शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुटपाटका लागि मकवानपुर पुगेको प्रहरीको सीआरभी टोली पक्राउ

सोमबार, १० चैत २०७६, १३ : २९
सोमबार, १० चैत २०७६

काठमाडौं । लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको छ । मकवानपुरको पालुङबाट प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।

घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेपछि महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सो टोलीलाई हटाएका थिए । उनीहरूको स्थानमा नयाँ सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

सीआरभी महानगरीय प्रहरी प्रमुख पोखरेलको प्रत्यक्ष निगरानीमा खटाइने टोली हो । सीआरभीको मनिटरिङको जिम्मा पोखरेलले एसपी रेवती ढकाललाइ दिएका छन् । सीआरभीको टोलीले प्रहरीका लागि गोप्य सूचना संकलन गर्ने गरेको छ । 

तर, सोही टोलीका सदस्य लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले उनीहरू पक्राउ परेको जानकारी आएको र आफूहरूले सो घटनाबारे बुझिरहेको प्रतिक्रिया दिएका छन् । 

उनीहरूको साथमा १ जना पत्रकारसमेत पक्राउ परेको बताइएको छ । तर, पक्राउ परेका पत्रकारको पहिचान भने खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप