शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीको भिसा थपिदिन सबै देशलाई परराष्ट्रको पत्र

शुक्रबार, ०७ चैत २०७६, १८ : १७
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि विदेशमा रहेका नेपालीको भिसा अवधि सकिए पनि स्वदेश फर्किन रोक लगाउने सरकारको निर्णयले अन्यौलता सिर्जना गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीले विहीबारको पत्रकार सम्मेलनमा भिसा सकिएका नेपालीलाई समेत अप्रिल १२ सम्म नेपाल प्रवेशमा रोक लगाएको निर्णय सुनाएका थिए ।

सरकारले बुधबार खाडीसहित ५५ मुलुक र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको थियो । यसका कारण विदेशमा बस्ने भिसा सकिएर नेपाल आउन चाहने व्यक्तिलाई अप्ठ्यारो परेको छ । तर सरकारले संक्रमित भएका वा बिरामी परेकालाई देशबाट निकाल्न नपाइने विश्व स्वास्थ्य संगठनको सिद्धान्तअनुसार सबैलाई त्यो अवधिसम्म सोही स्थानमा रहन भनेको छ ।

सरकारको उक्त निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआएनए) ले भने आपत्ति जनाएको छ । भिसा सकिएकालाई पनि नेपाल फर्किन  रोक लगाउने निर्णय अव्यवहारिक भएको संघको ठहर छ । काठमाडौंमा बिहीबार एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकले कोरोनाको महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन लगाएको रोक व्यवहारिक नभएको निष्कर्ष निकालेको थियो ।

नेपाल सरकारले यो समस्या विश्वव्यापी भएकाले कतिपय देशका पर्यटक अवैध भएर बसेका भन्दै विदेशमा रहेका नेपाली कामदारको भिसा अवधि सकिए सम्बन्धित देशको सरकारसँग पहल गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिएका छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले यो बीचमा भिसा अवधि सकिनेहरुका लागि नेपाल सरकारले सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत भिसा अवधि थपिदिन अनुरोधपत्र पठाएको बताए ।

यस्तै, नेपालमा रहेका विदेशीहरुको कदाचित भिसा अवधि सकिएर अप्ठ्यारो पर्यो अवस्था आए त्यसलाई थपिदिने सरकारले निर्णय लिएको प्रवक्ता पौडेलको भनाइ छ । ‘नेपाल सरकारले नेपालमा रहेका विदेशीहरुको कदाचित भिसा अवधि सकिएर अप्ठ्यारो पर्यो भन्ने त्यसलाई थपिदिने भन्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसै गरी हामीले नेपालीहरु रहेका देशहरुलाई भिसा अवधि सकियो भने नियमाअनुसार थपिदिन हाम्रो तर्फबाट अनुरोधपत्र पठाएको छौँ ।’

यसलाई नेपालको मात्र समस्या हो भनेर माइक्रो लेबलमा ल्याउने पर्ने आवश्यकता नरहेको प्रवक्ता पौडलको भनाइ छ । ‘विदेशमा बस्ने नेपालीको भिसा नै सकिहाल्छ भन्ने हुँदैन । यो निर्णय त हाम्रो देशका लागि, नेपालीका लागि मात्र आएको समस्या होइन,’ रातोपाटीसँग प्रवक्ता पौडेलले भने, ‘यो विश्वव्यापी समस्या छ । यो नेपालीको हकमा होइन, अन्त पनि हुन्छ ।’

नेपालीहरुलाई व्यवाहारिक अप्ठ्यारो पर्दा सबै देशले त्यसको सम्बोधन गरिदिने उनले विश्वास व्यक्त गरे । ‘हामीले विदेशीहरुलाई दिएको सहुलेत हाम्रो नागरिकलाई पनि दिनुपर्यो भनेका छौँ,’ विदेशमा रहेका नेपालीलाई आस्वस्थ पार्दै पौडेलले भने, ‘सरकारलेयसका लागि समन्वय गरिरहेका छ । त्यस्तै कुनै अप्ठ्यारो पर्दैन ।’

वैदेशिक रोजगार विभागले सरकारले तोकेको दिनभन्दा अघि नेपाल नआउन कामदारलाई आग्रह गरिसकेको छ । यता, समितिका प्रवक्ता विडारीले पनि यस्तो अवस्थामा सकैले पनि आफ्नो मुलुकबाट नागरिकलाई निकाल्न नमिल्ने बताए ।

‘संक्रमित हुनुभएको वा बिरामी पर्नुभएको व्यक्तिलाई कसैले पनि आफ्नो मुलुकबाट बाहिर निकाल्न मिल्दैन,’ उनले भने, ‘जो जुन देशमा जहाँ हुनुहुन्छ, त्यही बस्नुहोस् ।’ यो अवस्थामा कोरोनाको संक्रमण देखिए पनि सम्बन्धि देशले उपचार  गर्ने उनले बताए ।

‘यो २० मार्चदेखि लागू हुनेगरी १२ अप्रिलसम्म उहाँहरु आउन पाउनुहुन्न्, यो प्रष्ट हुनुस्,’ विदेशमा रहेका नेपालीलाई बिडारीले भने, ‘त्यसपछिको परिस्थिति फेरि विश्लेषण हुन्छ । बिरामी परेपनि सम्बन्धित देशले उपचार गर्छ ।’

नेपालले पनि आजदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको हो । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । कोरोनाबाट जोगिन चैत मसान्तसम्म विद्यालय, कलेज, सिनेमा हल, जिम र डान्सबार बन्दको घोषणा गरेको छ । यसको थप तयारी पनि भइरहको छ । चीनको ऊहान सहरबाट फैलिएको कोभिड–१९ को संक्रमण यतिबेला विश्वका १ सय ८१ देशमा पुगेको छ ।

समाचार तयार पर्दासम्म कोभिड–१९ को संक्रमणबाट १० अहजार ४ सय ५ जनाको मृत्यु भएको छ शुक्रबार मात्र मृत्यु हुनेको सख्या ३ सय ७७ जनाको पुगेको छ । २ लाख ५२ हजार ८ सय १७ जनालाई संक्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप