइरस आफ्नो देशमा शुरु भएको भन्ने कुरा निरन्तररुपमा अस्वीकार गर्दै आइरहेको छ भने सेक्रेटरी अफ स्टेट माइक पोम्पेओलगायत शीर्ष अमेरिकी अधिकारीले बेइजिङमाथि औँला तेर्साइरहेका छन् । केही दिन यता दुई देशबीच कुटनीतिक विवाद चुलिएको छ ।

शुरुवातमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको तारिफ गरे पनि त्यसयता उनले महामारी नियन्त्रणमा बेइजिङले अख्तियार गरेको नीतिप्रति खरो र आलोचनात्मक रवैया अपनाउन थालेका छन् ।

‘उनीहरुले त्यहाँभित्र के भइरहेको छ भनेर हामीलाई चाँडै भन्नुपर्थ्यो । सार्वजनिकरुपमा बाहिर नआएसम्म हामीलाई त्यहाँ के भइरहेको छ भन्ने हामीले थाहा नै पाएनौँ । हामीलाई उनीहरुले चाँडै यसबारे थाहा दिएको भए हामी त्यसको समाधान लिएर आउन सक्थ्यौँ,’ ट्रम्पले शनिबार ह्वाइट हाउसको ब्रिफिङमा भने ।

बेइजिङले तत्कालै त्यसको प्रतिवाद गर्यो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार अमेरिकाले चिनियाँ सरकारलाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाए । आफ्नो जिम्मेवारीबाट भाग्न अरुलाई बलीको बोका बनाउन खोजिएको जिकिर गर्दै भाइरस चीनको ऊहानमा शुरु भएको भन्नु ‘अनैतिक र गैरजिम्मेवार’ भएको उनले बताए ।

‘जब महामारी शुरु भयो, धेरै मानिसहरुले यसलाई वैश्विक सहकार्यको अवसरको रुपमा हेरेका थिए,’ हाल जर्जटाउन विश्वविद्यालयमा प्राध्यापक रहेका पूर्व सिआईए अधिकारी डा. म्याथ्यु क्राइङ भन्छन्, ‘तर हामीले यो पनि दुई शक्ति राष्ट्रका लागि लड्ने मैदान बनेको छ ।’ उनले चीनले यस महामारीलाई आफूलाई विश्व महाशक्तिका रुपमा उभ्याउने अवसरको रुपमा लिएको आरोप लगाए ।

अघिल्लो महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झोआले कोरोनाभाइरस चीनमा शुरुवात नभएर अमेरिकी सेनाले त्यहाँ ल्याएको हुनसक्ने बताएपछि वासिङ्टनले चिनियाँ राजदूतसँग स्पष्टिकरण लिएको थियो ।

उता, पोम्पेओ र ट्रम्पका सहयोगीले कोरोनाभाइरसलाई ‘ऊहान भाइरस’ र ‘चिनियाँ भाइरस’को रुपमा स्थापित गर्न कम्मर कसेका छन् । जुन कुरालाई स्वयम् ट्रम्पले अख्तियार गर्न सुरु गरेका छन् । गत हप्ता एक फोटोपत्रकारले ट्रम्पले आफ्नो सम्बोधनमा कोरोनालाई ‘चाइनिज’ भनेर सच्याएको तस्विर सार्वजनिक गरेका थिए । ट्रम्पको यस भनाइको आलोचना भए पनि उनले त्यसलाई सच्याइसकेका छैनन् ।

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप