न हेल्थ डेस्क, न स्यानिटाइजर, न मास्कः धरहरा निर्माणमा २ सय मजदुर एकसाथ काममा (फोटो/भिडियो)
काठमाडौं । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएका बेला सरकारी तथा निजी क्षेत्रमा सुरक्षा सावधानीलाई तीब्र पारिएको छ । तर राजधानीको केन्द्रमा रहेको सुन्धारास्थित नयाँ धरहरा निर्माणमा खटिएका मजदुरहरु भने विना सावधानी काम गरिहेका छन् ।
दैनिक डेढ सयदेखि २ सय मजदुरले काम गर्ने धरहरा क्षेत्रमा कोरोना संक्रमण रोकथामबारे कुनै सावधानी अपनाइएको छैन । काम गर्ने स्थलमा न मजदुरको स्वास्थ्य अवस्था जाँच गरिने गरिएको छ न हात सफा गर्ने स्यानिटाइजर छ न मास्कको नै व्यवस्था गरिएको छ ।
कोरोना भाइरसको रोकथामका लागि मास्क दिनुको कुरा परै छोडौं शहरको धुलोबाट बच्नका लागि पनि निर्माण ब्यवसायीले मास्क नदिएको एक कामदारले गुनासो गरे । उनले भने– ‘मैले यहाँ काम गरेको तीन चार महिना भइसक्यो । शहरको धुलो छेक्न त मास्क दिएनन्, अहिले कोरोना आएको छ रे भन्छन् । यहाँ केहीले आफैले किनेर लगाएका छन् । धेरैले मास्क लगाएका छैनन् । काम गरेको ज्याला पनि थोरै दिएको छ, मास्क त अहिलेसम्म दिएको छैन हजुर ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकर्मचारी समेत रहेका पुनर्निमाण वरिष्ठ विज्ञ राजुमान मानन्धरले झन्डै ५० रोपनी क्षेत्रफलमा फैलिएर काम गर्ने हुँदा जोखिम कम भएपनि सावधानिक अपनाउन आवश्यक रहेको बताउँछन् । बेलुका काम सकेपछि मजदुरहरु बाहिर निस्कने र फेरी काममा फर्कने गरेका कारण जोखिम बढ्न सक्ने उनको भनाई छ ।
उनले भने– ‘अहिले हामीले मजदुरहरुलाई पनि सावधानी अपनाउने बारे निर्माण व्यवसायीलाई भनेका छौँ । काम गरेपछि कहाँ खाना खान जान्छन्, कहाँ बस्छन् त्यहाँबाट सर्न सक्ला भनेर यसबारे कुरा गरेका छौँ । स्यानिटाइजरहरु प्रयोग गर्ने, हात धुने भन्ने कुरा त गरेका छौँ तर काम गरेपछि उनीहरु अन्यत्रै जाने र फेरी काममा आउने भएकोले हामीलाई डर लागेको छ ।’
धरहरा क्षेत्रमा टावरको तला हाल्ने काम, फलामको रड तयार पार्ने काम, अन्डरग्राउण्ड पार्किङ लगाएका क्षेत्रमा सामुहिक रुपमा काम गर्ने गर्छन् । सरकारले धेरै भिड हुने क्षेत्रमा सावधानी अपनाउन भनिरहेका बेला धरहरा निर्माणमा भने सावधानी नअपाइएको हो ।
३७ प्रतिशत काम सकियो, ९० करोड खर्च
अहिले धरहराको १० औं तलाको ढलान सम्पन्न भएको छ भने एघारौं तलाको तयारी थालिएको छ । नयाँ धरहरा निर्माणमा ३७ प्रतिशत प्रगति भएको र ९० करोड खर्च भएको धरहरा निर्माणका सल्लाहाकार विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।
अहिले धरहरा टावरको तला थप्ने कामका अतिरिक्त अन्डरग्राउड पार्किङ निर्माणको काम भइरहेको छ । यसअघि टक्सार कार्यालय रहेको स्थानमा ४ तलाको भूकम्प संग्राहालय भवन बनाउने तयारी थालिएको छ ।
पार्क सहितको धरहरा क्षेत्र निर्माणका लागि काठमाडौं मल रहेको कर्मचारी सञ्चयकोषको भवनको पछाडिको भाग भत्काएर ९ सय ३७ मिटर स्वायरफिट जग्गा खाली गरिँदैछ ।
यस्तै अगाडिको ५ सय २५ मिटर स्क्वायरफिट जग्गा सञ्चयकोषलाई सट्टा भर्ना दिइएको छ । अब बन्ने धरहरा २२ तलाको हुनेछ । अहिले २३ दिनमा १ तला थप्ने गरी काम भइरहेको मानन्धरले जानकारी दिए ।
हेर्नुहोस भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म