शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सन्त्रास : संसद र अदालत बन्द गर्ने तयारी, सर्वोच्चले बोलायो ‘फुलकोर्ट’ बैठक !

बिहीबार, ०६ चैत २०७६, ११ : ४३
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण संसद र सर्वोच्च अदालत समेत बन्द गर्नुपर्ने आवाज उठेपछि यसबारे निर्णय गर्न सरोकारवालाहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यसका साथै सरकारले बुधबार गरेको निर्णयअनुसार २५ जनाभन्दा बढी भेला हुन प्रतिवन्ध लगाएपछि संघीय संसद अन्र्तगतका प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद अन्र्तगतका समिति बैठक बस्ने या नबस्ने भन्नेमा अन्यौल सिर्जना भएको छ ।

उता, अर्को संवैधानिक निकाय अदालतका कामकारवाही समेत के गर्ने भन्ने बहस सुरु भएको छ । गत मङ्गलबार नेपाल बार एशोसिएशनले अदालतका अत्यावश्यक बाहेकका अन्य काम कारबाही स्थगित गर्न सर्वोच्च अदालतसमक्ष माग गरेको थियो । त्यस्तै सर्वोच्च अदालत बार एशोसिएशनले पनि अदालतका काम कारबाही स्थगन गर्न माग गरेपछि परिस्थिति अनुसार निर्णय गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक बोलाइएको छ ।

त्यस्तै शुक्रबार हुने दोस्रो सिफ्टको पेशी समेत स्थगित गरिएको सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । ‘मुद्दाको चाप घटाउन सर्वोच्चमा दुई सिफ्ट इजलास चल्दै आएको छ । यो चापलाई पनि मध्यनजर गर्दै र सरकारको निर्णयलाई हेरेर फुल कोर्टको बैठकले निर्णय गर्छ’, सहप्रवक्ता ढकालको भनाइ छ । शुक्रबार बस्ने फुलकोर्ट बैठकले त्यसपछिका केही समय बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेक अन्य मुद्दाको सुनुवाइ स्थगनको निर्णय गर्न सक्ने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । प्रत्येक बुधबार बाहेक अन्य दिन विशेष परिस्थिति र विशेष निर्णय गर्नुपरेमा मात्रै सर्वोच्चको फुलकोर्ट बैठक बेलाउने गरिन्छ ।

हाल कोरोनाभाइरास संक्रमण विश्वव्यापी बनिरहेको छ । सम्भावित संक्रमण नियन्त्रणका लागि धेरैजसो देशहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । यो संक्रमणको त्रास फैलिएसँगै नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले विद्यालय, क्याम्पसका शैक्षिक कार्यक्रम तत्काललाई स्थगित गर्नेदेखि, सिनेमा हल, डान्स क्लव, खेलकुद लगायतका क्षेत्र बन्द गर्ने घोषणा गरेको छ । यता, जनताको सर्वोच्च निकाय संसद बैठक पनि स्थगित गर्नुपर्ने आवाज सांसदहरुले नै उठाएको र सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन गरेको आग्रह अनुसार आवाश्यक रणनीति बनाउन संसद सचिवालय र सभामुखले सरोकारवालाहरुसँगको छलफललाई तीव्रता दिएका छन् । प्रतिनिधि सभाको बैठक यही चैत ७ गतेलाई  बोलाइएको छ भने चैत ६ अर्थात आज राष्ट्रिय सभा बैठक बस्दैछ ।

यसअघि कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका संयोजक पोखरेलले आवश्यक परे ‘लकडाउन’ नै गर्न सक्ने बताएका थिए । 

यसै विषयलाई मध्यनजर गर्दै प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनबारे आजै परामर्श बैठक बोलाउने तयारी गरेका छन् । सभामुख सापकोटाले बिहीबार दलहरुसँग परामर्श बैठक बोलाएको र सोही बैठकको निर्णय अनुसार संसद बैठक स्थगित गर्ने वा चलाउने भन्ने निर्णय हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपोनले बताए ।

‘प्रतिनिधि सभाको बैठक शुक्रबारलाई बोलाइएको छ । तर अहिलेको परिथितिमा बैठक चलाउने या बन्द गर्ने भन्नेमा सभामुखज्युले आन्तरिक छलफल गरिरहनुभएको छ,’ सभामुखका सल्लाहकार न्यौपानेले रातोपाटीलाई बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप