निर्माता तथा हल व्यवसायी नक्किम उदिनको जीवन : फिल्म क्षेत्रमा एउटा क्रान्ति ल्याएको छु
नक्किम उदिन फिल्म निर्माता तथा हल व्यवसायी हुन् । फिल्म व्यवसायलाई संस्थागत रूपमा अगाडि बढाउने श्रेय उनलाई नै जान्छ । १८ वर्षअगाडि जय नेपाल हलबाट सुरु भएको उनको हल व्यवसाय अहिले क्युएफएक्स ब्रान्डमार्फत देशका १२ लोकेसनमा छन् ।
हल व्यवसायको अलवा फिल्म निर्माताका रूपमा पनि चिनिएका उनले ‘सानो संसार’, ‘कागबेनी’ लगायत ४ फिल्म निर्माण गरेका छन् । हल व्यवसायी र निर्माताको रूपमा नेपाली फिल्मलाई नजिकबाट नियालेका उनी नेपाली फिल्मको बिजनेस गिर्नुको दोष मौसमी निर्मातालाई दिन्छन् । संस्थागत रूपमा फिल्म निर्माण गर्न नसक्नु पनि यसको अर्काे कारण रहेको उनी अर्काे ठम्याइ छ ।
फिल्म प्रदर्शनको जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै व्यक्तिको दादागिरी र धम्कीसमेत खेपेका नक्किम उदिनको जीवनका विभिन्न पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमार्फत अहिले खोतल्ने प्रयास गरिएको छ ।
मेरो खाना
सिम्पल नेपाली खाना दालभात तरकारी नै मेरो मनपर्ने खाना हो । धेरै गरम मसला हालेको इन्डियन खाना मनपर्दैन । परिवार साथीभाइ सबैसँग बेलाबेलामा रेस्टुरेन्ट जाने गर्छु ।
रेस्टुरेन्टको चाइनिज र इटालियान खानेकुरा मनपर्छ । नेवारी रेस्टुरेन्टको थुप्पा मनपर्छ । पकाउन खासै रुचि नभएकाले काम चलाउ पकाउन सक्छु ।
मेरो फिट्नेस
फिट्नेसमा सजग छु । त्यसका लागि जिम भने जाँदिनँ । जगिङ, मर्निङवाक र योगा गर्छु । घरमा केही जिमका साधन पनि छन् । तर मलाई फिजिकल एक्सरसाइज गर्न मनपर्छ ।
मेरो पोसाक
म धेरैजसो क्याजुअल पहिरन नै लगाउँछु । जिन्स पाइट र टिसर्ट सधैँ मैले लगाएको देख्न सकिन्छ । फर्मल कार्यक्रममा जानुपर्दा सुट लगाउने बानी छ । चम्किलो पहिरन मननपर्ने भएकाले ग्रे र कालो पहिरन बढी मनपर्छ ।
पहिरन धेरै रेडिमेड किन्छु । सुट सिलाएर लगाउँछु । ब्रान्ड कन्सेस छु । धेरै ट्राभल गर्ने भएकाले पहिरनमा वार्षिक दुई चार लाख खर्च सामान्य हो ।
मेरो अध्यायन
अध्ययन मेरो रुचिको विषय पनि हो । सोसलमिडिया, पुस्तक, गुगल जुनै माध्यमबाट पनि अध्ययन गरिरहेको हुन्छु । काम छैन भने कार्यालयमा पनि अध्ययन गर्ने बानी छ ।
बेलुका घरमा पनि पढ्छु । अध्ययनमा रुचिका विषय राजनीतिक थ्रिलर, कथाहरु हुन् । मानिसको उत्पत्तिको विषयमा लेखिएको सेपियन्स भन्ने किताब पढ्दै छु ।
मेरो फुर्सद
मेरो धेरै कम्पनी सीईयोले म्यानेजमेन्ट हेर्ने भएकाले फुर्सदै छ । केही समय भयो एउटा नयाँ अफिसबाट केही प्रोजेक्टहरु गर्ने तयारीमा छौँ । फुर्सदमा गल्फ खेल्ने, साथीभाइलाई समय दिने र परिवारका साथ घुमघाम गर्नेगर्छु ।
मेरो खेलकुद
खेलकुदमा पहिले धेरै रुचि थियो । फुटबल, कराँतेलगायत केही खेल खेल्थेँ । बक्सिङ च्याम्पियन्सिप पनि भिडेको छु । स्नुकर च्याम्पियन्सिप पनि खेलेको छु । अहिले गल्फ मात्र खेल्छु । टिभीमा खेल हेर्न पनि मनपर्छ । टिभीमा फुटबल, स्नुकर लगायतका गेमहरु बढी हेर्छु ।
मेरो मोबाइल
अहिले मसँग एउटा आइफोन ब्रान्डको मोबाइल छ । यसमा भाइरस नलाग्ने भएकाले बोकेको हो । सामाजिक सञ्जाल, इमेल, बिजेनस लगायतका सबै काम मेरो मोबाइलबाटै हुन्छ । चलाएकाले काम गरेसम्म अर्काे फेर्ने बानी छैन ।
मेरो टिभी
टिभी एकदमै धेरै हेर्छु । प्रायः साँझको समय । समाचारका लागि बीबीसी हेर्छु । त्यसपछि आफूलाई मनपर्ने सिरिजहरु थुप्रै छन्, हेर्छु ।
मेरो चलचित्र
हप्तामा एउटा फिल्म परिवारसँग हलमै गएर हेर्ने गरेको छु । कहिलेकाहीँ त्यो भन्दाबढी पनि हेर्छु । धेरैजसो फिल्म हेर्न सपरिवार जाने गरेका छौँ । गतसाता पनि एक फिल्म हेरेका थियौँ । नाम भने बिर्सिएँ ।
हलिउड, बलिउड र नेपाली सबै प्रकारको फिल्म हेर्न मनपर्छ । नेपाली र बलिउड फिल्म बुझेर राम्रो छ भने मात्र हेर्छु । हलिउड भने सबै हेर्छु ।
मेरो पेसा
चलचित्र मेरो पेसा र हब्बी दुवै हो । विगत १८ वर्षदेखि म यो क्षेत्रमा क्रियाशील छु । जय नेपाल हलबाट हल व्यवसायीको रूपमा यो क्षेत्रमा म भित्रिएको थिएँ । अहिले १२ लोकेसनमा हलहरू छन् ।
चारवटा चलचित्र पनि बनाएको छु । केही समय प्रदर्शनमा आएको ‘द म्यान फ्रम काठमाडौँ’ चौथो फिल्म हो । पहिलो ‘कागबेनी’ हो । त्यसपछिको ‘सानो संसार’ । ‘सुन्तली’मा पनि लगानी थियो ।
मेरा सबै व्यवसाय चलचित्रसम्बन्धी नै हो । त्यसबाहेक अलिअलि खानेकुराको पनि बिजनेस गर्छु ।
मेरो सपना
सन् २००२ सालबाट जयनेपाल हल सञ्चालन गरेको हो । दर्शकका लागि काठमाडौँमा एउटा पर्दा भए पनि राम्रो क्वालिटीको दिनुपर्छ भनेर जयनेपाल हल सुरु गरेका थियौँ ।
अर्काे कुरो मलाई पनि अङ्ग्रेजी फिल्म धेरै मनपथ्र्याे । त्यो फिल्म पनि चलाउने भन्ने उद्देश्यले हल खोलियो । यो क्षेत्रमा लाग्दै गर्दा चलचित्र उद्योगका साथीभाइको भेटघाटले भविश्य रहेछ भन्ने बुझे । मानिसहरु तीस वर्षदेखि यो क्षेत्रमा नबुझी लागेका पनि रहेछन् ।
सुरुको समय यो क्षेत्रलाई करियर बनाउला, मेन बिजनेस बनाउँला भन्ने सोचेको थिइनँ । साइड बिजनेसको रूपमा सुरु गरेको थिएँ । काम गर्दै जाँदा अन्य सबै व्यवसाय छोडेर यसमै होमिएँ । यो बिजनेसमा नेपालबाहिर जान नसके पनि देशभर फैलियोस् भनेर क्युएफएक्स ब्रान्ड स्थापना गरियो ।
मेरो बुझाइमा यहाँ पैसा कमाएका मानिस दुई किसिमका छन् । एकसँग धेरै पैसा छ । तर नाम छैन । अर्काे किसिमसँग थोरै पैसा छ । नाम र इज्जत छ । म त्यसमा पर्दछु । मेरो नाम देशभर चिन्छन् । त्यो ठूलो आम्दानी हो ।
मेरो दुःख
हल व्यवसाय दिन प्रतिदिन गिर्दाे छ । मौसमे र रहरका निर्माताले एक दुई फिल्म बनाउँछन् । त्यो बनाउने क्रममा जे पायो त्यही गर्दिन्छन् । त्यसले फिल्मको बिजनेस बिग्रिएको छ । अहिलेको अवस्था पनि त्यही हो ।
स्ता निर्माताले कहिलेकाहीँ टर्चर पनि दिन्छन् । पहिले टर्चर लाग्थ्यो । अहिले लाग्न छाड्यो । तर हामी संस्थागत रूपमा क्यूएफएक्स भएर अगाडि आएपछि कहिलै दादागिरी चलेन । किनभने सुरुदेखि नै हामी सिस्टममा चलेका थियौँ । धम्क्याउन चाहिँ धेरैले धम्क्याएका छन् ।
म अब फेरि फिल्म बनाउँछु । वर्षमा ५, ६ वटा फिल्म बनाउने भन्ने उद्देश्यले अहिले होमवर्क चलिरहेको छ ।
मेरो प्रेम
सन् १९९२ मा मैले प्रेम विवाह गरेको हो । उनी १९ वर्षकी थिइन् । म २५ वर्षको थिएँ । एउटा साथीको विवाहमा उनीसँग पहिलो पटक भेट भएको थियो । त्यो भेटमै मनपर्यो । हामीले एक डेढ वर्ष लुकेर प्रेम गर्यौँ । पछि फ्यामिलीले थाहा पाएपछि ब्रेकअप समेत भयो ।
म मुस्लिम समुदायको थिए । उनी बाहुन । ब्रेकअपको कारण यही थियो । ब्रेकअपको केही महिनापछि हामी दुवैले फेरि भागेर दिल्ली पुगेर कोट म्यारिज रोज्यौं ।
परिवारको म एक्लो छोरो भएकाले परिवारले विवाह स्वीकारेन । फ्यामली छोडेर उनीसँग नयाँ जीवन सुरु गरे । मेरी आमाको आफ्नो जातको विवाह गरोस् विचार थियो । त्यसैले भागेर विवाह गर्नु पर्यो । विवाहको समय छोडेको घर अहिलेसम्म पनि फर्किएर गइनँ ।
प्रेमले मलाई आत्मनिर्भर बनाउन सहयोग गर्यो ।
मेरो गीतसङ्गीत
गीत सङ्गीत धेरै मनपर्छ । सुन्न त सबै प्रकारका गीतसङ्गीत सुन्छु । मेरो मनपर्ने साङ्गीतिक ब्रान्ड १९७४ एडी हो । त्यसमा मेरो एकदमै मिल्ने साथीहरु हुन् ।
कवालीदेखि नेपाली, हिन्दी, अङ्ग्रेजी लगायत सबै प्रकारका गीत सुन्छु । गाडीमा, घरमा, बिहान बेलुका जुुनै समय पनि गीत सुन्छु ।
मेरो मापसे
अहिलेसम्म मापसे गरेको छैन । मुस्मिल समुदायमा जन्म भएकाले हाम्रो रक्सी चल्दैन । त्यसैले घरमा राख्ने गरेको पनि छैन ।
मेरो भूल
जीवनमा भूल गरियो होला । मानिस भएर जन्मिएपछि थुप्रै भूल गरिन्छ नै । अहिले सोच्दा व्यवसाय गर्दाका कतिपय निर्णय त्यो समय, त्यो निर्णय नगरेको भए अहिले परिस्थिति अर्कै हुन्थ्यो कि जस्तो लाग्छ ।
मेरा साथीहरू अन्य बिजनेस गरेर धेरै माथि पुगेका छन् । म चलचित्रको व्यवसाय रोजेर अहिले यहाँ छु । त्यो हेर्ने हो भने अहिलेको बिजनेस रोज्नु मेरो भूल जस्तो लाग्छ । तर हामीले नेपाली चलचित्र क्षेत्रमा एउटा क्रान्ति ल्याएको हो । यो कुराले मलाई सन्तुष्ट दिन्छ । जुन क्षेत्रमा छु त्यो क्षेत्रबाट नाम, दाम र इज्जत मिलेको छ ।
मेरो रोग
अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । ३ वर्षदेखि ब्लड प्रेसरले सताएको छ । त्यसको औषधि नियमित खाँदैछु । सुगर बोडर लाइनमा देखिएको छ ।
मेरो राशि
मेरो राशि कन्या हो । ग्रहदशामा खासै विश्वास लाग्दैन । हाम्रो मुस्लिम समुदायामा हेराउने, जुराउने केही चलन छैन । त्यसमा विश्वास लाग्दैन ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । जन्मिएपछि मर्नुपर्छ । बेनाम मर्नु भन्दा नाम राखेर मर्नुपर्छ भन्ने मेरो सोच हो । मृत्युपछि पनि सम्झने, नाम लिने कर्म गर्नुपर्छ । केही हदसम्म त्यो कर्म मैले गरेको छु जस्तो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म