शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको असर : ट्याक्सीदेखि रिक्सावालासम्मको रोजगारी गुम्यो

शनिबार, ०८ चैत २०७६, ११ : २४
शनिबार, ०८ चैत २०७६

धादिङ नौबिसेका बिन्दा तामाङले काठमाडौँमा ट्याक्सी चलाउन थालेको झन्डै २५ वर्ष भयो । यही काम गरेर उनले ६ छोराछोरी हुर्काए । २ छोरीको विवाह पनि गरिसके ।

माघ २३ मा सहकारीबाट १४ लाख ऋण लिएर २३ लाख ५० हजार पर्ने नयाँ ट्याक्सी किनेपछि उनी आफैं मालिक बने  ।

पहिलो किस्ताबापतको ४२ हजार भुक्तानी पनि गरिसके । तर, कोरोनाको महामारीले समय प्रतिकुल भइदियो । अब बाँकी किस्ता कसरी बुझाउने भनेर चिन्तित छन् ।

दुई छोरी र दुई छोरालाई पढाउनुपर्ने दायित्व उनकै काँधमा छ । छोरीहरुको विवाह गर्न पनि त बाँकी छ ।

‘यात्रु भेटिन छाडिसके । ऋण कसरी तिर्ने भनेर चिन्तित छु । अब घर फर्कन्छु,’ उनले भने,‘ कोरोनाको त्रास आउनुअघि तेल हाल्ने र सर्भिसिङ गर्ने रकम छुट्टयाएर दैनिक २७ सयजति बचत हुन्थ्यो । यो रकमले घर खर्च र गाडीको किस्ता तिर्ने योजना थियो । सबै भताभुङ्ग भयो ।’

त्रिभुवन विमानस्थल, असन, इन्द्रचोक, ठमेल, दरबारमार्ग, बौद्ध, पाटन, भक्तपुर दरबार स्क्वायरलगायत भीडभाड हुने क्षेत्र यतिबेला सुनसान छन् । उनी यात्रु बोकेर कलंकी पुगेका थिए । ‘अहिले घर फर्कने यात्रुमात्रै छन् । सायद, भोलीबाट यहाँ पनि कोही भेटिनेछैन ।’

ट्याक्सी चालक बिन्दा तामाङ ।

सरकारले लामो दूरीका सवारी साधन चैत १० गतेदेखि बन्द गर्ने घोषणा गरेको छ । बसपार्कमा घर फर्कनेको भीड देखिएपनि बाँकी शहर सुनसान छ ।

कोरोना भाइरसको महामारी फैलनसक्ने त्रासपछि सरकारले अन्तर्राष्ट्रिय उडान, शैक्षिक संस्था, अत्यावश्यकबाहेका अन्य सबै सरकारी सेवालगायत बन्द गर्ने घोषणा गरिसकेको छ । यससँगै काठमाडौँबाट ठूलो सङ्ख्यामा सर्वसाधारण घर फर्कन थालेका हुन् । 

समग्र विश्वकै अर्थतन्त्र प्रभावित भइरहेका बेला नेपालको अर्थतन्त्र पनि समस्यामा छ । पर्यटक व्यवसायी राजन सिम्खडा यसको असर कम्तिमा २ वर्षसम्म देखिनसक्ने बताउँछन् ।

‘विश्व अर्थतन्त्रमै यसले ठूलो असर गरेको छ । नेपालको समग्र अर्थतन्त्र पनि प्रभावित हुनेछ । कम्तिमा २ वर्षसम्म पर्यटन क्षेत्रमा यसको असर देखिन्छजस्तो लाग्छ,’ उनले भने ।

प्रधानमन्त्रीले शुक्रबार ९ चैतबाट सबै देशका अन्तर्राष्ट्रिय हवाई उडान रद्द हुने घोषणा गरेका छन् । यसअघि बुधबार ५५ देशमा हवाई उडान स्थगित गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यसैले, नेपाल घुम्न आएका लगभग सबै पर्यटक स्वदेश फर्किसकेका छन् । कोरोनाको त्रासपछि दुई सातादेखि काठमाडौँमा पर्यटकको चहलपहल घटेको थियो, जसकारण पर्यटन व्यवसाय तथा मजदुरी गर्नेहरु प्रभावित भएका छन् ।

होटल–रेस्टुरेन्ट बन्द हुदाँ त्यहाँ कार्यरत धेरै सर्वसाधारणले रोजगारी गुमाएका छन् । पर्यटक बोक्ने गरेका अधिकांश रिक्साचालक ठमेल घर फर्किएका छन् । ठमेलमै ह्यान्टीक्राफ्ट तथा कपडाको व्यवसाय गर्नेहरु पनि सटर बन्द गर्ने मनासयमा पुगेका छन् ।

फुटपाथमा व्यापार गर्नेहरुको अवस्था झनै कहालीलाग्दो छ । कलंकीमा चकलेट र पुस्टकारी बेच्दै गरेका रौतहटका जिया उलहकले भने, ‘यहाँ दैनिक घर फर्कनेहरुको लाइन छ । सोमबारदेखि गाडी बन्द हुने भएकाले भोलीसम्म काम हुन्छ । त्यसपछि म पनि घर फर्कने हो ।’

जिया उलहक

लामो दूरीका सवारी बन्द भएसँगै चैत १० गतेबाट यातायत मजदूरहरु पनि बेरोजगार हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप