शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होटल याक एण्ड यति सूचना टाँसेर बन्द, हायातमा मालिक र मजदुरबीच कुरा मिलेन

शनिबार, ०८ चैत २०७६, १३ : १९
शनिबार, ०८ चैत २०७६

काठमाडौं । काठमाडौंका पाँचतारे होटल धमाधम बन्द हुन थालेका छन् । कोरोना भाइरसको संक्रमणसँगै पर्यटन आवागमन घट्दा अकुपेन्सी घट्दै गएका होटलहरुले धमाधम होटल बन्द गर्न थालेका हुन् । 

काठमाडौंको दरबारमागस्थित होटल याक एण्ड यतिले शनिबारमात्रै सूचना टाँस गरेर अनिश्चितकालीन रुपमा होटल बन्द गर्न आह्वान गरेको छ । होटल व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल समेत नगरी मजदुरलाई २५ प्रतिशत मात्रै सुविधा दिने र त्यसमध्ये पनि १२.५ प्रतिशत सरकारले व्यहोर्ने एकतर्फी सूचना टाँस गरेर होटल बन्द गरेको हो । 

शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेको होटेलले शनिबार बिहान ब्रेकफास्ट खुवाएर उनीहरुको बिदाई गर्दै होटल बन्द गरेको एकतर्फी सूचना टाँस गरेको आधिकारिक ट्रेड युनियन, होटल याक एण्ड यतिका अध्यक्ष वेद रायले जानकारी दिए । उनले छलफलबिनै १२.५ प्रतिशत तलब दिएर कर्मचारीलाई बिदा गर्नु गैरकानूनी भएको भन्दै श्रम ऐनको प्रावधानअनुसार कम्तीमा ५० प्रतिशत तलब सुविधा दिनुपर्ने माग समेत उनले गरे । 

हायातमा २५ र ५० प्रतिशतमा विवाद
उता केही दिनअघि नै बन्दको घोषणा गरेको काठमाडौंको चाबहिलस्थित होटल हायातका कार्यरत कर्मचारीहरुलाई के कति सुविधा दिएर अनिवार्य बिदामा पठाउने भन्ने विवाद छ । होटल व्यवस्थापनले २५ प्रतिशतसम्म सुविधा दिनसक्ने बताउँदा श्रमिकहरुले श्रम ऐन अनुसार ५० प्रतिशत सुविधाको माग गरिरहेका छन् ।

त्यसबारे बिहीबार व्यवस्थापन र सबै ट्रेड युनियनका प्रतिनिधिबीच छलफल भएको थियो । त्यो छलफलमा कुरा नमिलेपछि पछि फेरि छलफल गर्ने भनिएकोमा अहिलेसम्म फेरि बैठक बस्न नसकेको नेपाल ट्रेड युनियन काँग्रेस होटल हायातका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । 

‘बिहीबारको छलफलमा कुरा मिलेन, शुक्रबार हाम्रो आधिकारिक ट्रेड युनियनको चुनाव थियो, यहाँ हामी ५८ मतले पछाडि पर्यौ, अब व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल गर्नु भन्नुभएको छ । उहाँहरुले श्रमिकका पक्षमा राम्रो ढंगले नेगोसियट गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा हो’ खड्काले भने । अहिले होटल हायातको अकुपेन्सी शुन्यमा झरिसकेको छ । 

सोल्टीमा सिञ्चित बिदामा मनाइँदै
सोल्टी होटलेमा भने व्यवस्थापन र श्रमिकबीच विवाद छैन । त्यहाँ कुल १९५ दिनसम्म श्रमिकलाई छुट्टी दिँदा पनि कुनै पनि सेवा सुविधा कट्टा नगर्ने व्यवस्था गरिएको छ । सिञ्चित बिदा हुनेलाई बिदा कटाएर र बिदा बाँकी नहुनेलाई अग्रिम बिदा दिएर भने पनि कुनै पनि सेवा सुविधा कट्टि नगर्नेगरी व्यवस्था गरिएकोमा अहिले सोल्टीले कर्मचारीलाई सोही अनुसार बिदामा पठाएको छ । 

शुक्रबारसम्म सोल्टी होटेलमा ३९ प्रतिशत अकुपेन्सी थियो । यद्यपि करिब ९० प्रतिशत कर्मचारीलाई अहिले बिदा दिइसकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप