शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जाँदाजाँदै गभर्नरको पाँचतारे होटलमा भव्य भोज

मङ्गलबार, ०४ चैत २०७६, १९ : ५०
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकबाट बिदा भएका छन् । ५ वर्षे कार्यकाल पूरा गरि गभर्नर नेपाल मंगलबार राष्ट्र बैंकबाट बिदा भएका हुन् । २०७१ चैत ५ गते राष्ट्र बैंकको १६ औं गभर्नरको रुपमा नियुक्ति पाएका नेपालको आर्यकाल आज सकिएको हो । 

बिदा हुनुअघि गभर्नर नेपालले डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित सबै विभागका विभागीय प्रमुखसँग दिउँसो समीक्षात्मक भेट गरेका थिए । सो भेटमा आफूलाई ४ वर्षसम्म सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिएको भेटमा सहभागी राष्ट्र बैंकका एकजना कार्यकारी निर्देशकले जानकारी दिए । ‘गभर्नरज्यूले अरु केही भन्नुभएन, आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद मात्रै दिनुभयो,’ ती कार्यकारी निर्देशकले भने । 

त्यस्तै, मंगलबार साँझ नै गभर्नर नेपालले रात्रिभोज समेत दिएका छन् । गभर्नर कार्यालयको आयोजनामा दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा रात्रीभोज दिइएको हो । सो कार्यक्रममा राष्ट्र बैंकका प्रथम श्रेणी अधिकृत वा सोभन्दा कर्मचारीलाई आमन्त्रण गरिएको थियो । 

राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्द नागेलाले भने राष्ट्र बैंकमा भेला गर्न हल नभएका कारण होटलमा सामूहिक बिदाई कार्यक्रमको आयोजना गरेको दाबी गरेका छन् । ‘यो राष्ट्र बैंकभित्रै आन्तरिक रुपमा गर्नुपर्ने कार्यक्रम हो । तपाईँलाई थाहै छ, राष्ट्र बैंकमा त्यस्तो ठाउँ छैन, त्यसैले यहाँ कार्यक्रम आयोजना गरिएको हो’ नागेलाले भने । 

रात्रीभोजअघि नेपालले मंगलबार नै आफ्नो कार्यकालमा गरेका उपलब्धिको फेहरिस्त प्रस्त्ुत समेत गरेका छन् । सँगै ३ पृष्ठ लामो बिदाई मन्तव्य समेत राख्दै नेपालले आफ्नो कार्यकालमाम बैंकिङ क्षेत्रको सुदृढीकरण, वित्तीय स्थायित्व र समष्टिगत आर्थिक स्थायित्वमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे । सो सम्बन्धमा उनले करिब २२ वटा सुधारका कामहरु समेत पेश गरेका छन् ।

यस्ता छन् गभर्नर नेपालले दाबी गरेका सुधारका कामहरु

१.भूकम्प र नाकाबन्दीको अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गराएको । 

२. बैंक तथा वित्तीय संस्थाको पुँजी बढाएको ।

३. बैंक तथा वित्तीय संस्थाहरुको मर्जर गरेर संख्या घटाएको । 

४. ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको । वित्तीय संस्थाहरुको कूल शाखा संख्या ३ हजार ७ सय ३९ बाट ९ हजार ५ सय ५० पुगेको, प्रतिशाखा जनसंख्या ७ हजार ३ सय ९७ बाट घटाएर ३ हजार १ सय मा झारेको । 

५. निक्षेप खाताको संख्या १ करोड ४३ लाखबाट ३ करोड ११ लाख पुर्याएको । ऋण खाता १० लाख ८ हजारबाट १४ लाख ९८ हजार पुगेको । बैंकिङ पहुँच ६१ प्रतिशत पुगेको । लघुवित्तको सदस्य संख्या १४ लाख ७९ हजार बाट ४६ लाख ४० हजार पुर्याएको । 

६. निक्षेप १५ खर्ब४१ अर्बबाट ३४ खर्ब ४३ अर्ब पुगेको । कर्जा १२ खर्ब ८० अर्बबाट ३१ खर्ब २१ अर्ब पुगेको । 

७. प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जाको हिस्सा बढाएको । विपन्न वर्गमा जाने कर्जाको सीमा निर्धारण गरेको । पुनकर्जाकोषको आकार बढाएको र पुनकर्जा कार्यविधि समेत ल्याएको । 

८. वित्तीय संस्थालाई प्रादेशिक ढाँचामा रुपान्तरण गरेको । वाणिज्य बैंकलाई प्रादेशिक कार्यालय खोल्न लगाएको । 

९. ब्याजदर करिडोर लागु गरेको । 

१०. एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको, हेजिङ कार्यविधि तर्जुमा गरेको । 

११. विदेशबाट निक्षेप र ऋण ल्याउन बैंकहरुलाई सहजीकरण गरेको ।

१२.वित्तीय स्थायित्वलाई सुदृढ बनाउन संस्थागत सुशासन, बासेल ३ को जोखिममा आधारित सुपरिवेक्षण तथा नेपाल वित्तीय लेखामानको अवलम्बन तथा सुपरिवेक्षकीय सूचना प्रणालीको विकास गर्ने कार्य गरिएको ।

१३. बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व तथा कर्मचारी विकासमा अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको । 

१४.भुक्तानी प्रणाली विभाग, कर्णाली प्रदेश कार्यालय, ग्राहक संरक्षण इकाई र डिजास्टर रिकभरी साइट स्थापना । 

१५.आरटीजीएस प्रणाली सञ्चालनमा ल्याइएको ।पोइन्ट अफ सेल कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरिएको । 

१६.बैंक बाहेकका ९भुक्तानी प्रणाली सञ्चालक र १३ भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई अनुमति दिएको । 

१७.गो–एएमएल सफ्टवेयर लागु गरेको । १५ देशसँग वित्तीय जानकारी आदानप्रदान गर्ने समझदारी गरेको । 

१८. पूर्वाधार विकास बैंकको स्थापना ।

 १९. बैंकहरु समस्याग्रस्त हुन छाडेको । १६ समस्याग्रस्त बैंकमध्ये १२ वटा खारेज, सुधार वा रिजोलुसनमा गएको तथा बाँकी ४ ओटा प्रक्रियामा रहेको । 

२०.राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन प्रस्ताव अघि बढाएको । वित्तीय क्षेत्र विकास रणनीति र राष्ट्र बैंक तेस्रो रणनीतिक योजना कार्यान्वयनमा । 

२१. भूकम्पपछिको राष्ट्र बैंकको भौतिक संरचना पुनर्निमाण । 

२२.मुद्रास्फीतिलाई लक्षित सीमामा राख्न सफल भएको, विदेशी सञ्चिति सुविधाजनक रहेको, ब्याजदर स्थायित्व कायम गर्न सफल भएको, विगत ३ वर्षमा औसठ ७.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप