मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘खर्च २७ हजार, कमाइ ८ हजार !’

यातायात व्यवसायी भन्छन् : सरकारलाई असहयोग हुन्छ भनेर मात्र हो, नत्र बन्द गर्थ्यौँ
बुधबार, ०५ चैत २०७६, ०९ : २६
बुधबार, ०५ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरसको महामारीको ‘चेन इफेक्ट’मा यतिखेर यातायात क्षेत्र परेको छ । विश्वमा कोरोनाभाइरसको सन्त्रासकाबीच पर्यटन, वैदेशिक रोजगारीको आगमन–प्रत्यागमनसँगै देश भित्रको चहल–पहल समेत रोकिदा त्यसको प्रत्यक्ष मारमा यातायात क्षेत्र परेको हो । हाल यातायात क्षेत्रको करिब ७५ प्रतिशत व्यवसाय डाउन हुन पुगेको छ ।

कोरोनाभाइरसकै कारण यातायात क्षेत्रको अर्बौँको व्यवसाय गुमेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘अन्तरदेशीय पोर्ट तथा बोर्डरहरु बन्दछन् । विदेशी पर्यटकहरुको आगमन ठप्प जस्तै छ । मुलुकभित्रको चहलपहल र कार्यक्रमहरु पनि बन्द छन् । कोरोनाकै डरले मान्छेहरु बाहिर निस्कन चाहँदैनन् । यस्तो अवस्थामा गाडीहरुले कसरी प्यासेन्जर पाउने ?’ महासचिव सिटौलाले भने, ‘धन्न हामीले सेवा दिइरहेका छौँ ।’

महासचिव सिटौलाका अनुसार अहिले यातायात क्षेत्रमा व्यवसायी टिक्ने अवस्था छैन । यात्रुकै अभावमा सवारी साधनहरुले तेलको खर्चसमेत कमाइ गर्न सकेका छैनन् । जसका कारण हाल कुल सवारी साधनको करिब ५० प्रतिशत सवारी साधनहरु चल्न छाडिसकेका छन् ।

हुनपनि आजभोलि सडकमा सवारीको चाप पातलिदै गएको छ । सधैँजसो खचाखच हुने सवारीको चाप विस्तारै कम हुँदै गएको छ । कोरोनाकै कारण उपत्यकाभित्र मात्र नभएर उपत्यका बाहिर पनि सवारी सञ्चालनको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ ।

काठमाडौँ नयाँ वसपार्कका व्यवस्थापक दिल्लीराज भुषाल कोरोनाकै कारण यात्रुको अभावमा यातायात सेवा नै बन्द हुने अवस्थामा पुगेको बताउँछन् । अहिले लामो तथा छोटो दुरीका कुनै पनि सवारीले आफ्नो खर्च समेत धान्ने अवस्था नरहेको बताउँदै भुषालले व्यवसायीहरुले बैंकको ब्याज तिर्न नसक्ने अवस्था आएको बताए ।

‘हिजोमात्र एउटा गाडी तौलिहवाबाट काठमाडौँ आयो । ३ सय किलोमिटर गुडेर आएको गाडीको खर्च २७ हजार छ । तर कमाइ भने जम्मा ८ हजार । अनि कसरी टिक्ने ?’ भुषालले भने, ‘यस्तो असहज परिस्थितिमा सरकारलाई असहयोग हुन्छ भनेर मात्र हो । नत्र यातायात सेवा नै बन्द गथ्र्यौँ ।’

भुषालका अनुसार अहिले लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरुले आफ्नो तेलको खर्चसमेत धान्न सकेका छैनन् । यसले बैङ्कको ब्याज बढेर व्यवसायीहरु डुब्ने निश्चित छ ।

यता, पूर्वतर्फको यातायातको अवस्था पनि उस्तै छ । मेची यातायात व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ पूर्वको यातायात क्षेत्रको करिब ७५ प्रतिशत व्यवसाय चौपट भएको बताउँछन् । भारतीय तीर्थ यात्रीसहित स्वदेशी नागरिकहरुको चहलपहलसमेत कम हुँदै जादा यातायात क्षेत्र धरासाही बन्न पुगेको श्रेष्ठको भनाइ छ ।

‘बजार सुनसान छ । मान्छेहरुको चहलपहल छैन । उता, भारतीय पर्यटकहरु उतै रोकिएका छन् भने, यता स्वदेशी नागरिकहरुको पनि खासै चहलपहल छैन । यसले प्यासेन्जर पाउनै मुस्किल छ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘भएका चलेका गाडीहरु पनि ८–१० जना बोकेर रित्तै गुड्नु परिरहेको छ । यस्तै अवस्था रहिरहे अबको केहि दिनमा नै सबै सेवा ठप्प पार्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’ अध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार हाल पूर्वतर्फ साना–ठूला गरी करिब ५० को संख्यामा सवारी साधनहरु सञ्चालित छन् । तर कोरोनाको सन्त्राससँगै यात्रु घटेपछि अहिले पूर्वतर्फ करिब २०–२२ को संख्यामा मात्र सवारी साधनहरु सञ्चालित छन् ।

ठूलो मारमा पोखरा

यतिखेर कोरोनाको ठूलो मारमा पर्यटकीय नगरी पोखरा परेको छ । यसको असर यातायात क्षेत्रसँग पनि जोडिएको छ । पोखराको करिब ९० प्रतिशत यातायात व्यवसाय ठप्प भएको पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्र केसी बताउँछन् । अहिलेको अवस्थामा कुल व्यवसायको जेनतेन १० प्रतिशत मात्र व्यवसाय धानिरहेको केसीको भनाइ छ ।

‘कोरोनाको महामारी पछिको पोखराको अवस्था अत्यन्त दयनीय छ । यहाँको कुनै पनि व्यवसाय राम्रो छैन । पर्यटकको अभावमा पोखराको होटलदेखि यातायात व्यवसाय कुनै पनि क्षेत्रको व्यवसाय राम्रो छैन ।’ अध्यक्ष केसीले भने, ‘पोखराले ठूलो लगानी गुमाएको छ । अहिले हामीस यातायात व्यवसायीहरुले समेत त्यसको मूल्य चुकाउनु परिरहेको छ ।’

अध्यक्ष केसीका अनुसार हाल पोखरा–काठमाडौँ गर्ने दिवा र रात्रिकालिन सेवा गरी करिब २ सय ३० को हारहारीमा सवारी साधनहरु छन् । जसमा हाइस माइक्रोको संख्या मात्र १ सय ५० को हारहारीमा छ । त्यस्तै, ५० मिनिबस, १५ एसी डिलक्ससहित १५ वटा रात्रीकालिन बस सेवा सञ्चालित छन् । तर व्यवसाय चौपट छ । एउटा गाडीले ४–५ जना मात्र बोकेर गुड्नु परेको छ ।

पोखरामा मात्र होइन अन्य क्षेत्रमा पनि यात्रुहरुको चाप घट्दै गएको छ । आम्दानी नहुँदा व्यवसायीहरुले गाडी चलाउन छाड्दै गएका छन् । दैनिक ४–५ सयको हारहारीमा राजधानीबाट सवारी साधन बाहिरिनेमा यो समयमा मुस्किलले ३ सयको हारहारीमा मात्र बाहिरिरहेका छन् । भने, सोही दरमा उपत्यका भित्रिरहेका छन् ।

तर, यातायात क्षेत्रमा यती ठूलो र भयाभहको स्थिति आइसक्दासमेत सरकार मुकदर्शक बनेको यातायात व्यवसायीहरुको आरोप छ । यातायात व्यवसाय चौपट भइसक्दासमेत सरकारले एक पटक पनि व्यवसायीहरुसँग छलफल नगरेको र राय सुझाव नलिएको महासचिव सिटौलाको भनाइ छ ।

‘यातायात व्यवसायीहरु मर्नु न बाच्नुको अवस्थामा पुगिसकेका छन् । व्यवसाय चौपट छ । यस्तै अवस्था रहे अबको केहि समयमानै व्यवसाय छाड्नु पर्ने अवस्था आउँछ । तर सरकारलाई यस विषयमा कुनै मतलब नै छैन ।’ सिटौलाले भने, ‘कमसेकम व्यवसायीहरुसँग सरकारले छलफल त गर्नु पर्ने हो नी । हामी सरकारको बाटो हेर्दै छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप