बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाम कोषमा २ लाख राख्दै गायक प्रकाश सपुतले लेखे प्रधानमन्त्रीलाई पत्र

सोमबार, १० चैत २०७६, १६ : ३०
सोमबार, १० चैत २०७६

काठमाडौ । लोक दोहारी गायक प्रकाश सपुतले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । सरकारको पछिल्लो तत्परता लाई ध्यानमा राख्दै सपूतले उक्त रकम सहयोग गरेका हुन्।  उनीअहिले जन्मभूमि बागलुङ पुगेका छन् ।

गायक सपुतले आफ्नो रकम सरकारसम्म पुर्‍याइदिन पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार 
 विश्वमा भयानक रुप लिँदै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानीय छन । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमज़ोर शरीर तर बलियो आत्मबलसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको ज़िम्मेवारी बोधप्रति हामी कृतज्ञ छौ । यद्यपि केहिदिन अगाडि स्वास्थ्यमन्त्री ज्यूले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबै ठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप । 

सरकारकै निर्देशनलाई पालना गर्दै सबै कामधन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फ़ क्वारेनटाईनमा बसेका छौ । दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घरभरि भएका छौ । एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन् तर त्यो खुसी धेरै बेर रहन सकेन जब साँझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नुभयो ( ‘अब अनिश्चितकालीन बन्द भन्छन् । यसरी सबै परिवार भेला भएर बसी–बसी खान कहिलेसम्म पुग्ने हो ?’ माहोल स्तब्ध भयो । खाना खल्लो !  (बाबा लामो बैदेशिक रोज़गारपछि अहिले घरमा हुनुहुन्छ ।

मैले नै उहाँलाई ढाडस दिएको थिए ( बा तपाई बुढो हुनुभो अब बिदेश नजानुस् ।म गर्छु । ‘आमा गृहिणि हुनुहुन्छ । माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको  छैन । बुहारी र छोरा गाउँमै छन । अर्को दुईजना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन् । मेरी एउटा छोरी छिन ३ वर्षको । पछिल्लो ५–६ वर्षदेखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गीतसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम् न  । दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ ।  

(खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दुजी र मैले हाम्रो अकाउन्ट चेक गर्यौ । यहि वर्ष काठमाडौंमा सानो घर लिएकाले हामीसँग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दुजीले हिसाब निकाल्नुभयो ( सामान्य खर्चमा  १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसँग रहेछ । मैले आफुलाई भयंकर सम्पन्न भएको महशुस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिइन । आत्मसम्मान र सपनाको पछि लागे ।  यद्यपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रो पुर्खाको तुलनामा ( बिन्दुजीलाई यति गफ लाइदेको उनी ढुक्क भएर निदाइन् । तर म निदाउन सकिन । 

सम्माननीय प्रधानमन्त्री ज्यू । 
के हाम्रो बाले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नुभएको छ ? मन्त्रीपरिषदको  कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाई भनेर ?  के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफुले पाल्नुपर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नुपर्ने नागरिकको हिसाब राखेको छ ?  मैले ६ महिना भने जस्तै के तपाई भन्न सक्नुहुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिति आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ  ? समस्या अहिल्यैबाट शुरु भैसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाइसकेको छ.. कम्पनी बन्द भएपछि  कतै सेल्फ़ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केहि हप्तादेखि  पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन... काम ठप्पै भएपछि खल्तीमा डेड दुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला (यति पैसाले  स्यानीटाईजर किनम कि स्यानी छोरीको लागि एक गाँस चामल ? हात धुने साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आँशु पुछ्ने रुमाल ? रोग को डर र भोकको डरमा कति फरक  छ ? , रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मूल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर,  एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यू  । के भन्दो रछ हजुरको मनले !  
ल मानम परिस्थिति यस्तै भयो (आफुसँग हुँदासम्म खाने, नभए मर्ने स्थिति आयो भने हाम्रो परिवारको आयू ६ महिना तोकियो । यसबाहेक पनि केहि रक़म बच्ने भयो करिब (२ लाख रुपैयाँ । एउटा ज़िम्मेवार नागरिकका हैसियतले यो रक़म यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु ।

कहाँ कसको नाममा दिने निधो नभएपछि रक़म लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषज्यूको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु। यो रक़म सरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आशंकामा बिना पूर्वाधार बिरामी जाँचिरहेका ती हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी !  सेल्फ़ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाज़ी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका बृद्धबृद्दा र बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म  खुसी । कामधन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाई गोडा एक महिना दुई गाँस दालभात ख्वाउन पाए पनि म खुसी । रक़म थोरै छ तर यस्तो परिस्थितिमा जहाँ जसरी काम लागे पनि म खुसी । 

ल मानम यो सबै परिस्थितिको सामना र ज़िम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र  मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटा गज्जबको 

गीत रेकर्ड गर्ने छु । र बाँकि रक़मले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उसले धेरै पढोस् र विश्वमा फेरि यस्ता विषम परिस्थिति आयो भने रक़म नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओु् । आफ्नो देशका लागि मात्रै होईन पुरै विश्वका लागि ।

आफ्नो र हाम्रो ख़्याल राख्नुहोला ।धन्यबाद ।

प्रकाश सपुत ।
एक नागरिक /एक कलाकार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप