बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिडियो समाचार : अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह

बुधबार, ०५ चैत २०७६, १८ : २५
बुधबार, ०५ चैत २०७६

कोरोना भाइरसको त्रास

सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आह्वान गरेको छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत  र हिडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो । 

त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाईएको छ । 

समितिले सबै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदीलाई २०७७ साल बैशाख १८ गते सम्म बन्द गर्न भनेको छ । 
यससम्बन्धी सुचना गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र सञ्चार तथा सूचना  प्रविधि मन्त्रालयले गर्ने गरि कार्यविभाजन गरिएको छ ।

बैठकले सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु आअ‍ेसारपसार नगर्न , नगराउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । साथै सर्वसाधरण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्दै नेपाल प्रहरीलाई सार्वजनिक यातायातको अनुगमन गर्ने जिम्मेवारी दिएको छ । 

समितिले सार्वजनिक महत्व र मानिसहरु बढी जमघट हुने स्थानहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्न भनेको छ ।
 सार्वजनिक यातायातका सवारी धनीलाई पनि यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसइन्फेक्सन गर्न लगाउन  भनिएको छ ।

त्यसैगरी सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु,इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरु संगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो । 

यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फक्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । नेपाल सरकारद्वारा ट्राभल एडभाईजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने गरि व्यवस्था गर्न वायु सेवा कम्पनीहरुलाई निर्देशन पनि गरिएको छ ।

सरकारले भोलि बिहीबारदेखि सुरु हुने एसईई परीक्षा भने सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेक्स स्थापना गर्ने भएको छ । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्त सम्मका लागि बन्द गरिने भएको छ ।

त्यसैगरी, होटल, रेष्टुरन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने सेनिटाईजर लगायत सफाईका सामाग्रीहरुको प्रबन्ध गरी टेबल कुर्सी, बार रेलिङ्ग र शौचालय आदि स्थानहरुमा नियमित रुपमा डिसइन्सेक्सन गर्न लगाउने निर्णय बैठकले गरेको छ । 


स्वास्थ्य मन्त्रालय

कोरोनाभाइरसलाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला हाल देशमा संक्रमण भने कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो । मन्त्रालयका अनुसार हालसम्म संकास्पद ५१२ जनाको स्याम्पल टेस्ट भएकोमा ५११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

सुरुमै चीनबाट आएका एक नेपालीमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनी निको भएपछि त्यसयता कसैमा पनि भाइरसको संक्रमण नदेखिएको मन्त्रालयको भनाइ छ । अहिले मौसम परिवर्तनको समय रहेकाले रुघाखोकीको बिरामी हुने हुँदा अहिले थप त्रास देखिएको छ ।  तर सरकारले पर्याप्त सावधानी अपनाइएको र नागरिक स्वयमलाई पनि सावधानी अपनाउन अपील गरेको छ । 

कोरोना संक्रमण हालसम्म १६९ देशमा फैलिइसकेको छ । विश्वभर २ लाख ३ हजार बढी व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ८ हजार २ सय बढीको मृत्यु भइसकेको छ । ८२ हजार ८ सय बढी संक्रमित निको भएका छन । १ लाख १२ हजार ५ सय बढी अझै उपचाररत छन् । 

चाइनामा कोरोना संक्रमित घट्दै गएका छन भने यूरोप अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । इटालीमा हालसम्म २ हजार ५ सय बढीको मृत्यु भइसकेको छ  भने इरानमा १ हजार १ सय ३५ को मृत्यु भएको छ । उता फ्रान्समा १ ७५ र अमेरिकामा १ सय १६ को मृत्यु भएको छ ।

भाइरस संक्रमणका कारण साउथ कोरिया, जर्मनी, स्विजरल्याण्ड जपान यूके लगायतका देशमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्ला दिन यूरोपमा भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा पनि भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।

कोरोना नेपाली सेना

नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ । 

सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको छ । 

उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २—२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकहरुलाई तालिम दिइएको हो । 

सेनाले १८१ जनालाई तालिम दिइएको छ जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम रहेको छ । सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ । ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्ट २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो । प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २—२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताए । 

 फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु हुने उनले बताए । 

उद्योग मन्त्रालय 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफूले लिने बताएका छन् । 
बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताएका हुन् । 
 मन्त्रालयले नियमित बजार अनुगमनलाई तीव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए । 

व्यवसायीहरुको माग

यता, यातायात व्यवसायीहरुले भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न माग गरेका छन् ।

यातायात व्यवस्था विभागमा सरोकारवालाहरुसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन् ।

 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले देशका विभिन्न बसपार्कहरु, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए । 

विद्युत नियमन आयोग

नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल निर्धारण माथि विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ आह्वान गरेको छ । 

आयोगले बुधबार पत्रकार सम्मेलन गरी यही चैत १४, १६ र १७ गते काठमाडौंमा सार्वजनिक सुनुवाई गर्न लागेको बताएको हो । 

 आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले सार्वजनिक सुनुवाईमा आयोगका अध्यक्ष, सदस्यहरु, तथा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुको उपस्थिति रहनेभएकाले उपभोक्ता र सरोकारवालाहरुलाई उपस्थिति हुन आह्वान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप