केन्द्रीय संस्करण
विचार

प्राकृतिक छनौटबाट कोरोनाभाइरस (कोभिड-१९)

person explore access_timeचैत ८, २०७६ chat_bubble_outline0

अहिले विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । गत डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोभिड–१९ नामको भाइरसका कारण आजको मितिसम्ममा विश्वका २ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ९ हजारभन्दा ज्यादाको मृत्यु भइसकेको छ । 

चीनमा ३ हजारभन्दा बढीको ज्यान लिएर यो भाइरस चीनबाहिर फैलिँदै गर्दा अहिले यसको आक्रमणको केन्द्र युरोपमा सरेको छ र त्यहाँ सबभन्दा बढी प्रभावित इटाली हुन पुगेको छ, जहाँ ४ हजारको हाराहारीमा मृत्यु र ३७ हजारभन्दा बढी संक्रमित भएको तथ्याङ्क आएको छ । 

सम्भवतः यो लेख प्रकाशित हुँदासम्ममा उल्लेखित आँकडा अझ बढी उच्च भइसक्दछ । अहिले बढी प्रभावित भइरहेका मुलुकहरुमा युरोपमा स्पेन, जर्मनी, फ्रान्स, पोर्चुगल आदि छन् भने युरोपमा बाँकी अन्य सबै नै मुलुकहरुमा कोभिड १९ भाइरसले प्रवेश पाई असर देखाउन थालिसकेको छ । एशियामा चीनपछि सबभन्दा बढी प्रभावित मुलुकहरुमा इरान, दक्षिण कोरिया, जापान आदि परेका छन् । झण्डै २ सयको हाराहारीमा रहेका विश्वभरिका मुलुकहरुमध्ये मुश्किलले अब १५÷२० वटा मुलुकहरुमात्र कोरोनाबाट अझै प्रभावित हुन बाँकी छन् ।

 अहिले भारतमा तीव्र गतिमा यो भाइरस फैलिने क्रम चलिरहेको छ । नेपालमा भने अहिलेसम्म एकजनामा मात्र यो भाइरस देखिएको छ, जो उपचारपछि निको भई सामान्य दिनचर्यामा फर्किसकेका छन् । तर, विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको देश भनी सतर्क हुन आह्वान गरेपछि अहिले नेपाल सरकारले विद्यालय, कलेज, विश्वविद्यालय तथा सार्वजनिक भेला हुने सिनेमा हल, खेल क्षेत्रलगायतका सम्पूर्ण स्थलहरुको सञ्चालनमा कम्तीमा चैत मसान्तसम्मका लागि रोक लगाएको छ । साथै भाइरसको महामारी नै भइहालेमा त्यसबाट आम मानिसलाई बचाउनका लागि अस्पताल, स्वास्थ्य केन्द्रलगायतका बिभिन्न स्वास्थ्य उपचारसँग सम्बन्धित संस्थाहरुलाई तयारी अवस्थामा राख्ने काम धमाधम भइरहेको छ ।

कोरोना भाइरस के हो त ?
चीनको उहानमा कोरोना भाइरसको प्रकोप फैलिँदै गर्दा विश्वमा बिभिन्न प्रकारका चर्चा परिचर्चा भए । कसैले के भने भने यो गलत नियतले प्रयोगशालामा कोही सूक्ष्मजीवशास्त्रीले (वंशाणु इञ्जीनियरले) बनाई चीनतिर फालिएको कृत्रिम जीवाणु हो । कसैले चीनमै परमाणु औजारको टेस्ट गर्दा दुर्घटनावश यो भाइरसको सिर्जना भएको गफ दिए । धेरै समाचारहरुमा यो भाइरस जनावरबाट मानिसमा सरेको र यसो हुनुमा उहानमा जुनसुकै जङ्गली जनावरहरुलाई मारेर खाने चलन भएकोले यो पटक चमेरोको मासुबाट यो भाइरस मानिसमा सरेको हो भनी उल्लेख गरेको पाइयो । सत्य के हो प्रमाणिक रुपमा अहिलेसम्म बाहिर आएको छैन । तर, यी चर्चा परिचर्चामा दुईवटा फरक कुराहरु पाइन्छन् ः एउटा यो प्राकृतिक जीवाणु हो भन्ने कुरो र अर्को यो कृत्रिम जीवाणु हो भन्ने । साँच्ची के हो त ?

गत मार्च १७ मा छापिएको ‘नेचर मेडिसिन’ नामको विज्ञान जर्नलमा वैज्ञानिक क्रिस्टियन एन्डर्सन भन्छन्, “हामीलाई थाहा भएको कोरोना भाइरसका प्रकारहरुमा उपलब्ध वंशाणुचित्र अनुक्रमसँग तुलना गरी हेर्दा हामी ठोकेर भन्न सक्छौं कि सार्स–कोभ–२ (कोभिड १९) प्राकृतिक प्रक्रियाबाट नै उत्पन्न भएको हो” । (हेर्नुहोस् : sciencedaily.com)

इम्युनोलोजी (रोग प्रतिरोधी विज्ञान) र माइक्रोवायोलोजी (सूक्ष्मजीव विज्ञान) मा पिएचडि गरेका वैज्ञानिक एन्डर्सन उल्लेखित विधाका एशोसियट प्रोफेसर हुन् । उनी र अन्य वैज्ञानिकहरु टुलेन विश्वविद्यालयका रवर्ट एफ ग्यारी, सिड्नी विश्वविद्यालयका इडवार्ड होल्मेस, इडिन्बर्ग विश्वविद्यालयका एन्ड्रयु रामबउट र कोलम्बिया विश्वविद्यालयका डब्लू लान लिप्किनले संयुक्त रुपमा ‘सार्स–कोभ–२ को सम्भावित उत्पत्ति’ (The proximal origin of SARS-CoV-2) शीर्षकमा एउटा अनुसन्धात्मक लेख प्रकाशित गराएका छन् । सोही लेखमा माथि उल्लेखित कुरा समावेश भएको हो । त्यस लेखमा उनीहरुले कोही वंशाणु इञ्जीनियरले जानीजानी नियतवश कोरोना भाइरसलाई सिर्जना गरेका हुन् भन्ने अनुमानलाई खारेज गरी त्यो वास्तवमा प्राकृतिक उद्विकास (natural evolution) बाट नै उत्पत्ति भएको हो भन्ने निष्कर्ष निकालिएको छ । (हेर्नुहोस्ः उही)

उल्लेखित कुराबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने वैज्ञानिकहरुले प्रयोगशालामा भाइरस जीवाणुलाई उत्पन्न पनि गर्न सक्दारहेछन् । अर्थात्, कृत्रिम भाइरस जीवाणु पनि हुन सक्दोरहेछ । साँच्ची भाइरस हो के त ?
उन्नाइसौं शताव्दीको अन्तिम दशकअघिसम्म मान्छेलाई सूक्ष्मतम जीवाणुको सन्दर्भमा व्याक्टेरियासम्मको मात्र ज्ञान थियो । यसैबिच सन् १८९२ मा रुसी वैज्ञानिक द्मित्री इभानोस्कीले सूर्तिको बोटमा रोग ल्याउन कुनै गैरव्याक्टेरिया जीवाणुले संक्रमण गरिरहेको हुन सक्ने कुरा एउटा लेखमा प्रकाश पारे । उनको निष्कर्षकै आधारमा अनुसन्धान गर्दै जाँदा नेदरल्याण्डका अर्का वैज्ञानिक मार्टिनस बेइजेरिन्कले सन् १८९८ मा सूर्तिमा रोग लाग्नुमा साँच्ची नै एक किसिमको गैरव्याक्टेरिया जीवाणु जिम्मेवार भएको पत्ता लगाए । त्यस जीवाणुलाई ‘टोबाको मोजाइक भाइरस’ नामाकरण गरियो । अनुसन्धानबाट त्यस्ता भाइरसहरु हजारौं प्रकारका भएको पत्ता लाग्यो । बेइजेरिन्कले आफ्नो अनुसन्धान लेखमा ५ हजार प्रकारका भाइरसहरुबारे व्याख्या गरे । उनले बाहिरी प्राकृतिक वातावरण्मा लाखौं प्रकारका भाइरसहरु भएको बताए । अहिले अनुसन्धानबाट के थाहा पाइएको छ भने पृथ्वीभित्र विद्यमान हरेक इकोसिस्टम अथवा प्राकृतिक जैव प्रणालीमा भाइरसको उपस्थिति छ ।

भाइरस भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो र यसको अर्थ विष हो । अर्थात् भाइरस नामाकरणले संक्रमण ल्याउने जीवाणुको अर्थ बोक्दछ । जीवाणु भनेको मानिस वा जनावरहरुमा संक्रमण ल्याउने सूक्ष्म जीव हो । भाइरसले जनावरहरुमा मात्र होइन वनस्पतिहरुमा पनि संक्रमण वा रोगको प्रकोप ल्याउँदछ ।

एककोषीय सूक्ष्म जीवहरु र वहुकोषीय साना एवं सरल प्रकारका ठूला एवं जटिल प्रकारका सबै नै कोष र कोषहरुबाट बनेका हुन्छन् । व्याक्टेरिया, आर्किया, प्रोटोजोवा आदि वर्गका जीवहरु एक कोषीय हुन् । यिनीहरु नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म जीवहरु हुन् । यिनीहरुलाई सूक्ष्मदर्शक यन्त्रको सहायताले हेर्न सकिन्छ । नाङ्गो आँखाले देख्न मुश्किल हुने वहुकोषीय जीवहरु हाइड्रा, फन्जाइलगायतका जीवहरु पनि सरल प्रकारका जीवहरु नै हुन् । वहुकोषीय ठूला जटिल जीवहरुमा जनावरतर्फ किराफट्याङ्ग्रादेखि, माछा, उभयचर, सरिसृप, स्तनधारी ठूला जनावर तथा मानवसम्म पर्दछन् भने वनस्पतितर्फ ढुसीदेखि, घाँस, बुट्यान, फूलनफुल्ने र फुल्ने गरी ठूला रुखसम्मका ठूला एवं जटिल बोटबिरुवाहरु पर्दछन् ।

सूक्ष्म जीवहरु व्याक्टेरिया र आर्किया वर्गमा पर्ने जीवहरु कोषबाटै बनेका भएपनि कोषबाट बनेका बाँकी अन्य सूक्ष्म या ठूला जीवहरुभन्दा कोषको संरचनागत हिसाबमा भिन्न छन् । त्यो भिन्नता के हो भने यिनीहरुको कोषभित्र न्युक्लेस हुन्न, जबकि अन्य सबै प्रकारका जीवहरुको कोषभित्र न्युक्लेस हुन्छ । त्यसैले वैज्ञानिकहरुले सम्पूर्ण जीवहरुलाई कोषभित्र न्युक्लेस हुने र नहुने समूहका रुपमा दुई खेमामा बिभाजन गरेका छन् । कोषभित्र न्युक्लेस नहुनेलाई प्रोका¥योट्स र हुनेलाई युका¥योट्स भनिन्छ । व्याक्टेरिया र आर्किया वर्गमा पर्ने जीवहरु प्रोका¥योट्स वर्गमा पर्छन् भने मानव र ठूला रुखविरुवासम्मका बाँकी जीवहरु युका-योट्स वर्गमा पर्छन् ।

तर, भाइरस भने यी दुबै प्रोका-योट्स र युका¥योट्सभन्दा पनि भिन्न प्रकारको जीव समूह हो । भाइरस भन्ने जीवाणु कोषभित्र न्युक्लेस नहुने मात्र होइन कि यो त कोष नै नभएको कण रुपी जीव हो । व्याक्टेरियाभन्दा पनि सयगुणा सानो आकारमा हुने यो जीवले कुनै जीवको शरीरमा नपसीकन सन्तान उत्पादन गर्न सक्दैन ।

भाइरस वास्तवमा स्वतन्त्र रुपले अस्तित्वमा रहन सक्ने कण हो । यस कणलाई भाइरियोन भनिन्छ । कुनै प्राणीको शरीरमा प्रवेश नपाउँदासम्म यस कणले जीवन पाउँदैन या यो भाइरसको रुपमा क्रियाशील हुँदैन । न यसलाई श्वास फेर्नु जरुरी छ, न त केही खानु नै पर्दछ । भाइरियोन कणभित्र भाइरसको गुण बोकेका वंशाणु पदार्थहरु डिएनए वा आरएनए संरक्षित रही बसेका हुन्छन् । वास्तवमा तिनीहरु विशेष प्रकारको संरचना भएका प्रोटिन अणुहरु हुन् । ती प्रोटिन अणुहरुलाई संरक्षण गर्नका लागि क्याप्सिड नामको आवरण रहेको हुन्छ । त्यही आवरणभित्र प्रोटिन अणुहरु सुरक्षित रहेका हुन्छन् । कुनै कुनै भाइरसमा प्रोटिन अणुहरुलाई चिल्लो पदार्थ (lipids) ले छोपेको पनि हुन्छ । यी सबै कुराहरु हेर्नका लागि साधारण खालको अप्टिकल माइक्रोप्सकोपले काम गर्दैन । यसको लागि हजारौं गुणा ठूलो बनाई देखाउने इलेक्ट्रोन माइक्रोप्सकोपको जरुरी पर्दछ ।

कुनै वस्तु जीवन भएको हुनका लागि त्यसले कम्तीमा पनि श्वास फेरेको (अक्सिजन लिएर कार्वनडाइअक्साइड फालेको) र सन्तान उत्पादन गरेको हुनु जरुरी पर्दछ । भाइरसमा यी दुबै गुण छैन । श्वास त यसले फेर्दैन नै तर कुनै जीवको शरीरभित्र प्रवेश पाएपछि (एक कोषीय व्याक्टेरियाजस्तो सूक्ष्म जीवदेखि मानवसम्मको उच्चकोटिको जीवको कोषभित्र) भने यसले तीव्र गतिमा सन्तान उत्पादन गर्दछ अथवा भनौं यसले आफूजस्तै प्रकारका कणहरु उत्पादन गर्दछ । भाइरसमा यस्तो गुण हुनुमा यसभित्र रहेका डिएनए वा आरएनए प्रोटिन अणुहरु नै जिम्मेवार छन् । यी कारणहरुले गर्दा भाइरस वास्तवमा जीव र निर्जिव वस्तु बिचको कण हो पनि भनिन्छ । तसर्थ, वैज्ञानिकहरुले यो जीव समूहलाई प्रोका¥योट्स वा युका¥योट्समध्ये कुनै पनि वर्गमा समावेश गरेका छैनन् ।

जीवनका आधारभूत गुण नछुटेको सरल जीव समूह व्याक्टेरिया हो । यसलाई प्रोका¥योट्स जीव वर्गमा राखिएको छ । किनकि, यसको कोषभित्र न्युक्लेस छैन । जीवनका आधारभूत गुण भएर पनि न्युक्लेस नहुनुले यसले जीवन उत्पत्तिको पहिलो चरणको गुण बोकेको मानिन्छ । त्यसैले व्याक्टेरिया जीव समूहलाई पृथ्वीमा जीवन सुरु हुँदाको पहिलो जीवको रुपमा लिइएको छ । वैज्ञानिकहरुले पृथ्वीमा सबभन्दा पुरानो जीवावेशषको रुपमा ४ अर्ब २८ करोड वर्ष पहिलेको व्याक्टेरियाको जीवावशेष फेला पारेका छन् । पृथ्वीको निर्माण ४ अर्ब ५४ करोड वर्षपहिले भएको मानिन्छ भने महासागरको निर्माण ४ अर्ब ४१ करोड वर्षपहिले भएको अनुमान गरिएको छ । महासागर निर्माण भएको १३ करोड वर्षपछि नै व्याक्टेरिया रुपी पहिलो जीवको विकास पृथ्वीमा भएको वैज्ञानिकहरु बताउँदछन् ।

भाइरसलाई पनि जीवको रुपमा मान्दा सम्भवतः यो व्याक्टेरियाभन्दा पनि अगाडि विकसित भएको हुनुपर्ने तर्क गर्न सकिन्छ । किनकि, यसको संरचना व्याक्टेरियाको भन्दा पनि सरल हुनुका साथसाथै यो निर्जीव र जीवको बिचमा रहेको छ ।

भाइरसमा परिवर्तन वा नयाँ भाइरसको विकास
अमेरिकाको सेन्ट्रल मिचिगन युनिभर्सिटीको कलेज अफ मेडिसिनका वैज्ञानिक विलियम रवर्ट फ्लिस्चमान जुनियर भन्छन्, “वंशाणुगत छनौट परिणाम अनुसार भाइरसहरु निरन्तर बद्लिरहन्छन् । उत्परिवर्तन (mutation) को प्रक्रियाबाट उनीहरुमा सूक्ष्म वंशाणुगत परिवर्तन हुन्छ र वंशाणुहरुबिच पुनर्संयोजन भई तिनीहरुको संरचनामा नै मुख्य (major)  परिवर्तन आउँछ । जब भाइरसको वंशाणुचित्र (genome)  मा कुनै त्रुटि समाहित हुन्छ, तब उत्परिवर्तनले ठाउँ लिन्छ । जब सहसंक्रमणशील भाइरसहरुले वंशाणुगत सूचनाहरु आदानप्रदान गर्छन् तब पुनर्संयोजन हुन्छ र त्यहाँ पहिलेभन्दा फरक नयाँ प्रकारको भाइरस (novel Virus)  को विकास हुन्छ” । (हेर्नुहोस् : W. Robert Fleischmann, Jr., Medical Microbiology. 4th edition, Chapter 43)

तसर्थ, उत्परिवर्तनको प्रक्रियाबाट भाइरसहरुमा गुणात्मक परिवर्तन भइरहनुबाट नै नयाँनयाँ किसिमका भाइरसहरु देखापर्दै गर्नुको मुख्य कारण रहेको वैज्ञानिकहरु बताउँछन् । अहिले विश्वमा आतङ्क मच्चाइरहेको नोबल कोरोना भाइरस अर्थात् कोविड १९ पनि भाइरसहरुमा उत्परिवर्तनको प्रक्रियाबाट भइरहने निरन्तर परिवर्तनको क्रममा नै विकसित भएको भन्ने वैज्ञानिकहरुको कथन रहेको छ ।
भाइरस कुनै पूर्ण जीव नभएको कारणले प्रयोगशालामा कोही वैज्ञानिकले रासायनिक प्रक्रिया गराई त्यसलाई उत्पन्न गराए कि भन्ने शङ्का गर्न पनि नसकिने होइन । तर, माथि भनिनै सकियो कि अहिले आतङ्क मच्चाइरहेको कोभिड १९ भाइरस कृत्रिम होइन र त्यो प्राकृतिक उद्विकासबाट नै उत्पन्न भएको हो भनी वैज्ञानिक एन्डर्सन र उनका सहअनुसन्धाताहरुले घोषणा गरिसकेका छन् । मुख्य कुरो के हो भने प्रकृतिमा हुने उत्परिवर्तनको प्रक्रियाबाट उद्विकास हुने कुरा भाइरसमा छोटो समयमा नै देखिने हुन्छ, जबकि अरु जीवहरुमा हुने त्यस्ता उत्परिवर्तनहरु प्रत्यक्ष र तत्काल देखिने खालका हुन्नन् ।

 डार्विनको प्राकृतिक छनौटको सिद्धान्त
वैज्ञानिक चाल्र्स डार्विनले जीवहरुमा निरन्तर परिवर्तन भइरहन्छ र त्यही परिवर्तनलाई प्रकृतिसँग अनुकूलता मिलाउन सक्ने प्रजातिले निरन्तरता पाउने र नसक्नेको लोप हुने बताएका थिए । उनका अनुसार यो प्राकृतिक प्रक्रिया भएकोले कुन प्रजातिलाई निरन्तरता दिने र कुनलाई लोप गर्ने भन्ने कुरो प्रकृतिले नै निर्धारण गर्दछ ।

र, यही प्रक्रियाबाट पुराना प्रजातिहरुबाट नयाँनयाँ प्रजातिहरुको उद्विकास (evolution)  हुने उनले बताए । यसैका आधारमा उनले प्रजातिहरुको उत्पत्ति प्रकृतिको छनौटको आधारमा हुने सिद्धान्त प्रतिपादन गरे । उनको त्यो सिद्धान्तलाई पछि विकासवाद भनियो । तर, डार्विनले प्रजातिहरुमा निरन्तर परिवर्तन किन हुन्छ भन्ने बारेमा कुनै तर्क र तथ्यसङ्गत बिचार दिएनन् । पछि डार्विनको सीमालाई पूर्ति गर्न सन् १९०१ मा अर्का वैज्ञानिक हुगो डि भ्रिजले उत्परिवर्तनको सिद्धान्त अगाडि ल्याए । उनले प्रजातिहरुको वंशाणुमा आउने आकस्मिक परिवर्तनले नै उनीहरुमा निरन्तर सूक्ष्म परिवर्तन भइरहने हो भन्ने सिद्धान्त प्रतिपादन गरे । त्यो सिद्धान्त नै उत्परिवर्तन (mutation) हो ।

तसर्थ, अहिले कोभिड १९ भाइरसले विश्वमा आतङ्क मच्चाइरहेको नकारात्मक पक्ष एकातिर छ भने अर्कातिर यसलाई गहिरिएर अध्ययन गर्ने हो भने पृथ्वीमा यसअघि कहिल्यै नभएको भाइरसको नयाँ प्रजाति कोभिड १९ को उत्पत्ति उत्परिवर्तनको प्रक्रियाबाट भयो र यो प्राकृतिक छनौट हो भन्ने वैज्ञानिकहरुको निष्कर्षले डार्विनको विकासवादलाई बुझ्न सजिलो बनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.