भारतका अन्य राज्यमा धमाधम कोरोना संक्रमित फेला पर्दा बिहारमा किन भेटिएनन् ?
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणको सबैभन्दा बढी मामिला महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । केरलमा १९, उत्तरप्रदेशमा १६ र कर्नाटकमा ११ कोरोना संक्रमित पुष्टि भएको छ ।
भारतको बिहार देशकै तेस्रो धेरै जनसंख्या भएको राज्य हो । तर बिहारमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणको मामिला प्रकाशमा आएको छैन ।
यो अवस्थामा स्वाभाविक रुपमा प्रश्न उठिरहेको छ कि कोरोनाभाइरस बिहारमा साँच्चै देखिएको छैन ? कयौँ मानिस बिहारमा कोरोनाभाइरसको संक्रमणको मामिला नदेखिनुलाई अनौठो मानिरहेका छन् ।
बिहारका प्रख्यात डाक्टर अरुण शाहले एक प्रकारको ज्वरो ‘इएएस संक्रमण’ मा निकै काम गरेका छन् । उनी भन्छन्, ‘कोरोना संक्रमणबारे बिहारमा यो आश्चर्य देखिनुको मुख्य कारण भनेकै यहाँ मानिसहरुले त्यसको उपेक्षा गर्नु हो । आम मानिसमा डर छ, तर सिस्टम लाचार र अव्यवस्थित छ । स्कुल, कलेजमात्र बन्द गर्नु, सभा–समारोह रद्द गर्नुमात्र सावधानी होइन, सबैभन्दा मुख्य कुरा यो भाइरसलाई पहिचान गर्नु हो । बिहारमा डाइग्नोसिसको यो प्रक्रिया भएकै छैन ।’
डा. शाह बिहारमा कोरोनाको कुनै संदिग्ध बिरामीको पहिचान र परीक्षण प्रक्रियामै प्रश्न गर्छन् । उनी भन्छन्, ‘सबैभन्दा पहिलो कुरा, कोरोना जाँचका लागि बिहारमा कुनै ल्याब छैन । सबै गाउँबाट संकलित नमूनालाई पटनामा एकत्रित गरिन्छ र तिनलाई परीक्षणका लागि कोलकाता पठाइन्छ । यो एउटा लामो प्रक्रिया हो । यस्तोमा हामीले संकलन गरेको नमूनाको गुणस्तर जस्तो हुनुपर्ने हो, त्यस्तै रहन्छ त ? स्वाभाविक रुपमा प्रश्न उठेको छ ।’
बिहार सरकारको स्वास्थ्य विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म परीक्षण गरिएका ७० संदिग्ध बिरामीको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ । तर पटना मेडिकल कलेज अस्पतालको जुन कटेज वार्डमा संदिग्ध बिरामीहरुलाई राखिएको छ, त्यहाँ पुग्ने बाटो नै फोहोर र दुर्गन्धले भरिएको छ । बाटोमै नालाको पानी बगिरहेको छ भने बिरामी, चिकित्सक र नर्सहरु त्यही दुर्गन्ध र फोहोरको बाटो पार पर्दै वार्डमा पुग्न बाध्य छन् ।
वार्डको माथिल्लो तलामा कोरोनाका संदिग्ध बिरामीलाई राखिएको छ । वार्डको तल केही सुरक्षाकर्मी छन्, जसले बिरामी, चिकित्सक र नर्सबाहेक अरुलाई माथि जान दिदैँनन् । एक बिरामी त्यहाँबाट भागेका कारण पछिल्लो समय सुरक्षा व्यवस्था कडाइ गरिएको ड्युटीमा तैनाथ एक सुरक्षाकर्मी बताउँछन् ।
वार्डभित्रको अवस्था
पटनाको मन्दिरीमा बस्दै आएकी ऊषा उक्त वार्डमा भर्ना भएका आफन्तलाई भेटेर फर्किएकी थिइन् ।
उनले वार्डको अवस्था खुलासा गर्दै भनिन्, ‘जनावरलाई भन्दा पनि नराम्रो अवस्थामा बिरामीलाई राखिएको छ । धेरै पहिला परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई पनि वार्ड मै राखिएको छ, चिकित्सक, नर्स र कर्मचारीहरुले बिरामीलाई अछुतजस्तो व्यवहार गर्दछन् ।’
ऊषाका अनुसार उनको भाईलाई गत शनिबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको थियो । तर तीन दिन बित्दासमेत परीक्षण रिपोर्ट नआएको गुनासो उनले गरिन् । कोरोना वार्डको तल केही बिरामीका परिवारजनले पनि अझै परीक्षण रिपोर्ट नआएको गुनासो गरे ।
यसैबीच पटना मेडिकल कलेज अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका जमुई निवासी मनीषकुमार मिश्राले भने, ‘दिल्लीमा बसेर काम गर्दै आएको छु, पटना एयरपोर्टबाट संदिग्धका रुपमा मलाई अस्पतालमा ल्याइयो । शनिबारदेखि अस्पतालमा भर्ना भएको छु तर परीक्षण रिपोर्ट अहिलेसम्म आएको छैन ।’
संदिग्ध बिरामीहरुको एउटै गुनासो थियो– खाना समयमा दिइदैँन, पानी पनि छैन, कसैले केही ल्याइदियो भने पनि बाहिरै राखिदिएर जान्छन् । सोझो मुखले कोही पनि कुरा गर्दैनन्, सुरुको ४८ घण्टामा त केही पनि खान दिइएन । निकै हङ्गामा गरेपछि भोलिपल्ट बेलुका बल्ल खान दिइयो । भर्ना भएदेखि नै बेडमा एउटै ओढ्ने–ओछ्याउने प्रयोग गरिरहनु परेको छ ।
कोरोना वार्डमा अहिलेसम्म १३ संदिग्ध बिरामी भर्ना गरिएका छन् । तीमध्ये इटालीबाट फर्किएका राँचीका सिटी एसपी मनीषकुमार र उनकी पत्नी पनि छन् । मनीषकुमारका अनुसार उनको कोठा अरु बिरामीको भन्दा अलग छ । उनका लागि विशेष व्यवस्था गरिएको छ ।
कोरोनाको जाँच कतिसमय भित्र हुनुपर्छ ?
बिरामीमा कोरोना संक्रमणको पुष्टिका लागि विभिन्न पाँच प्रकारका नमूना लिनु पर्छ । तीमध्ये केही नमूनाको परीक्षण नमूना लिएको समयको ६ घण्टाभित्रै गरिसक्नुपर्ने डा. शाह बताउँछन् । ‘त्यसो गरिएन भने नमूना परीक्षणको नतिजाको गुणस्तरमा फरक पर्न सक्छ,’ उनले भने ।
त्यसैले पनि डा. शाह बिहारमा कोरोना संक्रमणको परीक्षण प्रक्रियालाई गलत र असफल मान्छन् । उनको भनाइमा नमूना संकलन गरेको लामो समयसम्म त्यसको परीक्षण गरिएको हुँदैन, जसले रिपोर्टको विश्वसनीयतामा प्रश्न उठाउन सक्छ ।
उनले भने, ‘यदि नमूनाकै गुणस्तरमा फरक पर्छ भने स्वाभाविक रुपमा त्यसको नतिजामा पनि फरक पर्छ नै ।’
नमूना पठाउनै १२ घण्टा
कोरोना संक्रमणको परीक्षण प्रक्रियालाई लिएर पटना मेडिकल कलेज अस्पतालका सुपरिटेन्डेन्ट विमलकुमारले धेरै कुरा प्रष्ट पारेका छन् ।
उनी भन्छन्, ‘हामी केवल नमूना संकलन गर्न सक्छौँ, त्यसको परीक्षण गर्न सक्दैनौँ । हामीसँग जति पनि संदिग्ध बिरामी आउँछन्, उनीहरुको नमूना लिएर हामी आरएमआरआईलाई पठाइदिन्छौँ । त्यहाँबाट पहिला पुणे पठाइन्थ्यो अब कोलकाता पठाउन थालिएको छ ।’
यो प्रक्रियामा कति समय लाग्छ र त्यतिन्जेलसम्म नमूनाको गुणस्तर कायम रहन सक्ला त ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘कोलकातासम्म नमूना पठाउन र मगाउन कति समय लाग्छ भन्ने तपाईलाई थाहा छैन र ? सामान्य रुपमा १२ घण्टाजति समय लागिहाल्छ नि !’
नमूनाको गुणस्तरका बारेमा उनले भने, ‘हाम्रो काम नमूना संकलन गरेर पठाउने हो, बाँकी काम हाम्रो होइन ।’
नमूना संकलन गरेर कोलकाता पठाउन १२ घण्टा लाग्ने भए पनि नतिजा आउन ३–४ दिन किन लागेको होला ? जवाफमा उनले भने, ‘यो प्रश्नको जवाफ त कोलकातास्थित ल्याबले र आरएमआरआईले नै दिन सक्छन् । हामीले पठाएका सबै नमूनाको नतिजा नेगेटिभ आएको छ, हामीले भन्न सक्ने कुरा यतिमात्र हो ।’
विदेशबाट आएकामात्र संदिग्ध !
कोरोनाका संदिग्ध संक्रमितको मुख्य पहिचान भनेकै सम्बन्धित व्यक्ति विदेशबाट आएको हो कि होइन ? वा विदेशबाट आएको कुनै व्यक्तिको सम्पर्कमा आएको व्यक्ति हो कि होइन ?
त्यसैले पनि बिहारको विमानस्थल र राज्यको सीमामा विदेशबाट आएकाहरुको आगमनमा रोक लगाइएको छ । जो आइरहेका छन्, उनीहरुलाई नै संदिग्ध मानिएको छ ।
संदिग्धको पहिचानमा लागू गरिएको मापदण्डप्रति पनि डा. शाह असन्तुष्टि जनाउँछन् ।
उनले भने, ‘विदेशलाई मात्र किन मापदण्ड बनाउने ? सबै छिमेकी राज्यमा कोरोना संक्रमण आइसकेको छ । तपाई बस स्टेशन र रेलवे स्टेशनमा हेर्नुस् त, कति भीड छ ! होलीपछि राज्यबाट जानेको भीड हुन्थ्यो तर अहिले राज्यमा आउनेको भीड छ । जो रेल र बसबाट अरु राज्यबाट बिहारमा आइरहेका छन्, उनीहरुबाट संक्रमण आउन सक्दैन र ? जब हामी स्क्रिनिङ्ग नै गर्न सकिरहेका छैनौँ भने डाइग्नोसिसको त कुरै छैन ।’
पीएमसीएच, आईजीआईएमएस व एम्स में होगी जांच pic.twitter.com/56C979X3zH
— Mangal Pandey (@mangalpandeybjp) March 18, 2020
स्वास्थ्यमन्त्रीको तर्क
त्यसो भए सरकारले नै कोरोनाको खतरालाई उपेक्षा वा कम आँकलन गरेको हो त ?
बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डे भन्छन्, ‘उपेक्षाको कुरै होइन, बिहारमा मात्र होइन कि कयौँ अरु राज्यमा पनि यसको जाँचका लागि ल्याब छैन । उनीहरु पनि परीक्षणका लागि अन्य ठाउँमा नमूना पठाउँछन् । हामीले आफ्नो स्तरमा यसका लागि तीव्र प्रयास गरिरहेका छौँ । महिना दिनभित्र राजेन्द्र मेमोरियल इन्स्टिच्यूटमा यसको जाँचको व्यवस्था भइसक्ने छ ।’
स्वास्थ्य विभागको तथ्यांकअनुसार बिहारमा ३ सय १५ जनालाई संदिग्धका रुपमा निगरानीमा राखिएको छ । राज्य सरकारले बुधबार महामारी एक्ट लागू गरेको छ ।
एकातिर कोरोनाभाइरसको खतरालाई मध्यनजर गर्दै राज्य सरकारले दैनिक नयाँ नयाँ कदम उठाइरहेको छ । तर अर्कोतिर, अहिलेसम्म कोरोना संक्रमित एकजना पनि पत्ता लगाउन सकिरहेको छैन ।
बुधबार बिहार विधानसभामा मास्क लगाएर पुगेका नेताहरुलाई मुख्यमन्त्री नितिषकुमारले भने, ‘यस्तो गरेर तपाईहरु पेनिक सिर्जना नगर्नुस्, यहाँ कोरोना छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा