कोरोनाभाइरसको महामारीले डेङ्गु ओझेलमा
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको सन्त्राससँगै डेङ्गु रोगको पनि सन्त्रास फैलिएको छ । विश्वव्यापी रुपमा कोभिड–१९ ले महामारीको रुप लिँदा नेपालमा त्यसबाट बच्नका लागि सरकारले सावधानी अपनाइरहँदा डेङ्गु रोगी ओझेलमा परेका छन् । विगतका वर्षहरुमा नेपालमा महामरीको रुप लिएको डेङ्गुबारे समयमै सचेत नभएको खण्डमा यस वर्ष ठूलो महामारीको रुप लिन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।
गर्मी मौसमको सुरुवाती चरणमै पहाडी जिल्लाहरुमा डेङ्गुका बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाकाअनुसार देशका विभिन्न अस्पतालहरुबाट ३६ जना डेङ्गुका बिरामी देखापरेका छन् । प्रदेश नम्वर १ को झापामा १, मोरङमा ३, सुनसरी जिल्लामा २ गरी ६ जना डेङ्गुका बिरामी देखापरेका छन् ।
यस्तै, वाग्मती प्रदेशको नुवाकोट जिल्लामा १, काठमाडौंमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ जना गरी ९ जना बिरामी भेटिएको इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले जनाएको छ । गण्डकी प्रदेशमा भने ५ जना डेङ्गुका बिरामी देखापरेका छन् । म्याग्दी १, गोरखामा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ जना गरी ५ जना बिरामीमा देखापरेका छन् ।
यता प्रदेश नम्बर ५ मा गर्मी मोसम सरुवाद भएसँगै अन्य प्रदेशको तुलनामा १४ जना बिरामीमा देखापरेका छन् । नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देही जिल्लामा ११, कपिलवस्तुमा १ र बाँकेमा १ जना डेङ्गुका बिरामी देखापरेको सरुवारोग महाशाखाले जनाएको छ । सुदुरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा १ जना र कैलालीमा १ जना डेङ्गु संक्रमित बिरामी भेटिएका छन् ।
गर्मी मौसमको सुरुवाती चरणमै धमाधम डेङ्गुका बिरामी देखिदा यसलाई महामारीको रुपमा फैलन नदिनका लागि सरकारले तगारुकता नदेखाउने हो भने डेङ्गु बिरामी ओझेल परेको खण्डमा हिमाल, पहाड र तराई क्षेत्रमा महामारीको रुप लिएर फैलिन सक्ने विज्ञहरुको चिन्ता रहेको छ ।
विश्वभर महामारी रुपमा फैलिएको कोभिड–१९ को संक्रमण हुन नदिनका लागि कार्य भइरहेकाले डेङ्गुसम्बन्धी कार्यक्रम केही दिनको पछि धकेलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले कोभिड–१९ को रोकथाममा लाग्न निर्देशन दिएको छ,’ डाक्टर पाण्डे भन्छन्, ‘करिब दुई हप्ता जति कोरोनातिर त्यसपछि डेङ्गुतिर लाग्छौँ ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अहिले कोभिड–१९ संक्रमणको बारेमा सावधानी तथा सचेतनामा सक्रिय भइरहेको र छिट्टै डेङ्गु रोगलाई प्राथमिकता दिएर लाग्ने उनले जानकारी दिए । ‘कोरोनासम्बन्धी कार्यक्रमहरुमा लागिरहेका छौँ भनेर त्यत्तिकै बस्ने कुरा हुँदैन,’ उनी भन्छन्, ‘डेङ्गुलाई महामारीको रुपमा फैलिन नदिन रोग नियन्त्रण महाशाखा लागी पर्छ ।’ डेङ्गु रोगसम्बन्धि चिकित्सक, स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रम तथा तालिम सञ्चालन गर्न पर्ने प्रमुख डाक्टर पाण्डे बताउँछन् ।
अघिल्ला वर्षहरुमा महामारीको रुप लिएको जिल्लामा लामखुट्टको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काम इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेपनि हाल भने कुनै पनि कार्यक्रम सार्वजनिक गरेको छैन । डेङ्गु रोग नियन्त्रणका लागि डेङ्गु रोग निदानको द्रूत कीट जिल्ला तथा अस्पतालमा विवरण बुझने काम समयमै नगरे विगतको वर्षहरु जस्तै महामारीको रुपमा फैलिन सक्ने खतरा रहेको छ । सन् २०१९ मा महामारीको रुपमा फैलिँदा सुनसरीमा मात्रै ३ हजार २६६ जना डेङ्गुका बिरामी भेटिएका थिए ।
डेङ्गुको विश्वव्यापी अवस्था
विगत केही वर्षदेखि विश्वभरी डेङ्गु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गहिरेको छ । पछिल्ला दशकहरुमा डेङ्गुको संक्रमण ३० गुणाले बढेको तथ्याङ्क छ । विश्वका आधा जनसङ्ख्याभन्दा बढी डेङ्गुको जोखिममा रहेका महाशाखाले जनाएको छ । १ सय २८ भन्दा बढि मुलुकमा ३.९ अर्ब मानिस डेङ्गुको जोखिम क्षेत्रमा बसोबास गर्दै आएका छन् । प्रत्येक वर्ष करिब ३९ करोड मानिसमा डेङ्गु रोगको संक्रमण हुनका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।
डेङ्गुका लक्षण र बाच्ने उपाय
डेङ्गु एक प्रकारको भाइरल ज्वरो हो । एडिस जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । नेपालमा पछिल्लो समयमा गर्मी मौसममा तराईसँगै हिमाल, पहाडमा यसको प्रकोप देखापर्न थालेको छ ।
डेङ्गु हुँदा देखिने मुख्य लक्षण भनेको ज्वरो हो । डेङ्गु हुँदा ५ देखि ७ दिनसम्म ज्वरो आउन सक्छ । आँखा र जोर्नीहरु दुख्नुका साथै मांसापेशीहरू पनि दुख्छ । शरीरमा विविरा तथा दागहरू देखापर्छ । डेङ्गु रोगबाट बाच्नका लागि मुख्यतः लामखुट्टेको बृद्धि रोक्नु पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् ।
यस रोगबाट बाच्नका लागि स्वयम् व्यक्तिहरुले घर र आफ्नो वरिपरी सफा राख्नुपर्छ । पानी जम्ने साना—ठूला खाल्टा खुल्टी बनाउन नहुने पुन बताउँछन् । डाक्टर पुनका अनुसार मुख्यतः लामखुट्टेको वृद्धि रोक्नका लागि विभिन्न किसिमका भाडा जस्तै ड्रम, पानी जम्ने टायर आदिमा पानी जम्मा गर्नुहुँदैन । लामखुट्टेको टोकाइबाट बच्न लागि लामखुट्टे भगाउने मलहम लगाउनुपर्छ । राति सुत्दा झुलको प्रयोग गर्नुपर्छ । पहिल्लो समय तराई क्षेत्रमा मात्रै नभएर पहाडी, हिमाली क्षेत्रमा डेङ्गुका बिरामी दखापर्न थालेकाले सर्कता अपनाउनुपर्ने डाक्टर पुनको भनाइ छ ।
डेङ्गु रोग पहिलो पटक संक्रमण भएर पुनः त्यही व्यक्तिलाई संक्रमण भयो भने जटिल बन्न सक्छ । यस्तै गर्भवती महिलालाई डेङ्गु रोगको संक्रमण हुँदा पनि जटिल अवस्था सृजना हुन सक्छ । त्यसैले दोस्रो पटक डेङ्गु लागेका, दीर्घरोगी र गर्भवती महिलाले विशेष ख्याल गर्न जरुरी हन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने