मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका परिवारलाई वडाध्यक्षको राहत

बुधबार, ०५ चैत २०७६, १७ : ५२
बुधबार, ०५ चैत २०७६

जनकपुर । अवैध घरेलु मदिरा सेवनका कारण मृत्यु भएकाहरुको परिवारलाई जनकपुरधामका एक वडाध्यक्षले राहत वितरण गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले विषाक्त मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई राहत वितरण गरेका हुन् ।

वडाध्यक्ष साहले एक सातापूर्व विषाक्त मदिरा सेवनले ज्यान गुमाएका ७ जना मृतकका परिवारलाई राहतस्वरुप रकम उपलब्ध गराएका छन् । वडाध्यक्ष साह सहितको टोलीले मृतकका परिवारलाई भेटेर प्रति मृतक परिवार २५ किलो चामल, २५ किलो आलु, नून, साडी, धोती र नगद २ हजार ५ सयको दरले तत्कालका लागि राहत स्वरुप सहयोग उपलब्ध गराएका छन् ।

राहत वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष साहले मृतक परिवारलाई यो राहत तत्कालका लागि आफुहरुले मिलेर उपलब्ध गराएको र थप सहयोगका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह र प्रदेश सरकारसँग समेत आफुले समन्वय गरिरहेको जानकारी दिए । उनले अब उपरान्त मदिरा सेवन नगर्न मुसहरी टोलका सबैलाई आग्रह समेत गरे ।

अवैध मदिरा सेवनका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा होली पर्वको अवसरमा फागुन २९ देखि चैत ४ सम्ममा मिथिला सदा, झगरु सदा, बनारसी देवी सदा, जितेन्द्र सदा, दिनेश सदा, रामोदेवी सदा र रामरतीदेवी सदा लगायत ७ को मृत्यु भएको जनकपुरधाम उपमहानगरको वडा नम्बर ७ को कार्यालय छ ।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष साहसँगै वडा सदस्यहरु नाजिर हुसैन, सन्तोष सरवरिया, रामराजीदेवी दास लगायतकाहरुको समेत उपस्थिति थियो । धनुषामा फागुनको अन्त्यदेखि चैतको पहिलो हप्तासम्मा अवैध विषाक्त मदिरा सेवनका कारण २२ जनाको मृत्यु भइसकेको छ । तर प्रहरीले जनकपुरधाममा मृत्यु हुनेहरुको हकमा भने विषाक्त मदिरा सेवनकै कारण मृत्यु भएको भनेर आधिकारिक पुष्टि गरेको छैन ।

जिप्रका धनुषाका प्रहरी निरीक्षक अशोक झाले हालसम्म विषाक्त मदिरा सेवन गरी अहिलेसम्म रमदैयामा ९ जनाको मृत्यु भएको र जनकपुरमा ज्यान गुमाएकाहरुले पनि मदिरा सेवन गरेको तर अन्य कारणले मृत्यु भएको हो कि भन्नेबारेमा पनि अनुसन्धान भइरहेको बताए । प्रदेश नम्बर २ सरकारले ज्यान गुमाउनेका प्रति परिवारलाई ३ लाख रुपैयाँ सहयोग दिने निर्णय गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप