शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बन्दलाई कसरी बढीभन्दा बढी सदुपयोग गर्नसकिन्छ ?

यस्तो बेला आफ्नो भित्री अभिरुचिमा समय दिनसके आत्मविश्वासमा वृद्धि हुन्छ
मङ्गलबार, ११ चैत २०७६, ११ : २४
मङ्गलबार, ११ चैत २०७६

अहिले हामी नेपाली पहिला कहिल्यै नसोचेको परिस्थितिमा छौं । राजनीतिक बन्द त हामीले धेरै देखेका थियौं, तर अहिले महामारीको कारण घरभित्रै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यस्तोमा मानिस निराश हुनसक्लान्, चिन्तित हुनसक्लान्, तनावमा हुनसक्लान् । मानिसलाई बिनाकाम एक्लै बस्ने आदत हुँदैन, ध्यान गर्न सिकेका वा संगीत, नृत्यजस्ता शौकमा रमाउन जानेका केहीलाई बाहेक ।

अहिलेको परिस्थिति हाम्रो हातमा छैन । तनाव लिनु वा बहकिनु दुवै अवस्था हानिकारक हुन् । जुन कुरा आफ्नो हातमा छैन, त्यसमा चिन्तित भएर समस्याको समाधान हुँदैन, बरु झनै बिग्रिन्छ मात्र । त्यसको विपरित, आफूले गर्नसक्ने कार्यमा केन्द्रित हुनु कुनै पनि समयको लागि सर्वोत्कृष्ट विकल्प हो ।

विगतलाई सम्झ्यौं भने हामी नेपालीले फरकफरक प्रकृतिका विषम परिस्थिति आफ्नो जीवनकालमा धेरै पटक अनुभव गरिसकेका छौं । अझ तिनलाई पार लगाइसकेका छौं । त्यसैले अहिलेको अप्रत्याशित अवस्थालाई पनि लाभदायक कार्यमा सदुपयोग गर्नु बुद्धिमानी हुन्छ । यस्तो बेला आफ्नो भित्री अभिरुचिमा समय दिनसके आत्मविश्वासमा वृद्धि हुन्छ ।

वास्तवमा जब हामी निरन्तर काममा हुन्छौं, हामी सोच्छौं — कहिले कामको दैनिकीबाट केही दिनको लागि छुटकारा पाइएला र यो गरुँला, त्यो गरुँला । त्यस्तो सोच भएकाको लागि यो समय स्वर्णीम अवसर हो । यस्तो अवस्थामा गर्नसकिने केही कार्यहरू यहाँ उल्लेख गर्दछु—

१. आफूलाई सिक्न मनलागेको कुरा सिक्ने, अभ्यास गर्ने । जस्तै, संगीत, नृत्य, चित्रकला, पाककला, आदि ।

२. आफूले थाती राखेका पुस्तक पढ्ने । अहिले त पुस्तकहरू अनलाइन पनि पाइन्छन् । लेखक हुनुहुन्छ भने त यस्तो बेला लेखनमा पनि समय दिनसकिन्छ ।

३. शारीरिक व्यायाम गर्ने । यसबीचमा म यति तौल घटाउँछु भनेर लक्ष्य पनि लिनसकिन्छ । शारीरिक व्यायामले मानसिक तनाव पनि एकदमै कम गर्छ ।

४. कुनै नयाँ कुरा सिक्ने । निशुल्क अनलाइन कोर्सहरू धेरै छन् । यसमा युवाले आफ्ना अग्रजलाई मदत गर्नसक्छन् ।

५. आफ्नो विश्वासको आध्यात्मिक ज्ञान वा अभ्यासमा डुब्ने । यसले निराशाबाट बचिनुको साथै आत्मिक उन्नति पनि हुन्छ ।

६. घरको सरसफाइ गर्ने । आफू कुनै कार्यमा संलग्न हुँदा मन पनि आनन्द र ताजगीले भरिन्छ । घरमा कहीँ कतै सानोतिनो मर्मत गर्न बाकी रहेछ भने पनि यही अवसरमा गर्नमिल्छ ।

७. सधैं काममा ब्यस्त हुँदा आफ्नो परिवारका सदस्यसँग समय बिताउन नपाइरहेको हुन्छ । अहिले घरबन्दीको अवस्थामा परिवारका सदस्यसँग कुराकानी गर्ने । सम्पूर्ण परिवार बसी प्रेरणादायक चलचित्रहरू पनि हेर्नसक्नुहुन्छ । परिवारका सबै सदस्य संलग्न हुनसक्ने रमाइला कार्य गर्ने । यो समयमा यादगार पलहरू सिर्जना गर्ने ।

८. सधैं काममा ब्यस्त हुँदा आराम गर्न नपाइरहेको अवस्था पनि हुन्छ । यो बेला केही समय आरामलाई पनि छुट्याउनसकिन्छ । आराम भनेपछि मानसिक रूपमा पनि आराम गर्ने ।

९. अझ एउटा सूक्ष्म तर महत्त्वपूर्ण कुरा हुनसक्छ । त्यो हो — अहिलेसम्मको आफ्नो जीवनको प्रतिबिम्बन (रिफ्लेक्शन) गर्ने । प्रतिबिम्बन भनेको प्रशस्त समय र धैर्य लिएर गर्ने कार्य हो, जुन अहिले सम्भव छ । यो तपाईंको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण कार्य हुनसक्छ, जीवनलाई नयाँ मोड दिने प्रक्रिया हुनसक्छ । प्रतिबिम्बनपछि तपाईंले नयाँ लक्ष्य र कार्ययोजना बनाउनसक्नुहुन्छ । यसबाट जीवनले नयाँ गति लिनसक्छ । मलाई थाहा छ, थोरै मानिसले मात्र यसमा रुचि राख्नेछन्, तर ती असाधारण हुनेछन् ।

१०. अरुबेला व्यस्तताले गर्दा दैनिकी अस्तव्यस्त भइरहेको हुन्छ । यसबेला दैनिकीलाई नियमित बनाउनसकिन्छ । दैनिकीको योजना बनाउनुहोस् । माथि दिइएका मध्ये एउटै मात्र काम गर्नुपर्छ भन्ने पनि छैन । तपाईंलाई ठीक लागेका तीन–चार कार्यलाई समय छुट्टाएर गर्नसक्नुहुन्छ । सामाजिक मीडियामा आफूले यो समयलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ, पोस्ट गर्नसक्नुहुन्छ ताकि अरूलाई पनि हौसला होस् । तपाई सकारात्मकता र प्रेरणा फैलाउने माध्यम बन्नसक्नुहुन्छ, जुन अहिलेको खाँचो हो ।

तपाईंको मूल्याङ्कन हप्तादिनको घर–बसाइ सकिएपछि तपाईं के भन्नुहुन्छ त्यसमा आधारित हुन्छ । अहिले नै यस्तो लक्ष्य राख्नुस् कि यो घरबन्दीपश्चात् साथीहरूलाई उत्साहजनक अभिव्यक्ति दिनसकियोस् — मैले बुद्धिमानीपूर्वक यसरी समयको सदुपयोग गरें वा मैले यस्ता उपलब्धी हासिल गरें । मेरो हार्दिक शुभकामना ।

(आर। मानन्धर दर्शनशास्त्रमा अध्येता हुन् । बाल्यकालमा उनी पाँच वर्ष बौद्ध विद्यार्थी भई थाइल्याण्डमा अध्ययन गरेका थिए । हाल उनी नेतृत्वसीप, व्यवस्थापन र माइन्डफुलनेशका प्रशिक्षक हुन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूमा व्यवस्थापनको उच्च पदमा दुइ दशक बिताइसकेका छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप