शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड-१९ विश्वव्यापी महामारीका लागि नेपाल कसरी र किन तयार रहनुपर्छ ?

नेपालमा एउटा अर्को केस पहिचान भएमा कन्ट्याक्ट ट्रेसिंगलाई प्राथमिकता दिएर सक्दोसम्म धेरै जाँचहरु तुरुन्तै गर्नु पर्दछ
सोमबार, १० चैत २०७६, १० : ०२
सोमबार, १० चैत २०७६

हामीले पछिल्लो १०० वर्ष भन्दा बढीको अवधिभरमा कोभिड-१९ जस्तो रोगको सामना गरेका छैनौँ । अहिलेको विश्वव्यापी अवस्था अनुसार नेपालमा फेरि अर्को संक्रमणको केस देखिनमा थप केही समयमात्र बाँकी छ । हामीसँग न त रोग निदानको क्षमता छ न त संक्रमणको सम्भावित प्रकोपलाई व्यवस्थापन गर्न सघन उपचारको आधारभूत संरचना नै छ । यस्ता भवन तथा संरचना रातारात बन्दैनन् र हामीले पनि सम्भावित प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै सुरक्षित व्यवहार गर्नु आवश्यक छ ।

यद्यपि, क्षति कम गर्नलाई हामीले व्यक्तिगत रूपमा पनि गर्न सक्ने थुप्रै कुरा छन् । हामीले हाम्रो सरकारसँग माग गर्नुपर्ने कुरा पनि छन् । नेपालमा हावी रहेको खतराको अवस्थामा हरेक व्यक्तिले आफ्नो, परिवारको र समुदायको ख्याल राख्नु अत्यावश्यक छ । हामीले तत्कालै समाजबाट एक्लिएर बस्न थाल्नु पर्छ, रोगको कुनै पनि लक्षण देखिएमा बाहिर जानु हुँदैन र यस कठिन घडीमा एकअर्कालाई साथ दिनुपर्छ । हामी आफ्ना लागि के कस्ता सेवासुविधा उपलब्ध छन्, यस्ता सेवासुविधा कसरी उपभोग गर्ने तथा थप प्रभावकारी कसरी बनाउने भन्नेबारे पनि सचेत हुनुपर्दछ ।

सारांशमा- हामीले नेपाल सरकारसँग कोभिड-१९ को नियन्त्रण व्यवस्थापनलाई राख्नुपर्ने मागको सूची:

१. रोग निदानका सेवा तथा यसका मापदण्ड अतिशिघ्र विस्तार गर्ने

२. अस्पतालमै राख्नुपर्ने अवस्था भएका बिरामीलाई सेवा दिने अस्पतालहरू स्पष्ट रूपमा निर्धारण गर्ने

३. सामाजिक दूरी (सोसियल डिस्ट्यान्सिङ्ग) कायम गर्ने उपाय बढाउने

४. सबैलाई पारदर्शी तथा सामयिक जानकारी उपलब्ध गराउने

के नेपालमा साँच्चै नै कोही संक्रमित व्यक्ति छैनन् वा हाम्रो निदानमै समस्या ?

अहिलेको अवस्थाबारे सिंगापुरका पररास्ट्र मन्त्री विवियन बालाकृष्णनका अनुसार - “कुनै स्थानमा कुनै पनि केस नदेखिनु सम्भवत: परिक्षणको कमी रहेको संकेत हुनसक्छ ।” यसै सन्दर्भमा भन्नुपर्दा, अहिले विश्वमा नेपाल मात्र त्यस्तो देश हो जहाँ जनवरीमा एक जनामा संक्रमण देखियो र त्यसपछि भने कुनै केस भेटिएका छैनन् । १० जना भन्दा कम केस भएका प्राय राष्ट्रले मार्च पछि मात्र रिपोर्ट गर्न थालेका हुन् । हाम्रा सबै छिमेकी राष्ट्रहरूमा संक्रमण बढ्दै गएका छन् भने नेपाल क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै एक अनौठो राष्ट्र बनेको छ । तसर्थ नेपालमा पर्याप्त मात्रामा निदान परिक्षण नभएकै कारण यहाँ संक्रमणको केस नदेखिनु एकदमै सम्भव कुरा हो । परिक्षण खोज्नेहरूको लागि उचित व्यवस्थापन नभएको रिपोर्टनिदान सेवाप्रतिको बढ्दो उपशंकाले वर्तमानको परिस्थितिलाई झन् जटिल बनाएको छ ।

यसका साथै नेपालसँग सम्बन्धित त्यस्ता कोभिड-१९ का केस छन् जसको पहिचान पछि हुनुपर्ने ‘कन्ट्याक्ट ट्रेसिंग’ को प्रक्रिया उचित ढङ्गमा गरिएको छैन अथवा कन्ट्याक्ट ट्रेसिंग गरिएको भए त्यस सम्बन्धित जानकारीमा आवश्यक पारदर्शीता छैन । जनवरी १३ मा संक्रमण देखिएका व्यक्ति वुहानबाट फर्किएका विद्यार्थी थिए । उनी हाल संक्रमणमुक्त भएपनि कन्ट्याक्ट ट्रेसिंग गरिएको छ वा छैन भन्नेबारे न सरकारले न त त्यस केस सम्बन्धी ल्यान्सेटमा प्रकाशित रिपोर्टले थप विवरण प्रस्तुत गरेका छन् । अर्थात उक्त व्यक्तिको सम्पर्कमा रहेका परिवार र साथीसङ्गतमा कोभिड-१९ को परिक्षण गरिएको थियो वा थिएन भन्नेबारे हामी निश्चित छैनौँ ।

यसैगरी नेपालसँग सम्बन्धित अन्य दुई कोभिड-१९ का केसको पनि कन्ट्याक्ट ट्रेसिंगको कुनै जानकारी छैन । एक ६९ वर्षे व्यक्तिको नेपाल भ्रमण पश्चात स्पेनमा फेब्रुअरी १३ मा मृत्यु भएको शवपरिक्षण मार्फत पत्ता लागेको छ तर यस सम्बन्धी नेपालमा उक्त व्यक्ति बसेको होटल वा गएका स्थानमा अनुसन्धान भए नभएको कुनै रिपोर्ट छैन । साथै नेपाल भ्रमण पछि फेब्रुअरी २६ मा अस्ट्रेलियाको तसमानियामा रहेको होबर्ट शहर पुगेका एक व्यक्तिलाई कोभिड-१९ को संक्रमण देखिएको थियो । उनी काठमाडौँ पछि सिङ्गापुर र सिड्नी हुँदै गएको भए पनि उनलाई नेपालमै भाइरस सरेको हुनसक्ने कुरा नकार्न सकिँदैन । यो घटनामा पनि कन्ट्याक्ट ट्रेसिंग भए नभएको कुनै रिपोर्ट छैन । यो नेपाल सरकारको तर्फबाट भएको गम्भीर लापरवाही हो ।

रोग निदानको तात्कालिक मापदण्ड अनुसार, प्रभावित क्षेत्रमा गएर आएका वा यसरी यात्रा गरेका मान्छेसँग सम्पर्कमा रहेका रोगका लक्षण देखाउने व्यक्तिहरू प्राथमिकतामा पर्छन् । यो लेख्दासम्म (चैत ९ गते बिहान ९ः४५ बजेसम्म) विश्व स्वास्थ्य संगठनले दिएको तथ्यांकअनुसार १८६ देशमा संक्रमण फैलिसकेको र लक्षण हुनु अगाडि पनि फैलिन सक्ने हालको अवस्थामा कसको परिक्षण गर्ने भन्ने दायरा अझै खुकुलो पार्न अत्यावश्यक छ ।

अर्को एकदमै ध्यान दिनु पर्ने कुरा भनेको कोभिड-१९ को संक्रमणको दर गुणन जसरी दिन प्रतिदिन वृद्धि हुन्छ । चीनमा फैलिएको संक्रमणको अनुमान अनुसार एक संक्रमित व्यक्तिले अन्य २ व्यक्तिलाई रोग सारेको हुनसक्छ र सुरूमा रोगको संक्रमण हरेक ७ दिनमा दोब्बर भएको थियो । यसरी यो अवस्था निकै छिटो हाम्रो नियन्त्रणबाट फुस्किन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले जनवरी देखि मार्च २१ सम्म संकलन गरेको तथ्याङ्क अनुसार कोभिड-१९ को कारण संसार भरि २६७,०१३ जना संक्रमित र ११,२०१ को मृत्यु भइसकेको छ। यो रोगको ह्वात्तै बढ्ने प्रकृतिलाई हामीले कम आंकलन गर्नु हुँदैन र निकै गम्भीरता पूर्वक लिनुपर्दछ ।

नेपालमा यदि दोश्रो केस देखा पर्यो भने पनि अवस्था सोचेको भन्दा अत्यन्तै नाजुक हुन सक्छ । संक्रमण देखिएका केसको संख्याले देशको संक्रमणको वास्तविक संख्या प्रस्ट पार्न सक्दैन । उदाहरणका लागि: चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले गरेको अध्ययन अनुसार जनवरी २३ मा वुहान लकडाउन गरिँदा त्यहाँ अघिल्लो दिन पत्ता लागेका ४४४ केस थिए । तर लकडाउन पछि वैज्ञानिकहरुले बिरामीको लक्षण देखिन थालेको समयको सर्वेक्षण गर्दा त्यही दिनमा नै संक्रमितको वास्तविक संख्या १२,००० देखियो । यसकारण एउटा व्यक्तिमा मात्र संक्रमण देखियो भने त्यही एकजनालाई मात्र कोभिड-१९ लागेको भन्ने हुँदैन । यस्तो अवस्थामा अझ थुप्रै केस हुन सक्छन् जुन अहिले पत्ता लागेका छैनन् ।

नेपालको सन्दर्भमा रोग निदानको क्षमतालाई मध्यनजर गर्दा हाल टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र कोभिड-१९ को रियल टाईम पोलिमिरेज चेन रिएक्शन (आर.टी.पि.सी.आर) प्रणालीद्वारा निदान गरिरहेको छ । निदानको क्षमतालाई प्राथमिकतामा दिनु पर्ने बेला, रोग निदानमा अनावश्यक व्यवस्थापकीय तथा नियामक बाधा पुर्याउनु हुँदैन । प्रति दिन १७ वटा मात्र टेस्ट भइरहेको बेला निदानको सेवालाई सरकारी तथा निजी प्रयोगशालाहरमा विस्तार गर्नु अत्यावश्यक देखिन्छ ।

सबै प्रदेशहरूमा आर.टी.पि.सी.आर. को प्रविधि नभएकोले नेपालमा निदान सेवाको विकेन्द्रीकरण गर्नु चुनौतिपूर्ण रहनेछ । देश भरिको सबै जाँच अझै काठमाडौँमा मात्र हुँदैछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झाका अनुसार बागमती प्रदेश बाहेक अरु प्रदेशमा सेवा विस्तार गर्न एक वर्ष सम्म लाग्न सक्छ । नेपाल सरकारको ४१ औँ कोरोना भाइरस रोग सम्बन्धी स्वास्थ्य क्षेत्रको रिपोर्ट अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक बल्ल वीर अस्पताल, धुलिखेल अस्पताल, र धरानको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड-१९ को परिक्षणको तयारी गरिरहेका छन् । तर तयारी मात्र गरेर पुग्दैन । कार्यन्वयन सुरू हुने निश्चित दिन पनि तोकिनु पर्छ  ।

परिक्षणमा एउटा अर्को जटिलता पनि छ । कोभिड-१९ को परिक्षणको लागि घाँटीबाट लिइएको र्याल को नमुनालाई भाइरल ट्रान्सपोर्ट मिडियम (भी.टी.एम) मा २ देखि ८ डिग्री को चिसो तापक्रममा राखेर टेकुको प्रयोगशालामा पुगाउनु पर्दछ । भी.टी.एम सबै स्वास्थ्य सेवा प्रदायककहाँ नभएको अवस्था पनि छ। यसकारण नेपाल सरकारको स्वीकृति प्राप्त नमुना संकलन गर्न सक्ने सबै अस्पतालको नाम र नम्बर सहित को सूची सार्वजनिक गरिनु पर्दछ । खासगरि बिरामी भएको खण्डमा सिधै अस्पताल नगइ अस्पताललाई अगाडि नै फोन गरेर खबर गर्न सल्लाह दिइएको बेला यस्तो सूची आवश्यक देखिन्छ ।

सन् २०२० मार्च १८ मा प्रकाशित समचार अनुसार देशमा कोभिड-१९ को टेस्टिंग किट मात्र १,५०० वटा रहेको लेखिएको थियो । नेपालमा एउटा अर्को केस पहिचान भएमा कन्ट्याक्ट ट्रेसिंगलाई प्राथमिकता दिएर सक्दोसम्म धेरै जाँचहरु तुरुन्तै गर्नु पर्दछ । १,५०० किट पर्याप्त हुने छैन । निदानको निम्ति थप किट तथा जनशक्ति खटाउने योजनाहरु छन् तर यो जानकारीले मात्र पुग्दैन । मगाइएको किटको संख्या, नेपाल आइपुग्ने मिति तथा थप सर्वसाधारणले कहिले सम्ममा परिक्षण गराउन पाउनेछन्, यी कुरा पनि सार्वजनिक गरिनु पर्दछ ।  निदानको प्रणालीबारे अब कुनै भ्रम हुनु हुँदैन ।

नेपाल सरकारले वैज्ञानिक छनोट प्रविधि प्रयोग गरेर सकेसम्म रोग पहिचान गर्ने प्रयास गरेको भए हामीकहाँ वास्तवमै कोभिड-१९ को संक्रमण छैन भन्न मिल्थ्यो । यद्यपी, सन् २०२० मार्च २० सम्मको ५४६ टेस्टलाई मात्र मध्यनजर गर्ने हो भने संक्रमित नै कोही छैनन् भन्नु उचित नहुन सक्छ।

नेपालको स्वास्थ्य प्रणालीको क्षमता कस्तो ? नेपालमा संक्रमणकोकर्भलाई कसरी समतल बनाउने कोसिस गर्न सकिन्छ ?

विश्वव्यापी महामारी कोभिड-१९ संक्रमणकालको अवस्थामा ध्यान पुर्याउनु पर्नेमा दुई जरूरी कुरा छन् । पहिलो कुरा हो - यो रोग कति छिटो फैलिन सक्छ । दोश्रो हो - स्वास्थ्य सेवा प्रणालीले कति बिरामी धान्न सक्छ । हामीले संक्रमणको ‘कर्भ’ लाई सकेसम्म समतल पार्न खोजु भनेको रोगको संक्रमण विस्तारै विस्तारै गरि लामो समयमा फैलिन दिनु हो । यसो गर्दा हाम्रो स्वास्थ्य सेवा प्रणालीलाई निकै कम समयमा ठूलो भार पर्ने अवस्था आउँदैन । यसले लगभग सतर्कता नअपनाउदा पुग्न सक्ने संक्रमित संख्या जति नै व्यक्ति संक्रमित भएको खण्डमा पनि धेरै भन्दा धेरै ज्यान जोगिन सक्छ ।

कोभिड-१९ अत्यन्तै छिटो फैलिन्छ भन्ने हामीलाई थाहा छ । उसोभए नेपाली स्वास्थ्य सेवा प्रणालीको क्षमता चाहिँ के कस्तो छ त ? अहिले यो सङ्कटसँग जुझिरहेका राष्ट्रभन्दा नेपाल निकै फरक छ भन्ने पनि हामीले बुझ्नुपर्छ । उदाहरण लिने हो भने इटालीमा प्रति १००० व्यक्तिका लागि ३.२ अस्पताल शैय्या छन् भने अमेरिकामा प्रति १००० व्यक्ति २.८ का दरमा अस्पतालमा बिरामीका लागि स्थान रहेका छन् ।यसको तुलनामा नेपालमा प्रति १००० व्यक्तिका लागि ०.९ अस्पताल शैय्या मात्र उपलब्ध छन् । कोभिड-१९ महामारीका लागि यस्ता विकसित देशका स्वास्थ्य सेवा प्रणाली समेत तयार नरहेको बेला नेपाल त झनै तयार छैन ।

यो तथ्याङ्कमा नेपालका सबै अस्पताल शैय्या समावेश छन् । सघन उपचार कक्ष (आई.सी.यू) को सन्दर्भमा नेपाल सरकारले लगभग २०० शैय्या मात्र थप्ने योजना गरिरहेको छ । अर्थात् अहिलेको सघन उपचार कक्षका साथमा पनि नेपालले कोभिड-१९ बाट सिकिस्त हुने सम्भवत: केही सय बिरामीलाई मात्र उपचार गर्न सक्छ । इटालीमा लगभग ५,२०० सघन उपचार शैय्या भएता पनि उपचारमा अत्यन्तै कठिन भइरहेको पनि विचार गर्नुहोस् । अस्पताल शैय्या क्षमता बढाउने योजना पक्कै पनि भइरहेको छ तर युरोप, इरान र पूर्वी एसियामा फैलिरहेको व्यापक संक्रमणलाई हेर्ने हो भने हामी संक्रमण फैलिने गति लाई सामना गर्ने गरि क्षमता बढाउन सक्नेछैनौँ । यो केही दिन वा हप्तामा गर्न सकिने काम होइन । अत्याधुनिक सघन उपचार सुविधाको विकास गर्नका लागि स्वास्थ्य सेवा प्रणालीमा वर्षौँदेखिको लगानी हुन आवश्यक छ ।

सामाजिक दुरी (सोसियल डिस्ट्यान्सिङ्ग) को अभ्यास यतिखेरको अवस्थामा एकदमै महत्वपूर्ण हुन जान्छ । यस सम्बन्धी यो समयमा नेपाल सरकारले उचित कदम चालेको छ । हामी नेपालीले व्यक्तिगत रूपमा नेपालमा संक्रमण फैलिन नदिन सक्दो प्रयास गर्नु पर्छ । कोभिड-१९ फैलिने सम्भावना कम गर्नका लागि सामाजिक दुरी बनाइराख्नु अत्यावश्यक छ । परिणाम स्वरूप मृत्युदर घटाउन पनि सकिन्छ । हालको मृत्युदर अस्थिर रहिआएको छ । रोगको निदान छिटै तथा समयमै गरिएको र बिरामीका लागि पर्याप्त अस्पताल शैय्या भएका क्षेत्रमा कम मृत्युदर रहेको छ । जस्तै, दक्षिण कोरियाको अनुमानित मृत्युदर ०.९% रहेको छ भने चीनमा ४% अनुमान गरिएको थियो र हाल इटालीमा लगभग ८% पुगेको छ । नेपाल जस्ता गरिब तथा विकासशील देशहरूमा भने मृत्युदर कस्तो हुन सक्ला भन्ने कुनै तथ्याङ्क उपलब्ध छैन ।

यी सम्पूर्ण कुरालाई मध्यनजर गर्दै हामीले सामाजिक गतिविधिहरुलाई तुरुन्तै रोक्नु पर्दछ । स्कुल तथा कार्यलयहरू पनि बन्द गर्नु पर्दछ र यसमा हामी सबैको परस्पर सहकारिता आवश्यक छ ।  हाम्रो स्वास्थ्य सेवा पहिल्यैदेखि कमजोर भएको हुनाले हाल अन्य देशमा भइरहेको संक्रमणको जस्तो भार थेग्न सक्दैन । यसकारण नेपालमा संक्रमणको केस नदेखिएको भएता पनि हामीले यो कदम चाल्नु एकदमै जरूरी छ । थप सावधानी अपनाउनु पर्ने अवस्था एक सल्लाह मात्र हैन, आवश्यकता हो । नेपालमा संक्रमित केसको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहनेछ भन्नु गलत नहोला ।

कतै हामीले केही बिर्सिरहेका छैनौँ ?

पारदर्शी जानकारीको माग पनि अत्यन्त महत्वपूर्ण छ । नेपालमा कोभिड-१९ को हालको संचारनीति व्यवस्थित तथा एकीकृत छैन । हेल्थ इमरजेन्सी अपरेशन सेन्टरको वेबसाईट एउटा राम्रो कदम हो तर यो पर्याप्त चाहिँ छैन । सरकारले कोभिड-१९ को सम्बन्धमा उप-प्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा भएका उच्चस्तरीय बैठकका लगायत अन्य सम्पूर्ण संचार, रिपोर्ट, तथ्याङ्क उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्छ । सर्वसाधारणले बुझ्ने गरी कहिले, कहाँ, कसरी निदान पाउन सकिन्छ भन्ने जानकारी दिनुपर्छ । कोभिड-१९ का बिरामीको उपचार गर्न स्वीकृत अस्पतालहरूको सूचीका साथै स्वास्थ्य सेवा प्रदायकलाई दिइएको सुरक्षासम्बन्धी जानकारी पनि सार्वजनिक गरिनुपर्छ । परिक्षण गरिएको तथा संक्रमित केससम्बन्धी तथ्याङ्कको पारदर्शिता अत्यन्तै जरूरी छ । सर्वसाधारणमा त्रासको वातावरण सिर्जना हुन नदिनका लागि हामीले पाइरहेको जानकारी विश्वसनीय हुनु अत्यावश्यक छ । सही जानकारी पाउनु हाम्रो संवैधानिक अधिकार हो र यसको माग एकदमै जायज छ ।

डा. तेड्रोस अधानोम घेब्रेयेसूस https://time.com

अन्त्यमा, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. तेड्रोस अधानोम घेब्रेयेसूसको प्रतिक्रिया अत्यन्त महत्वपूर्ण रहेको छ :

“गत हप्ता हामीले कोभिड-१९ को संक्रमणको गति शिघ्रता साथ अगाडि बढेको देखेका छौँ । चीन भन्दा बाहिरका देशमा यस रोगका केस र मृत्यु बढी मात्रामा देखिएको छ । हामीले सामाजिक दुरी अपनाउने उपायहरूको विस्तार पनि देख्यौँ । स्कुल र रंगशाला बन्द भए तथा अन्य सामाजिक भेलामा पनि प्रतिबन्ध लगाइयो । तर हामीले निदान, सम्भावित संक्रमितलाई अलग्गै राख्ने (आइसोलेशन) र कन्ट्याक्ट ट्रेसिंग जस्ता उपायको चाहेअनुरूप शिघ्र विस्तार चाहिँ देखेनौँ । यी उपाय रोग नियन्त्रणको मेरुदण्ड हुन् । सामाजिक दुरी अपनाएर संक्रमण घटाउन सकिन्छ र यसले गर्दा स्वास्थ्य प्रणालीहरू यस रोगको सामना गर्न सक्षम हुन्छन् । हात धोएर र खोक्दा कुहिनोले मुख छोपेर आफुलाई र अरूलाई यस रोगको जोखिमबाट जोगाउन सकिन्छ । तर एक्लै आफैमा यी कुनै उपायले यस विश्वव्यापी महामारीको अन्त्य गर्न सक्दैनन् । सबै उपायहरूको संयोजनमा मात्र प्रभावकारी बदलाव आउनेछ ।”

अंग्रेजीमा पढ्नुलाई यता क्लिक गर्नुहोस्

कोभिड–१९ को सन्दर्भमा नेपालको अवस्थाबारे बुझ्न मद्दत गर्ने यो लेख जनहितमा उपयोगी हुने ठानी हामीले प्रकाशित गरेका छौं । लेखक प्रियंकर बहादुर चन्द नेपालमा जनस्वास्थ्य नीति र अनुसन्धानको क्षेत्रमा काम तथा अन्वेषण गर्नुहुन्छ। धनगढीस्थित सिकल सेल नेपाल स‌ंस्थाका सह (संस्थापक चन्द नेपालमा अनुवांशिक तथा दीर्घकालीन रोगका व्यवस्थापन र नियन्त्रणका बारेमा गहिरो चासो राख्नुहुन्छ। –रातोपाटी  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रियंकर बहादुर चन्द
प्रियंकर बहादुर चन्द
लेखकबाट थप