बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ क्षेत्रका कर्मचारीको सुरक्षाबारे फियनको चासो

शुक्रबार, ०७ चैत २०७६, २० : २७
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले अत्यावश्यक बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षाबारे चासो देखाएको छ । अत्यावश्यक सेवाको रुपमा वर्गीकरण गरिएको बैंकिङ सेवामा कार्यरत कर्मचारी ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रही वित्तीय कारोबार गर्नुपर्ने भएकोले उक्त संक्रमण र महामारीले गम्भीरअसर पार्नसक्ने भन्दै फियनले यसमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो । 

त्यसका लागि अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सेवालाई घरमै बसेर काम गर्नसक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्था, केन्द्रीय बैंक तथा सरकारसँग उक्त संघले माग समेत गरेको छ । 

‘संस्थाको अत्यावश्यक कार्यका लागि मात्र आवश्यक कर्मचारी सरिक गराउने, घरमै बसी संस्थाको कार्य गर्न सकिने प्रकृतिका कार्यहरु घरबाटै गर्ने व्यवस्था आदि व्यवस्था मिलाउने गरी यस क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्ने तर्फ गम्भीर हुन नेपाल सरकार, केन्द्रीय बैंक लगायत सरोकारवालाहरु सम्पूर्ण निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदै बेलैमा सचेत हुन जोडदार माग गर्दछौँ’ फियनले भनेको छ । 

साथै, यो अवस्थामा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न सेवाग्राहीलाई समेत संघले आह्वान गरेको छ । संघले देशमा ८÷९ वटा भुक्तानी प्रणाली सञ्चालक एक दर्जन भन्दा बढी भुक्तानी सेवा प्रदायक रहेको र त्यस्तैगरी २७ वटा वाणिज्य बैंक, २४ वटा विकास बैंक, २२ वटा वित्त कम्पनी र ९० वटा लघुवित्त संस्थाहरु लगायत अन्य संस्थाहरुले आधुनिक प्रणालीहरुको प्रयोग गरेर सेवा प्रदान गरिरहेको भन्दै ती संस्थाले प्रदान गरिरहेका सेवा प्रयोग गर्न आग्रह गरेको हो । 

फियन सरकारी र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको संगठन हो । २०४७ सालमा स्थापित अहिले यो संस्था अन्तर्गत ४६ वटा वित्तीय संस्थाका कर्मचारी आवद्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप