शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा चुनावको टिकट लिन शेखर सिंहले पार्टीलाई अढाई करोड बुझाएको आरोप (फोन संवादसहित)

मलाई बदनाम गराउने षड्यन्त्र : सिंह
बिहीबार, ०६ चैत २०७६, १३ : २६
बिहीबार, ०६ चैत २०७६

काठमाडौँ । राजनीतिक दलले निर्वाचनको उम्मेदवारी टिकट तथा समानुपातिक सीट बेचबिखन गर्ने गरेको चर्चा नौलो होइन । मधेशवादी दलमा पनि यस्ता विषय बेलाबखत चर्चामा आउने गरेका छन् । हालै सम्पन्न राष्ट्रियसभा चुनावमा पनि रकमको चलखेल भएको चर्चा चलेको थियो । यसबारेमा समाचारहरु पनि प्रकाशमा आएका थिए ।

सोही घटनालाई पुष्टि गर्नेगरी हालै रकम लेनदेनको विषयसहितको एउटा फोन वार्ताको अडियो रेकर्ड बाहिर आएको छ । राष्ट्रिय सभाका लागि टिकट लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष शेखर सिंहले पार्टीलाई अढाई करोड रुपियाँ दिएको तथ्य सार्वजनिक भएको हो ।

सप्तरीका पूर्वसिडिओ एवम् रक्षा सचिव तिलकराम शर्मासँग सापटी लिएर पार्टीलाई सो रकम दिएको भन्ने उनको ‘अडियो टेप’ सार्वजनिक भएको छ । पूर्व सचिव शर्माले अरुबाट सो रकम सापटी लिएर राजपा नेपाललाई बुझाएको फोन वार्ताबाट प्रष्ट हुन्छ ।

सार्वजनिक भएको फोन वार्तामा उनले भनेका छन्, ‘शेखर सिंहले भनेको आधारमा साथीबाट रकम लिएर पार्टीलाई दिएको हुँ तर अहिले सो रकम दिन शेखरले आनाकानी गरिरहनु भएको छ । जोसँग मैले रकम लिएर दिएको थिएँ, त्यो व्यक्ति मसँग मागिरहेका छन् ।’

आफू नराम्रासँग फसेको पनि उनले बताएका छन् । उनले भनेका छन, ‘मैले जहाँ कमिटमेन्ट गरेको थिएँ, त्यहाँ त दिनु पर्यो तर उहाँ (शेखर) अहिले फोन नै उठाउनु हुन्न ।’

त्यतिको मान्छे, माननीय भएर हिँड्ने व्यक्तिसँग के कागज गराउनु भनेर आफूले विश्वासमा रकम दिएको उनले बताएका छन् । लेनदेनमा एकजना साक्षीबाहेक अरु केही प्रमाण नरहेको पनि उनले बताए ।

तर राष्ट्रियसभा सदस्य शेखर सिंह आफूलाई बदनाम गराउने षड्यन्त्रका रुपमा यस्ता प्रचार गरिएको दावी गर्छन् । आफू पार्टीको नेता भएकाले टिकट लिनका लागि कसैलाई रकम दिइरहन जरुरी नरहेको उनको भनाइ छ । उनले पार्टीभित्रकै कतिपय व्यक्तिले आफूलाई फसाउन खोजेको आरोप लगाए ।

उनले तिलकराम शर्मा सप्तरीको सिडिओ हुँदा चिनेको तर त्यसपछि उनीसँग कुनै प्रकारको सम्बन्ध नरहेको रहेको दावीसमेत गरे । उनले भने, ‘शर्मासँग आजमात्र होइन, पहिला पनि पाँच रुपियाँको पनि करोवार भएको छैन, अहिले आएर मलाई र पार्टीलाई बदनाम गराउन यस्तो षड्यन्त्र भएको छ ।’

आफूले तिलकराम शर्मासँग रकम लिएको वा कसैलाई दिन नभनेको दावी गर्दै उनले यदि त्यस्तो कुनै प्रमाण छ भने पेस गर्न चुनौती समेत दिए ।

रकम दिलाउनका लागि प्रयासमा लागेका ज्योति झाले पनि तिलकराम शर्माबाट शेखर सिंहले रकम लिएको कुरा हालसम्म पुष्टि नभएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘शेखर सिंहका लागि तिलकराम शर्माले कसैसँग रकम उठाएको हो कि होइन त्यो नै पुष्टि भएको छैन, मैले पनि राम्रोसँग बुझ्न पाएको छैन । तिलकराम शर्माले त अरुसँग अढाई करोड रुपियाँ उठाएर पार्टीलाई दिएको हुँ भन्छन् तर पुष्टि भइरहेको छैन ।’

राजपा पार्टीका नेता सुजित सिंहले पनि शेखर सिंहले यदि तिलकराम शर्मासँग रकम लिएको हो भने फिर्ता गर्नुपर्ने बताए । झुठा आरोप लगाइएको हो भने तिलकराममाथि मानहानीको मुद्दा हाल्नु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘मलाई पुरानो मित्र ज्योती झाले सम्पर्क गरेर शेखरबाट तिलकरामको पैसा दिलाईदिन आग्रह गर्नुभयो, त्यही भएर मैले यसमा इन्ट्रेस्ट लिएको हुँ । तर रकम लेनदेन भएको छ कि छैन त्यो मलाई थाहा छैन ।’

उनले अगाडि भने, ‘तिलकरामको कुरा सुन्दा त रकम लिएको हो जस्तो लाग्छ तर शेखरसँग पनि यति पैसा छ कि अरुसँग लिनुपर्ने जरुरी नै पर्दैनथ्यो ।’

उनले पार्टी बदनाम नहोस् भनेर नै आफूले यसलाई मिलाउने प्रयास गरेको तर आफूलाई चारैतिरबाट धम्की आइरहेको सुनाए । ‘तीनजना बीचमा कुराकानी भएको छ तर त्यो फोन वार्ता मैले नै आउट गरेको भनिरहेका छन्,’ उनले भने, ‘उहाँ दुईजनामध्ये अरु कसैले पनि गरेको होला नि, मैले पार्टी हितका लागि यसमा हात हालेको थिएँ तर अब केही गर्दिनँ ।’

के छ फोन संवादमा ?

ज्याति झाः ब्युरोक्रेट्सको एकजना जिम्मेवार व्यक्तिले कमिटमेन्ट गर्नुभएको थियो, अढाई करोडको लागि शेखर अंकलले । फेमली ब्याकग्राउण्ड हेर्दा त जो कोहीले पनि विश्वास गर्न सक्छ कि रकम दिन्छ भनेर । पूर्व रक्षा सचिवलाई जो सिडिओ भएर सप्तरीमा पनि बसेका थिए, उहाँलाई (शेखरले) भन्नुभयो कि तपाई जिम्मा लिइदिनु, म दिइदिन्छु । उहाँले डेढ करोड रुपियाँ म्यानेज गरेर दिनुभयो । अब शेखर अंकलले उहाँको फोन उठाउनु हुन्न । जोसँग पैसा उठाएर दिनु भएको थियो त्यो व्यक्तिले सिडिओलाई प्रेसर दिइरहेका छन् । शेखर अंकलको यसमा के छ भने उहाँले वास्तवमा कमिटमेन्ट गर्नुभएको छ भने एकपटक बस्नुपर्छ, कमिटमेन्ट गर्नुभएको छैन भने तैपनि बसेर भन्दिनुपर्छ कि मेरो त्यस्तो केही छैन । दुई तीनजना आपसमा बसेर टुङ्ग्याउँदा हुन्छ ।

सुरजित सिंहः शेखर अंकलसँग मेरो कुनै कुरा जाँदैन । शेखर अंकलसँग छत्तीसको आँकडा छ ।

ज्योति झाः मलाई थाहा छ । त्यही भएर मैले..

सुरजित सिंहः एकचोटी मलाई उहाँ (तिलक) सँग कुरा गराईदिनुस् न ।

(ज्योति झाले तिलकरामलाई फोन दिनुभयो)

तिलकरामः हेलो

सुरजित सिंहः हजुर नमस्ते

तिलकरामः नमस्कार, तपाईंको बारेमा झाजीबाट थाह पाइहाले क्यारे । केही कुरा भन्नु पनि भयो । म त कति नराम्रो गरि फसियो भने । उहाँ अहिले राष्ट्रियसभा सदस्य भएर मज्जासँग हिँडिरहनु भएको छ । यहाँ म बाटोमा पैसा लिएर मैले जहाँ हो कमिटमेन्ट, त्यहाँ बुझाई दिएँ । त्यो राख्ने कुरा पनि भएन । मलाई जताजतैबाट समातेर जहाँबाट सबै व्यवस्थापन गरेर जुटाएको थिएँ । उहाँ बीचमा एकचोटी चुनाव जितिसकेपछि भाउजु बित्नुभयो कि को बित्नुभयो भनेर बसिदिनु भयो ।

सुजित सिंहः कोई पनि बित्नु भएको थिएन सर ।

तिलकरामः त्यसो भए सबै नाटक रहेछ ।

सुजित सिंहः कति, डेढ करोड उहाँलाई दिलाउनुभयो ?

तिलकरामः जोसँग डेढ करोड लिएँ, त्यो सँगै हुनुहुन्छ । अर्को दुईजनासँग पचास पचास लाख लिएर मैले सिध्याएँ । यहाँ बीचमा म फसेँ । जहाँ मैले कमिटमेन्ट गरेको थिए, त्यहाँ दिनुपर्यो । त्यसबाट बच्ने अवस्था थिएन । उहाँ (शेखर) मेरो फोनै उठाउनु हुन्न । मेरो सम्पर्कमै आउनु हुन्न । कहिले मान्छे म¥यो भनेर बसेँ भन्नुभयो, कहिले के भन्नुभयो, कहिले के भन्नुभयो । म पत्याउँदै गएँ । म आउँछु भन्नुभयो । अहिले त मेरो फोन पनि नउठाउने । हेर्नुस् यो कस्तो नराम्रसँग फसेँ ।

सुजित सिंहः हजुरको के नाम भयो ? हजुरको के नाम ?

तिलकरामः तिलकराम शर्मा ।

सुजित सिंहः ए । तपाईं यहाँ सप्तरी राजविराजमा सिडिओ हुनुहुन्थ्यो ?

तिलकरामः हो हो हो ।

सुजित सिंहः नमस्ते, म सुजित सिंह पवि स्कूल थियो नि, पवि स्कूल । पब्लिक विन्देश्वरी, मेरो हजुरबुवाको नाउँमा ।

तिलकरामः मलाई थाह छ । एउटै फेमलीको रहेछ, ल ।

सुजित सिंहः एउटै फेमली होइन सर ।

तिलकरामः बुझेँ मैले, एउटै क्याटेगोरीको फेमली रहेछ । मैले बुझेँ, मैले थाहा पाइहालेँ ।

सुजित सिंहः शेखर अंकलले तपाईसँग पैसा लिनु भएको छ भने कुनै लिखिछ लिखित दिनुभएको छ कि छैन ?

तिलकरामः छैन, केही पनि छैन । त्यतिको मान्छेलाई भन्नु पनि भएन । माननीय भएर हिँड्ने मान्छे हो । फेरि पहिलेदेखि सम्पर्क भइराख्ने मान्छे हो ।

सुजित सिंहः उहाँ ठूलो मान्छे हुनुहुन्छ । इण्डियन एम्बेसीले उहाँकै कारणले सप्तरीलाई ब्ल्याकलिस्ट गरेको छ, उहाँकै कारणले ।

तिलकरामः हजुर हजुर ।

सुजित सिंहः ठिकै छ, म आउँदैछु काठमाडौं । राज अंकल पनि राष्ट्रियसभाको सदस्य । हाम्रो मृगेन्द्रसिंह यादव, राजबाबु ।

तिलकरामः तपाईहरु एउटै फेमलीको हुनुभयो । राजबाबु होइन ?

सुजित सिंहः हो सर । ठिकै छ । म काठमाडौं आउँदैछु । तपाईहरुको बीचमा मिटिङ गराउँछु ।

तिलकरामः एकदमै ठूलो । हेर्नुस् न । अब के भन्नु र यहाँ सबैमा म फसेँ । यो कारोबार हुँदा मेरो मित्र पनि यो बीचमा हुनुहुन्थ्यो । साक्षी एकजना हुनुहुन्छ । अरु त्यस्तो प्रमाण यताउता केही छैन ।

सुजित सिंहः ल ठिक सर ।

तिलकरामः ल है त । यसो सहयोग गर्नुप¥यो ।

सुजित सिंहः एकदम गर्छु सर । तपाईं ढुक्क भएर बस्नु । म एकदम गर्छु सर । म आउँदैछु सर काठमाडौं । अनि म अध्यक्षज्यूहरुसँग तपाईंको मिटिङ गराउँछु, राजेन्द्र महतोहरुसँग । हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, शरतसिंह भण्डारी पनि हुनुहुन्छ । उहाँहरुसँग तपाईंको मिटिङ गराउँछु ।

तिलकरामः हुन्छ हुन्छ ।

सुजित सिंहः उहाँले तपाईंलाई पैसा दिनुपर्छ सर । तपाईं ढुक्क भएर बस्नुस् ।

तिलकरामः हुन्छ हुन्छ ।

सुजित सिंहः नमस्कार

तिलकरामः नमस्कार

(तिलकरामले ज्योति झालाई फोन दिए)

ज्योति सिंहः हेलो

सुजित सिंहः जी भाईजी । उहाँलाई एउटा कुरा भनिदिनुस् । एकदम चुप लागेएर १०–१५ दिन बस्न भन्नुस् ।

ज्योति झाः मैले कुरा गरेको छु एक ठाउँमा । भन्नुभयो कि, ठिक छ हामी मिटिङ गर्छौँ, त्यसपछि दिनु पर्यो भने व्याज स्याज मिलाएर दिन लगाउने ।

सुजित सिंहः उहाँले नै मलाई भन्नुभयो कि यो कुरा उहाँलाई भन्दिनुस् पूर्व सिडियो साहबलाई कि कुरा बाहिर नल्याउन किनभने यो पार्टीको कुरा हो । पार्टीको बदनामी हुन्छ ।

ज्योति झाः त्यो त धेरै ठूलो बदनाम हुन्छ । कम्युनिस्ट पार्टीको निहुँ खोजी नै रहेका हुन्छन्, सालेहरु ।

सुजित झाः के भनेर लिनुभएको थियो (रकम) ।

ज्योति झाः राष्ट्रिय सभा सदस्य मनोनित हुन्छ ।

सुजित झाः उहाँ (तिलकराम) लाई फोन दिनुस् त उहाँ जानुभयो कि छँदै हुनुहुन्छ ।

(ज्योति झाले तिलकरामलाई फोन दिए)

तिलकरामः हेलो

सुजित सिंहः सर मैले पार्टीमा मैले कुरा गरिसकेको छु । उहाँहरुले भन्नुभयो, तपाईलाई १०–१५ दिनका लागि पख्न भनेको छ । पार्टीको बदनामी हुन्छ रे । त्यसको कारणले उहाँसँग बसेर छलफल गरेर उहाँको पैसा दिलाउँछौं । उहाँको पैसा दिनुपर्छ । दिएन भने हामीले उहाँमाथि एक्सन लिन्छौं । बुझ्नु भो । १०–१५ दिनको टाइम दिनुस् । म पनि त्यतिबेला काठमाडौं आइहाल्छु । अहिले त कोरोनाको पनि डर छ ।

तिलकरामः कहाँ हुनुहुन्छ अहिले ?

सुजित सिंहः म त अहिले सप्तरीमा छु कोइलारीमा सर ।....विराटनगरमा छु सर

तिलकरामः शेखर काठमाडौं नै हो अहिले ?

सुजित सिंहः हो त्यही हो सर । अहिले राष्ट्रियसभाको सत्र चलिरहेको छ ।

तिलकरामः अलि चाँडै गर्न पाए हुन्थ्यो ।

सुजित सिंहः १० दिनको टाइम दिनुस् न सर । टेन डेज ।

तिलकरामः म फेरि कन्ट्याक्ट गर्छु हजुरलाई ।

सुजित सिंहः अनि सर उहाँ (शेखर) ले के भनेर पैसा लिनु भएको थियो ? के मा दिनुपर्छ पैसा ? चुनाव अगाडि नै दिनुपर्ने कुरा थियो ? राष्ट्रियसभा चुनावको टिकट लिनका लागि होइन ?

तिलकरामः लिनका लागि

सुजित सिंहः राष्ट्रियसभा चुनावको टिकट लिनका लागि होइन ?

तिलकरामः हजुर हो ।

सुजित सिंहः १० दिनको टाइम दिनुस् ।

तिलकरामः ल खबर गर्छु हजुरलाई

सुजित सिंहः १० दिनको टाइम दिनुस् । मैले माथि कुराकानी गरेँ । उहाँहरुले १० दिनको टाइम दिनुभयो । १० दिनको टाइम दिनुस् सर । म आउँदैछु काठमाडौं सर ।

तिलकरामः ल हुन्छ हुन्छ ।

सुजित सिंहः आज कोइलारी आउँछु अनि तीन चार दिनको प्लानिङ्ग बनाएर आउँछु र साथै बसेर एकदिन राजबाबुको घरमा ।

तिलकरामः ल ठिक छ

सुजित सिंहःउहाँलाई दिनुस् त एकचोटी

(तिलकरामले ज्योति झालाई फोन दिए)

ज्योति झाः जी भाइजी ।

सुजित सिंहः शर्माजीसँग १० दिनको टाइम लिनु न ।

ज्योति झाः हुन्छ ।

सुजित सिंहः मैले अहिले कुरा गरेको अनिल झासँग...होइन राजकिशोर यादवसँग । महतोजीले फोन उठाउनु भएन कुनै मिटिङमा होला । उहाँहरुले यो पार्टीको बदनामीको कुरा छ । कुरालाई बढी हाइलाइटेड नगरोस् । शेखरबाबुले अढाई करोड रुपियाँ पार्टीलाई दिनु भएको छ । शर्माजीलाई १० दिन बस्न भन्नु । अनि बसेर कुरा मिलाउँला, पैसा दिलाउँला ।

ज्योति झाः कुरा के छ भने भाइजी मेरो ममिया ससुरा हुनुहुन्छ बैतडीमा । उहाँले मलाई बाध्य भएर भन्नुभयो कि यस्तो यस्तो छ । डेढ करोड टका लिनु भएको छ ।

सुजित सिंहः डेढ करोड र पचास–पचास लाख अढाई करोड भयो । कति दिनुभएको छ एकपटक सोध्नुस् त ।

ज्योति झाः अढाई करोड

सुजित सिंहः अढाई करोड रुपियाँ मामुली अमाउन्ट होइन ।

ज्योति झाः जी जी

सुजित सिंहः अहिले मैले उहाँलाई भनेको कि प्रेस कन्फरेन्स गर्नुहुन्छ रिर्पोटर्स क्लवमा । शर्माजीलाई पनि भन्दिनुस् कि बीचमा फोन गरे भने अलिकति धम्क्याई दिनु होला प्रेस कन्फरेन्स गर्छु भन्नुस् ।

ज्योति झाः ठिक छ

सुजित सिंहः ठिक छ राख्छु त ?

ज्योति झाः जी भाइजी

सुजित सिंहः आउछु एक हप्तामा ।

ज्योति झाः जी हेतै आउ न ।

सुजित सिंहः साँझमा म कोइलारी गइहाल्छु ।

ज्योति झाः एकपटक कटैयातिर जमिन हेर्नका लागि जानुपर्छ ।

सुजित सिंहः म आउँछु नि । उताबाट आउनुस् न । दुवै दाजुभाइ सँगै जाने ।

ज्योति झाः जी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप