शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विज्ञहरु भन्छन्, ‘कोरोनाभाइरसको नमूना परीक्षण पर्याप्त भएन’

‘दिनमा ४५—५० जनाको नमुना परीक्षण गरेर पुग्दैन’
सोमबार, १० चैत २०७६, १२ : २२
सोमबार, १० चैत २०७६

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पहिचानका लागि नमूना परीक्षण हुँदै आएको छ । कोरोनाको आंशकामा प्रयोगशालाले गर्दै आएको नमुना परीक्षण पर्याप्त नभएको विज्ञहरुको भनाइ छ ।

प्रयोगशालामा कोरोनाभाइरसको नमुना परीक्षण गर्ने शैलीलाई फराकिलो बनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ५० जनाको घाँटीको -याल परीक्षण गर्ने गरेको प्रयोगशालाका सूचना अधिकृत राजेश गुप्ताले बताए । गुप्ताका अनुसार ५ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक व्यक्तिमा मात्रै कोरोनाभाइरस  देखिएको थियो  ।

चीनबाट फैलिएको कोरोनाभाइरस विश्वभर महामरीको रुपमा फैलिएसँगै सरकारले जोखिमयुक्त ठाउँमा ज्वरो, सुख्खा खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामीको नमुना परीक्षण गर्नुपर्ने विज्ञहरुले जनाएका छन् । ‘नमुना परीक्षणको दायरा बढाउनुपर्छ,’ उनले भने, ‘उपत्यका भित्रबाट भएका वा आएका बिरामीको नमुना परीक्षण गरेर मात्र हुँदैन ।’

प्रभावकारी योजनासाथ खाका बनाएर अगाडि बढ्नुको विकल्प नभएको डाक्टर मरासिनी बताउँछन् । प्रत्येक दिन सरकारले जोखिमयुक्त स्थानबाट नमुना संकलन गरेर परीक्षण गर्नुपर्छ । स्थलमार्ग अन्तर्गतका विराटनगरको जोगवनी, काँकरभिट्टा, धरान चितवन, कञ्चनपुरको गड्डाचौकी, वीरगञ्जको रक्सौल, नेपालगञ्जको रुपडिया, तातोपानी नाका, केरुङ, किमाथान्का, हिल्सा कोरलालगायतका नाकामा पनि कोरोनाभाइरसको आशंकामा नमुना परीक्षण गर्ने क्षमता राख्नुपर्ने उनी बताउँछन् ।

‘दिनमा ४५—५० जनाको नमुना परीक्षण गरेर बस्न हुँदैन,’ उनी भन्छन्, ‘परीक्षणको दायरालाई फराकिलो पार्नुपर्छ ।’


जोखिमयुक्त स्थानमा ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या भएका केही बिरामीको नमुना परीक्षण गरेरमात्रै कोरोनाभाइरस नभएकोमा ढुक्क हुन सक्ने उनी बताउँछन् । सरकारले  कोरोनाभाइरस परीक्षणको दायरा बढाउन नसके आगामी दिनमा परिस्थिति काबुभन्दा बाहिर जानसक्ने उनी बताउँछन् ।


जोखिमयुक्त स्थानमा ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या भएका केही बिरामीको नमुना परीक्षण गरेरमात्रै कोरोनाभाइरस नभएकोमा ढुक्क हुन सक्ने उनी बताउँछन् । सरकारले  कोरोनाभाइरस परीक्षणको दायरा बढाउन नसके आगामी दिनमा परिस्थिति काबुभन्दा बाहिर जानसक्ने उनी बताउँछन् ।

राष्ट्रिय प्रयोगशालामा कोरोनाभाइरसको आशंकामा गरिने नमुना परीक्षणले नेपालको यथार्थ अवस्था  प्रकाशमा आउन नसक्ने डाक्टर मरासिनीको भनाइ छ । सरकारले प्रत्येक जोखिमयुक्त नाका र जिल्लामा प्रत्येक दिन निगरानी गरेर भोलिका दिनमा के हुन सक्छ भनेर अवस्था पहिचान गर्न सक्नुपर्ने उनी बताउँछन् ।

कोरोना भाइरसको संक्रमण हुँदा रुघाँखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखापर्ने भनिए पनि त्यो पूर्ण लक्षण नभएको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनकाअनुसार ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या भएको खण्डमा मात्रै नमुना परीक्षण गरेर संक्रमण भए–नभएको थाहा हुने उनी बताउँछन् ।

मानिसहरु रुघाखोकी मात्रै लागेको अवस्थामा कतै कोरोना भाइरसको संक्रमण भयो कि ? भनेर मनोवैज्ञानिक रुपमा त्रास सिर्जना भएको उनको भनाइ छ । हवाई मार्ग, स्थलमार्गका नाकाका र जोखियुक्त स्थनका  बिरामीमा ज्वरो, सुख्खा खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामीको नमुना कम्तीमा हप्तभरिमा २ हजार जनाको परीक्षण गरेमा वास्तविकता थाहा पाउन सकिने डाक्टर मरासिनी बताउँछन् ।

त्रिभुवन विमानस्थल हुँदै आएका केही व्यक्तिको नमुना परीक्षण गरेर मात्रै नहुने उनको भनाइ छ । कोरोना भाइरसको आशंकामा शनिबारसम्म ५ सय ७२ जनाको नमुना परीक्षण गरिएको थियो । नमुना परीक्षणको रिजल्ट आउन १२ घण्टा लाग्छ । राष्ट्रिय प्रयोगशालाका सूचना अधिकृत गुप्ताकाअनुसार कोरोनाभाइरस भए–नभएको पत्ता लगाउने किट पर्याप्त छ । नमुना परीक्षण गर्नका लागि करीब २० हजार किट आएको आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप