शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भनिएकै दिन सातवटा फ्लाइट

सिंगापुरबाट आएको सिल्क एयरको जहाज फर्कियो
आइतबार, ०९ चैत २०७६, १५ : ३०
आइतबार, ०९ चैत २०७६

काठमाडौँ । कोरोना भाइरसका त्रास फैलिरहेको बेला सतर्कता अपनाउन सरकारले चैत ९ गतेबाट नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ७ गते राष्ट्रको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीको सम्बोधनको स्पष्ट व्याख्या नहुँदा चैत ९ गते आइतबार सातवटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणले नै प्रधानमन्त्री ओलीको सम्बोधनलाई अपव्याख्या गरेको छ । प्रधानमन्त्री ओलीको भनाइअनुसार शनिबार मध्यराति (आइतबार बिहान १२ बजे) देखि स्थगित हुनुपर्ने हो ।

तर, आइतबार अर्थात् चैत ९ गते सातवटा अन्तर्राष्ट्रिय उडान रहेको विमानस्थल उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार इतिहादको २, सिल्क एयर १, ओमन एयर १, ड्रुक एयर १ र कतार एयरको २ वटा फ्लाइट रहेको छ ।

आइतबारको अन्तिम फ्लाइट कतार एयरको १०ः३० बजेको रहेको छ । राति ११ बजेभन्दा अगाडि नै कतार एयरको अन्तिम फ्लाइट उडिसक्ने विमानस्थलका कार्यरत एक प्रहरी अधिकृतले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका अध्यक्षसमेत रहेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शनिबार बसेको मन्त्रीस्तरीय बैठकले नेपालबाट जान पाउने र अन्य मुलुकबाट फ्लाइट आउन नपाउने निर्णय गरेको स्रोतले बतायो । तर, निर्णयबारे नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबीच नै द्वन्द्व पाइएको छ । मन्त्रीस्तरीय निर्णय ठीक नभएको भन्दै प्राधिरकणका कर्मचारीहरु रुष्ट रहेको बताइएको छ ।

‘खाली जहाज बोलाएर नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउने । तर, अन्य मुलुकबाट चैत १९ गतेसम्म नेपाली नागरिक पनि नेपाल आउन नपाउने,’ निर्णय मन्त्रीस्तरीय बैठकले गरेको बैठकमा सहभागी एक कर्मचारीले जानकारी दिए । 

सरकारले विभिन्न प्रभावित मुलुकका नागरिकलाई नेपालमा प्रतिबन्ध लगाइसकेको अवस्थामा प्राधिकरणले प्रधानमन्त्री ओलीको भाषणलाई अपव्याख्या गरेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् ।

विदेशी नागरिकलाई पठाउन सक्ने राज्यले आफ्नो देशको नागरिक अन्य मुलुकमा अलपत्र परिरहँदा ल्याउन पहल गर्नुपर्ने विमानस्थल प्राधिकरण स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने दुवै खालका उडानलाई समेटेर अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भनेका हुन् ।

खाजी जहाज बोलाएर नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउने हो भने कालोबजारी झनै बढेर जाने विज्ञहरुको भनाइ छ । जनतालाई कोरोनाको त्रास फैलाएर राज्य आफै कालोबजारी गर्नतर्फ प्रेरित भएको देखिन्छ ।

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र कर्णलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

शनिबार नेपाल आएको सिल्क एयर उड्यो

सिल्क एयर सिंगापुरबाट शनिबार राति प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएको थियो । उक्त एयरको विमानलाई तत्कालै सिंगापुर नै यात्रुसहित फर्काउने भनिएपनि अहिलेसम्म फर्काइएको छैन । सिल्क एयरको २ बजे फ्लाइट रहेको थियो ।

शनिबार राति साढे ८ बजे अवतरण गरेको उक्त जहाजमा एक जना नेपाली यात्रु नेदरल्यान्ड्सबाट सिंगापुर हुँदै आएको फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकैबेर अलमल भएको थियो । जहाजमा रहेका यात्रुलाई ओर्लिन दिने कि नदिने भनेर तत्कालै निर्णय लिन सकिएको थिएन ।

लामो अलमलपछि विमानबाट यात्रुलाई तीन घण्टापछि ओरालिएको थियो । जहाजमा ८५ यात्रु सवार थिए । जसमध्ये तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । बाँकी सबैलाई आ–आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न आग्रह गरिएको छ ।

खरीपाटी क्वारेन्टाइनमा पठाइएकामध्ये एक जना नेदरल्यान्ड्स र दुई जना जापानबाट सिंगापुर हुँदै आएका थिए ।

शनिबार मात्र नेपाल आएका ६७ जनालाई क्वारेन्टाइनमा पठाइएको विमानस्थल स्रोतले जानकारी दियो । शनिबार नै दिल्लीबाट नेपाल आएका २८ जनामध्ये १६ जनालाई मात्र क्वारेन्टाइन पठाइएको थियो ।

यस्तै शनिबार ओमन एयरबाट नेपाल आएकाम २ विदेशी नागरिकलाई क्वारेन्टाइन पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप