शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन : सेवा सूचारु राख्नु, सतर्कता अपनाउनु

आइतबार, ०९ चैत २०७६, १७ : ३३
आइतबार, ०९ चैत २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा सूचारु गर्दै सतर्कता अपनाउन समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै अत्यावश्यक सेवालाई सूचारु हुने व्यवस्था मिलाउन तथा कोभिड–१९ को संक्रमणबाट आफ्ना कर्मचारीलाई बचाउने उपाय अपनाउन निर्देशन दिएको हो । त्यसका लागि न्यूनतम कर्मचारीलाई कार्यालयमा आएर काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ । 


राष्ट्र बैंकले २०७६ साल असोज २७ गतेको राजपत्रमा प्रकाशित सूचनामा बैंकिङ सेवालाई अत्यावश्यक सेवाको रुपमा राखिएको भन्दै त्यसलाई सूचारु गर्न वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्थालाई समेत निर्देशन दिएको हो ।

तर अत्यावश्यक सेवा उपलब्ध गराउँदा यथासम्भव न्यूनतम कर्मचारीबाट सूचारु गर्न भनेको छ । तर त्यसरी सेवा दिँदा सेवाग्राहीहरुको भीड नहुने सुनिश्चिता गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न समेत निर्देशन दिएको हो । 

त्यसरी कार्यालयमा उपस्थित हुने कर्मचारीको सुरक्षा र संक्रमणको सम्भावना न्यूनीकरणका लागि मास्क, स्यानिटाइजर, डिस्इन्फेन्ट, थर्मल स्क्यानिङ, ह्यान्ड ग्लोब आदि जस्ता न्यूनतम सुरक्षा उपायहरु अबलम्बन गर्न भनेको छ ।

सरकारले चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । तर सरकारको उक्त घोषणभन्दा अघि नै सम्बन्धित क्षेत्रका छाता संगठनहरु नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल वित्तीय संस्था संघले अनलाइन कारोबारको शुल्क निःशुल्क बनाएको छ भने सर्वसाधारणलाई सकेसम्म बैंकमा नआउन आग्रह गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप